सिमान्तकृत समुदायका समस्या समाधान गर्न नगरपालिका कटिबद्ध छ

जलेश्वर नगरपालिका सात ग्रामीण बस्तीलाई गाभेर २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो। ४४ दशमलव २६ वर्ग किमीमा रहेको नगरपालिकामा १२ ओटा वडा छन्। प्रस्तुत छ यसै नगरपालिकाका प्रमुख सुरेश शाह सोनारसँग इन्सेक महोत्तरी प्रतिनिधि ममता बिकले गर्नु भएको कुराकानीको सम्पादित अंशः

नगरपालिकामा मानव अधिकारको अवस्था कस्तो रहेको छ ?

समुदायको बिचमा मानवीय सहिष्णुता कायम रहोस भन्ने उद्देश्यका साथ समुदाय स्तरमा चेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याइरहेका हुन्छौँ । जसमा मानव अधिकारको जुन प्रोटोकल रहेको छ त्यसै अनुरुप सहजीकरण गरिने गरिन्छ । नगरपालिका भित्र चौबिसै घण्टा नगर प्रहरी तैनाथ रहेको अवस्था छ ताकी जनताले आफ्नो घर र सार्वजनिक स्थानमा कुनै किसिमले आपराधिक तथा अमानवीय व्यवहारको सामना गर्न नपरोस् ।

यस पटक वार्षिक नीति तथा बजेटमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीका लागि जलेश्वर नगरपालिकाले के कस्ता योजना तय गरेको छ ?

यस पटक पनि वार्षिक नीति तथा बजेटमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीका लागि जलेश्वर नगरपालिकाले केन्द्र सरकारकै योजना तथा निर्देशन अनुरुप काम गरिरहेको अवस्था छ । ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीका लागि सहज रुपमा सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । त्यसको लागि जलेश्वर नगरपालिकाले समय समयमा योजना बनाई विभिन्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गर्दै आएको छ ।

महिला हिंसा न्यूनिकरणका लागि नगरपालिकाले के–कस्ता पहल गरेको छ ?

नगरपालिकाकी उपप्रमुख रौशन खातुनको संयोजकत्वमा न्यायिक समिति क्रियाशील छ । जसलाई नगरपालिकाको अदालतको रुपमा पनि लिन सकिन्छ । हिंसा प्रभावित महिला दिदी बहिनीहरू निवेदन लिएर आइरहनु भएको छ । महिला हिंसासँगै समाजमा भएका विवादित कामहरूमा समेत न्यायिक समितिले सहजिकरणको भूमिका खेलिरहेको छ । समाजमा विद्यमान घरेलु हिंसा, जग्गा विवाद, आपसी लेनदेनका कारण सम्भावित हिंसा हुन नदिनका लागि सक्रिय ढङ्गले समस्या समाधानमा सहयोगी बनिरहेको छ । विवादहरू छलफलको माध्यमबाट मिलापत्रमै टुङ्गिने वातावरण नरहेको अवस्थामा अन्य कार्यालयसँग समेत समन्वय गरिरहेका छौँ ।

सिमान्तकृत समुदाय, अल्पसङख्यक तथा हरुवारुवा समुदायका लागी नगरपालिकाले के कार्यक्रम गरेको छ ?

नगरपालिकाको तर्फबाट सिमान्तकृत समुदाय, अल्पसङख्यक तथा हरुवाचरुवा समुदायका लागि तत्काल कुनै योजना तथा कार्यक्रम छैन । तर, आवश्यकता अनुसार नगरपालिका सहयोगी बनेको छ । प्रत्येक वडाका जनप्रतिनिधिहरूले आआफ्नो स्तरबाट  सिमान्तकृत समुदाय, अल्पसङ्ख्यक तथा हरुवाचरुवा समुदायको समस्याहरू सामाधान गर्न कटिबद्ध रहेका छन् । यदि त्यस्ता प्रस्तावना आएको खण्डमा जलेश्वर नगरपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्दछ ।

जिल्लामा इन्सेकका कामको प्रभाव कस्तो पाउनु भएको छ ?

वास्तवमा अहिले पनि समुदायमा मानव अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने प्रत्येक मानिसको अधिकार हो भन्ने मर्म सबैले बुझ्न नसकेको अवस्था छ । दिनानुदिन हत्या, हिंसा, बलात्कार र अमानवीय व्यवहारका घटनाहरू बाहिरिने गरिरहेका हुन्छन् । हरेक घटना मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेका छन् । त्यसको सामाधान तथा न्यूनीकरणका लागी स्थानीय प्रशासन, जनप्रतिनिधि, अधिकारकर्मीहरू सक्रिय छन् । इन्सेक मानव अधिकारको क्षेत्रमा निगरानी र पहल गर्ने एक विश्वसनीय संस्था हो । महोत्तरी जिल्ला साथै जलेश्वर नगरपालिकामा हुने हत्या, हिंसा, बलात्कार र अमानवीय व्यवहारसँग जोडिएका घटनाहरूमा इन्सेकको सक्रिय उपस्थिति देखिएको छ । साथै विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी काम गरिरहेको अवस्था छ ।