जनगणनाका लागि इन्सेकको अपिल

  ०७८ कात्तिक २६ गते

हरेक १० वर्षको अन्तरालमा नेपालमा जनगणना गरिँदै आइएको छ । बिसं १९६८ बाट थालनी गरिएको जनगणनाको यो ११ औँ संस्करण हो । कोभिड-१९ को महामारीका कारण अझैपनि हाम्रो दिनचर्या सहज भइसकेको छैन । यस्तो विषम परिस्थितिमा सरकारले 'मेरो गणना मेरो सहभागिता' भन्ने नाराका साथ महाअभियानका रूपमा गर्न लागेको जनगणना सफल पार्न हामी सबै नेपालीको महत्वपूर्ण जिम्मेवारी रहन्छ । जनगणनामा सङ्कलन गरिएका तथ्य तथ्याङ्कको दुरगामी महत्व हुने भएकाले सही विवरण टिपाउन आम नागरिकमा र नागरिकले टिपाएको विवरण जस्ताको तस्तै सङ्कलन गर्न गणनामा खटिने कर्मचारीहरूमा हार्दिक अपिल गर्दछौँ ।

कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा आउने गणकहरूलाई आफ्नो परिवारमा रहेका व्यक्तिहरूको र सोधिएका प्रश्नको विस्तृत विवरण दिनका लागि अनुरोध गर्दछौँ । गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुन सक्छन् । तसर्थ सबैको अवस्था र सङ्ख्याको सही विवरण टिपाउनुहुन इन्सेक हार्दिक अनुरोध गर्दछ । लक्षित समूह र समुदायका नाममा अग्राधिकारसहितका कार्यक्रम तय गर्न पनि जनगणनाको महत्व रहन्छ । जनगणना सफल पार्न सचेत नागरिक, सामाजिक सङ्घसंस्था सबैले आफ्नो तर्फबाट भूमिका खेल्न आग्रह गर्दै इन्सेकले आफ्ना सम्पूर्ण माध्यममार्फत जनचेतना अभिवृद्धिको कार्य गर्ने जानकारी गराउछौँ ।

तथ्याङ्कहरूको एकीकृत सङ्गालोमा सङ्ग्रह गरिएको तथ्य तथ्याङ्क अपुरो भएमा त्यसको असर सबैजसो क्षेत्रमा पर्ने हुँदा सही सूचना उपलब्ध गराउन तथा प्राप्त सूचनालाइ सोहि बमोजिम सङ्ग्रह हर्न हामी सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछौँ ।

Dr. Indira Shrestha

डा. इन्दिरा श्रेष्ठ

अध्यक्ष