अपिल
कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको दोस्रो लहरका कारण नेपालमा कोरोनाले महामारीको रूप लिएको छ । गत दुई दिनमा ३ सय ९३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ । त्यसमध्ये ३ लाख १६ हजार ४ सय ६३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर सक्रिय संक्रमित १ लाख १ हजार ६ सय ३४ जना रहेका छन् । सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएका समाचार र इन्सेकले गरेको अनुगमनमा देशैभरका स्वास्थ्य संस्थामा अक्सिजन अभाव तथा स्वास्थ्य संस्थामा शैया नपाएर बिरामीको मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचनालाई विश्लेषण गर्ने हो भने सङ्क्रमणको जोखिम दिनप्रतिदिन बढेर गएको छ र यसमा कमी आउने देखिएको छैन । देशका ७३ जिल्लाका प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका छन् ।
देशका सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसीयु) र हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) समेत बिरामीले भरिएका छन् । काठमाडौं उपत्यकाका लगायत देशभरका निजी अस्पतालले अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत दुई दिनमा आइसीयु बेडको प्रतीक्षा गर्दा गर्दै ६ जनाको मृत्यु भयो भने यही दुई दिनमा रुपन्देहीमा १४ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके तथा बर्दिया जिल्लामा रहेका अस्पतालमा अक्सिजनको अभाव हुनुका साथै उपचार नपाएर बिरामीको मृत्यु भएका समाचार लगातार आइरहेका छन् । जनशक्ति अभावमा कर्णालीमा आइसीयु र भेण्टिलेटर सेवा प्रभावकारी हुनसकेको छैन । अक्सिजन अभाव भएपछि सुदूरपश्चिमका अस्पतालहरूले थप कोरोनाभाइरस संक्रमितको उपचार गर्न नसकिने बताएका छन्। यस्तै अवस्था देशका अन्य प्रदेशहरूमा समेत रहेको छ ।
कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र व्यवस्थापनका लागि थप आइसोलेशनको व्यवस्था गर्ने निर्णय गरेको थियो र सो अनुसार केही अस्पताललाई बजेटसमेत विनियोजन गरिएको थियो । तर सो अनुरूप काम नभएको हाल आएर थाहा भएको छ ।
नेपालमा २०७७ साल पुस महिनादेखि सङ्क्रमण दर गतवर्षको अन्त्यसम्म क्रमशः ओरालो लागेको थियो । सरोकारवाला निकायहरुले यसलाई नजरअन्दाज गरे । सङ्क्रमितको सङ्ख्या मात्रामा बढ्दै गएको र मृत्युको दरसमेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी तथा अक्सिजनको आपूर्तिको सहज व्यवस्था मिलाउन ढिलाइ गर्नु हुँदैन । यससन्दर्भमा निम्नानुसारको अपिल गर्न चाहान्छौँ ।
- नेपालमा रहेका अक्सिजन प्लान्ट बिनाअवरोध सञ्चालन गरी अस्पतालहरूमा सहज आपूर्तिको व्यवस्था मिलाउनु पर्छ । चिकित्सकहरुका अनुसार धेरै जसो संक्रमितहरूलाई अक्सिजन उपलब्ध गराउन सकियो भने जीवन जोगाउन सकिन्छ ।
- सरकारले घोषणा गरेको १ हजार शैयाको कोभिड अस्पताल निर्माण कार्यमा तदारुकता देखाउनु पर्छ ।
- उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड संख्या थप गर्न आवश्यक छ ।
- स्थानीय तहले कोरोना परीक्षण तथा आइसोलेसन निर्माणका लागि सकृयता बढाउनु पर्छ ।
- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा तथा सुविधामा ध्यान दिनु जरुरी छ ।
- महामारीको अवस्थालाई ध्यानमा राखी बन्दाबन्दीको कडाइका साथ लागु गर्नु पर्छ ।
- महामारीमको यस अवस्थामा सहयोग गर्न सरकारले अन्तरराष्ट्रिय दाताहरूलाई आह्वान गर्नु पर्छ ।
- धेरै जसो संक्रमितहरू होम आइसोलेशनमा छन् । उनीहरुसँग नियमित परामर्श गर्ने सयन्त्रको विकास गरिनु पर्छ ।
- भयावहरुपमा फैलिएको महामारीका बीचमा पनि कालोबजारी र भ्रष्टाचार भएको भनि संचारमाध्यममा प्रकाशित समचारप्रति हाम्रो ध्यान गम्भिर रुपमा आकृष्ट भएको छ । यस सम्बन्धि छानविन र दोषीउपर कडा कारबाही गरिनु पर्दछ ।
- आफ्ना कार्यकर्ताहरूको परिचालन गरी महामारी नियन्त्रणमा सघाउन राजनीतिक दलहरूले सकृयता देखाउनु पर्छ ।
- महामारीको रोकथामको एउटै विकल्प भनेको खोप नै हो । खोपको उपलब्धताका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।
- नागरिकले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु पर्छ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय…
भावपूर्ण श्रद्धाञ्जली
२०८० भदौ १२ गते भावपूर्ण श्रद्धाञ्जली पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज भदौ १२ गते…
प्रेस विज्ञप्ति
मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आज साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय,…
२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई
यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गरिने भएको छ । इन्सेक…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १८ वर्ष पूरा भएको छ । विस्तृत शान्ति सम्झौता र…