“२७ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता फिरुलाल चौधरीलाई

  २०७८ साउन १५ गते

इन्सेक कार्यसमितिको २०७८ साउन ४ गतेको बैठकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको छ । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले श्री चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो ।Firulal Chaudhary
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पुर्‍याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २६ जना सम्मानित भइसक्नु भएको छ ।
धनगढीमा २०७८ साउन १६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोहमा श्री चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको छ ।

Signature of Dr. Indira Shrestha copy

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष