शिक्षा र स्वास्थ्यमार्फत मानव अधिकारमा जोड दिएका छौँ

कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका धार्मिक एवम् सांस्कृतिक विविधता रहेको पर्यटकिय हिसावले प्रचुर सम्भावना बोकेको जिल्ला हो । यस नगरपालिका पर्यटन प्रवर्धनका हिसावले विभिन्न धार्मिक पर्यटक स्थलहरूसँग जोडिएको छ । बाणगङ्गा नगरपालिकाको क्षेत्रफल २३३.६८ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका ११ ओटा वडामा विभाजित छ । जसमा ९७ हजार १ सय १४ जनसङ्ख्या रहेको छ । बाणगङ्गा नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीसँग इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले गर्नु भएको कुराकानीको सम्पादित अंशः
नगरपालिकाको समग्र मानव अधिकार अवस्था कस्तो छ ?
बाणगङ्गा नगरपालिकाको मानव अधिकारको अवस्था सन्तोषजनक रहेको छ । स्वास्थ्य क्षेत्रमा नगरवासीहरूको स्वास्थ्यमा पहुँच हुने खालका कार्यहरू गरिएको छ । गर्भवती र सुत्केरी महिलाहरूका लागि नगरले निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएर सेवा दिएको छ । नगर अन्तर्गत रहेको पिपरा अस्पतालमा ओपिडी सेवा, शल्यक्रियाद्वारा प्रसूतिको सेवा सञ्चालन गरिएको छ । कुपोषण न्यूनिकरणका लागि गर्भवती महिलाहरूसँग पोषण कार्यक्रम सञ्चालन, युवायुवतीहरूका लागि विभिन्न सिपमुलक, उद्यमशिलता, क्षमता बृद्धि, शसक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सीमित श्रोत साधन र असीमित आवश्यकताकाबिच तालमेल मिलाएर दिर्घकालिन रणनीति अनुसार कृषि क्षेत्रमा आधुनिकीकरण, पूर्वाधारको विकास, सामाजिक सेवा, फोहोर व्यवस्थापन तथा सरसफाईमा विशेष जोड, मानवीय शंसाधनको गुणस्तरतामा वृद्धि गरी मानव अधिकारको अनुभूति आम नगरिकलाई दिलाउने प्रयासमा छौँ ।
महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा, लागूपदार्थ दुव्र्यसनी,घरेलु हिंसा लगायतका घटनाहरूलाई न्यूनिकरण गर्नकालागि विभिन्न सचेतना मूलक अभियान सञ्चालन भएका छन् । बैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०८० नगरपालिकाले तयार गरेको छ । वैदेशिक रोजगारमा अलपत्र परेको अवस्थामा उनीहरूलाई उद्धार गरिनुका साथै बैदेशिक रोजगार सम्बन्धी कार्यक्रम तथा परामर्श, सुरक्षित बैदेशिक रोजगारको लागि नगरका विभिन्न स्थानहरूमा होडिङ बोर्ड लगाउने तयारी भइरहेको छ । कृषिमा एक वडा एक बाली प्रवर्धन कार्यक्रम, माटो नमूना परीक्षण तथा माटो सुधार, ५० प्रतिशत, ७५ प्रतिशत र २५ प्रतिशत कृषिमा अनुदान, बिउबिजन, व्यवसायिक तरकारी, मौरी गोला तथा घार वितरण, व्यवसायिक कृषि तथा मेशेनरी अनुदान दिने योजना राखिएको छ । नगरपालिकालाई स्वच्छ, हराभरा वातावरणमैत्री, मानव अधिकारमैत्री बनाउने, हाम्रो र राम्रो नगरपालिका बनाउन मानव अधिकारकर्मी र विभिन्न सरोकारवालाको अहम् भूमिका जरूरी छ ।
नगरपालिकाले मानव अधिकार संरक्षण, सम्बर्द्धन र प्रवर्धनका लागि के कस्ता कानुन, नीति र योजना बनाएको छ ?
शैक्षिक क्षेत्रको गुणस्तर उकास्नका लागि बाणगङ्गा नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरूका लागि शिक्षा नियमावली तयार गरी बजेट विनियोजन गरेको छ । स्थानीय पाठ्यक्रमको व्यवस्था, प्रत्येक सामुदायिक विद्यालयमा सिसिटिभि क्यामेरा, निःशुल्क सेनेटरी प्याड, आईसिटी ल्याव सञ्चालन गरी गुणस्तरिय शिक्षाको प्रावधान ल्याइएको छ । साथै न्यायीक समितीको कारवाहीको किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिहरू, स्थानीय विपद व्यवस्थापन कार्यविधि कोष, कल्याणकारी स्वास्थ्य कोष व्यवस्थापन कार्यविधि, फुसको छानो व्यवस्थापन कार्यविधि निर्माण गरिएको छ । आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा नागरपालिकाले थप योजना तथा नीति कार्यक्रमहरू सञ्चालनका लागि गौरवको योजना बसपार्क निर्माणको तयारी, रिंगरोडको योजना तयार, फोहोर व्यवस्थापनका लागि वैकल्पिक विविधिकरणका योजनाहरू अगाडि बढाइएको छ ।
मानव अधिकारसम्बन्धी बनेका कानुनको कत्तिको कार्यान्वयन भएको छ ?
मानव अधिकारसम्बन्धी बनेका कानुनहरूको कार्यान्वयन भएका छन् । जनप्रतिनिधि भएर आएसँगै आर्थिक वर्ष ०७९/०८० देखि लागु हुने गरी नगरपालिका भित्रका क्यान्सर, मुटु, मृगौला पीडितलाई निःशुल्क उपचारका लागि सिफारिस दिइएको छ । नगरपालिकामा सञ्चालित सामुदायिक अस्पताल एक, आधारभूत स्वास्थ्य सेवा केन्द्र पाँच, स्वास्थ्य चौकी ६ ओटा छन् । उक्त केन्द्रहरूमा नेपाल सरकारले तोके बमोजिमको निःशुल्क औषधिहरू सहज रुपमा उपलब्ध छन् । साथै गर्भवती महिलाहरूलाई क्याल्सियम चक्की निःशुल्क उपलब्ध गराउनुका लागि यस आर्थिक वर्षमा नगरले योजनामा राखेको छ । नगरका ११ ओटा वडाहरूमा गाउँघर क्लिनिक ३३ ओटा र खोप केन्द्र ३६ ओटा सञ्चालनमा छन् ।
नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कसरी काम गरेको छ ?
शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न विद्यालय अनुगमन, शिक्षकहरूका लागि प्रशिक्षण, पाठ्यपुस्तकको व्यवस्था, विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्नकालागि अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएको छ । यसैगरी, बिमाको महत्व र स्वाथ्य क्षेत्रमा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन प्रत्येक वडामा सहजकर्ता परिचालन गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइएको छ । अति विपन्न वर्गहरूलाई निःशुल्क उपचारको लागि नगरपालिकाले सहयोग गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूका लागि घरघरमा पुगेर स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँचको सेवा दिइएको छ ।
नगरपालिकाले बनाएका नीति तथा कार्यविधि कार्यान्वयनको अवस्था कस्तो छ ।
नगरपालिकाले बनाएका नीति तथा कार्यविधिहरू क्रमिकरुपमा कार्यान्वयको अवस्थामा रहेका छन् । नगर शिक्षा कार्यविधि नीति, गरिब तथा विपन्न पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि माध्यमिक तह सम्मका लागि निःशुल्क नगर शिक्षा कार्यविधि कार्यान्वयन भएको छ । नगरका ११ ओटै वडाहरूमा स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन सहजकर्ताहरू व्यवस्थापन गरिएको छ । यस नगरपालिका भित्र कुनै पनि नागरिकले आर्थिक अभावका कारण विद्यालय तहको शिक्षा आर्जनबाट वञ्चित नहुने गरी व्यवस्थापन गर्न विद्यालयहरूलाई बजेट विनियोजन गरिएको छ । सरसफाई ऐन तथा नियमावली, विपन्न नागरिक राहत वितरण मापदण्ड, लागू पदार्थ दुर्व्यसनी ओसारपसार नियन्त्रण कार्यविधि र न्यायिक ऐन कानुन निर्माण गरेको छ । आगमी दिनमा पनि नागरिकको अधिकारको संरक्षण र सम्बर्द्धनका लागि आवश्यक पर्ने कानुन, नीति तथा कार्यविधिहरू निर्माण गर्ने योजना रहेको छ ।
नगरपालिकाले बनाएको लैङ्गिक नीतिको अवस्था र सोको कार्यान्वयको अवस्था कस्तो छ ?
नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोण कार्यविधि बनाइ अगाडि बढेको छ । नगरपालिका भित्र हुने विभिन्न हिंसाहरूलाई न्यूनिकरण गर्न र लैङ्गिक हिंसा रहित नगरपालिका बनाउने नगरको लक्ष्य अनुरुप नगरपालिकाले नीति बनाइ अगाडि बढेको छ । लैङ्गिक नीति कार्यान्वयनकालागि नगरपालिकाले अथक प्रयास गरेको छ ।

लैङ्गिक हिंसा विभेदको अन्त्यका लागि कस्ता नीति कार्यक्रम सञ्चालनमा छन् ?
नगरपालिकाको न्यायनिरुण कार्य विधि, न्यायिक समिति, प्रत्येक वडाहरूमा मेलमिलाप केन्द्र निर्माण गरी मेलमिलाप कर्ताको व्यवस्थापन गरेको छ । १६ दिने अभियान, सडक नाटक, र्‍याली, खेलकुद, अन्तरक्रिया, दीप प्रज्वलन लगायतका कार्यक्रमहरू गरिन्छ । विभिन्न हिंसा न्यूनिकरण गर्न विद्यालय स्तरीय विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन, किशोरीहरूकालागि आत्मरक्षा कार्यक्रमहरू सञ्चालन गरिएको छ । महिला बालबालिका माथि हुने यौन हिंसा, घरेलु हिंसाको घटनाहरू बढी देखिनु भनेको जनता सचेत हुनु हो । मानव अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्ने मानव अधिकारकर्मीहरू लगायतका विभिन्न संस्थाहरूले गर्दै आएका सचेतना मूलक कार्यक्रम तथा अभियानहरूबाट सचेत भएका छन् । भने घटना न्यूनिकरणका लागि नगरपालिकाले पनि विभिन्न जनचेतना मूलक र सिपमुलक कार्यक्रहरू सञ्चालन गरेका छौँ । आगामी दिनमा यस अभियानलाई थप प्रभावकारी बनाउन कार्ययोजना बनाएर अगाडि बढ्ने योजना रहेको छ ।
अहिले पनि समाजमा व्याप्त कुरीतिजन्य प्रथा परम्पराहरूको अन्त्य हुन नसकेको अवस्था छ । यसका लागि नगरपालिकाले विभिन्न गैरसरकारी संस्थाहरूसँग समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा तथा नगरपालिकाबाट क्षमता विकास तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने, सीपमूलक कार्यक्रममा सबै जातजातिहरूलाई अनिवार्य रुपमा समेट्ने गरी कुप्रथा तथा परम्परागत कुरीतिहरूलाई न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।