अधिकार र चेतनाको शिक्षाले जीवनको मागदर्शक बन्न सक्छ : क्याम्पस प्रमुख

  ०७९ मङ्सिर १९ गते

द्रोणाचल शिक्षा क्याम्पस दुल्लूका प्रमुख नरेन्द्रबहादुर बोहोराले विद्यालय शिक्षा हासिल गरिरहेका बालबालिकाहरुलाई उनीहरुको अधिकार र चेतनाको शिक्षाले उनीहरुको जीवनको मागदर्शक बन्न सक्ने बताउनुभएको छ ।

दैलेखको दुल्लूमा मङ्सिर १८ गते सुरु भएको बाल अधिकार चेतना समूहका बालबालिकाहरुको लागि २ दिने अभिमुखीकरणको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । बिकत गाउँबस्तीका बालबालिकाहरुका लागि बाल अधिकार चेतना कार्यक्रम परिमाणमुखी हुने बिश्वास व्यक्त गर्नुभयो ।

अभिमुखीकरणको उद्घाटन कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले बालबालिकाहरुलाई रचनात्मक सीप विकास गर्न अभिमुखीकरण राखिएको प्रष्ट्याउनुभयो ।

त्यसबखत इएलपी कार्यक्रमका फोकल पर्सन दुर्गा थापा, प्रेमदेबी माध्यमिक विद्यालय पादुका प्रधानाध्यापक मणिराज जैसी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब शिक्षक लोकेन्द्र भण्डारीले पनि अभिमुखीकरण कार्यक्रमको महत्व विषयमा प्रकाश पार्नुभएको थियो ।

इन्सेकको कर्णाली प्रदेश कार्यालयले सञ्चालन गरेको इएलपी कार्यक्रम अन्तरगत दुल्लू नगरपालिकाका दुई वटा विद्यालय प्रेमदेबी माध्यमिक विद्यालय पादुका र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्बमा गठित बाल अधिकार चेतना समूहका २६ जना बालबालिकाको तालिममा सहभागिता छ ।

बाल अधिकार, नेतृत्व सीप, लैंगिक हिंसा तथा समाजमा हुने विभेद बिरुद्ध खवरदारी, वातावरण शिक्षा लगायत भित्तेपत्रिका प्रकाशन समेतका विषयमा अभिमुखीकरण गर्ने विषय सूची छ ।

अभिमुखीकरणमा इन्सेक कर्णाली प्रदेश संयोजक सुबेदी, इएलपी कार्यक्रमका फोकल पर्सन थापा, इन्सेकको ‘अधिकार–२ परियोजना’का कार्यक्रम अधिकृत किरण पौडेल र इन्सेक दैलेख प्रतिनिधि अमर सुनारले सहजीकरण गरिरहनुभएको छ ।

Photo20221205Dailekh (2)

Photo20221205Dailekh (3)

Photo20221205Dailekh (1)

अमर सुनार