२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई
यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गरिने भएको छ । इन्सेक कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई २९ औँ “प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको हो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । उक्त हवाइ दुर्घटनामा अथक मानव अधिकार योद्धा काफ्लेसँगै प्राज्ञिक व्यक्तित्व मार्टिन हफ्टन, नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा तत्कालीन राजधानी साप्ताहिक प्रकाशक आङ्दोर्जे शेर्पा र चालक दलका सदस्यसहित १ सय १४ जनाको मृत्यु भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार” प्रदान गर्दै आएको छ । नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गरिंदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसक्नु भएको छ ।
सम्माननीय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा २०८० साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा श्री खातुनलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ । पुरस्कृत व्यक्तित्व खातुनलाई हार्दिक बधाई ज्ञापन गर्दै शोषण तथा विभेदमुक्त समाज निर्माण अभियानको सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
डा. कुन्दन अर्याल
अध्यक्ष
सम्बन्धित समाचारहरू
आमजनतामा असुरक्षा भाव, अन्योल र मानव अधिकार अवस्थाप्रति बढिरहेको चिन्ताका सन्दर्भमा हाम्रो चासो
१. स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने…
शान्ति सम्झौताका १८ वर्षः न्याय तथा परिपूरण कहिले ?
दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुन लाग्दा पनि हजारौँ द्वन्द्वपीडित न्याय र परिपूरणबाट…
मानव अधिकार आयोग तदर्थ मानसिकताबाट माथि उठोस्
राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल (GANHRI) ले राष्ट्रिय मानव अधिकार आयोग, नेपालको श्रेणी घटुवा गर्न सक्छ भन्ने आशंका हालका लागि समाप्त भएकोमा हामी खुसी र सन्तोष व्यक्त गर्दछौं ।…
भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय…
भावपूर्ण श्रद्धाञ्जली
२०८० भदौ १२ गते भावपूर्ण श्रद्धाञ्जली पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते…