सामाजिक कुरीति न्यूनीकरण गरी मानव अधिकारमैत्री नगरपालिका बनाउने अभियानमा छौँ

आठ ओटा स्थानीय तहमध्ये जुम्ला जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यस जिल्लामा एक मात्रै चन्दननाथ नगरपालिका रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस चन्दननाथ नगरपालिकाको जनसङ्ख्या महिला १० हजार ६ सय ३७ र पुरुष १० हजार ६ सय ३७ गरी जम्मा २१ हजार ३६ रहेको छ । यो नगरपालिकाको महिला साक्षरता दर ६७ दशमलव ८ र पुरुष साक्षरता दर ८७ दशमलव ७ प्रतिशत छ । कुल साक्षरता दर ७७ दशमलव ६ प्रतिशत रहेको छ । नगरपालिकाकी उपमेयर रामदेवी खड्कासँग इन्सेक प्रतिनिधि मानदत्त रावलले गर्नु भएको कुराकानीको अंशः

नगरपालिकामा मानव अधिकारको अवस्था कस्तो छ ?

कर्णाली प्रदेशको जुम्ला सशस्त्र द्वन्द्वबाट क्षतिग्रस्त जिल्ला हो । जुम्लाको सदरमुकाम रहेको खलंगा बजार यही चन्दननाथ नगरपालिकामा पर्दछ । तत्कालिन सशस्त्र द्वन्द्वकालमा प्रशासनिक क्षेत्र रहेको नगरपालिकामा दुई पटक आक्रमण हुदा धेरै धनजनको क्षति भयो । त्यतिबेला क्षति भएको जिल्ला प्रहरी कार्यालयका भौतिक संरचना अझै पुननिर्माण हुन सकेको छैन । यस नगरपालिकामा विगत भन्दा मानव अधिकार उल्लङ्घनका घटना न्यूनिकरण हुदै आएका छन् । हामी जनप्रतिनिधि, इन्सेकलगायत विभिन्न सङ्घसंस्थाहरूले महिला, बालबालिका, दलित अधिकारका लागि सचेतनामुलक कार्यक्रमले घटनामा क्रमिक रूपमा कमी आएको हाम्रो बुझाइ रहेको छ । सबैले गरेका प्रयासकै कारण आज नागरिकहरू मानव अधिकारप्रति सचेत भएका छन् । समुदायका नागरिकमा हिंसा, अपमान, अत्याचारको अन्त्य हुन थालेको छ । विभिन्न घटनाबाट पीडित भएकाहरू न्यायको पहुँचमा पुग्न थालेका छन् ।

मानव अधिकार संरक्षण, संवर्द्धन र प्रवर्धनका लागि नगरपालिकाले के–कस्ता योजना कार्यान्वयन गरेको छ ?

नेपालको संविधानले प्रदान गरेका मौलिक हक र मानिस भएर पाउने मानव अधिकार पाउनबाट कोही व्यक्ति पनि वञ्चित नहुन भनेर हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,  जनजाति, दलित, विपन्न, एकल महिला लगायत विपन्न वर्गको उत्थानमा काम गरेका छौँ । मानव अधिकारबाट पीडित भएकालाई न्यायको पहुँचसम्म पुर्‍याउनेदेखि उनीहरूलाई सतेचना जगाउने काम भएको छ । शिक्षा स्वास्थ्यमा विशेष जोडसहित अन्य विकास निर्माणका काम गर्दै आएका छौँ ।

महिला हिंसा न्यूनिकरणका लागि नगरपालिकाले के–कस्ता पहल गरेको छ ?

महिला हिंसा न्यूनिकरणका लागि हामीले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने गरेका छौँ । महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएका छौँ । नगरपालिकाले विगतदेखि अल्पकालीन महिला सेवा केन्द्रसँग सहकार्य गरी हिंसामा परेका महिला बालबालिकालाई आपतकालीन आवासीय सेवा प्रवाह गर्दै आएका छौँ । हिंसामा परेका महिला बालबालिकालाई सेफ हाउसमा राखेर उनीहरूलाई कानुनी प्रक्रियामा लैजानका लागि न्यायीक निकायसँग समन्वय सहकार्य गर्ने गरेका छौँ । यस चालु आर्थिक वर्षमा पनि नगरपालिकाले पाँच लाख रुपियाँ बजेट विनियोजन गरी हिंसा पीडित महिला बालबालिकालाई कानुनी प्रक्रियामा जान सहज गरेका छौँ । महिला तथा बाल कल्याण अधिकारी राखेर काम गरिरहेका छौं । महिलामा माथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि अन्तरक्रिया, गोष्ठी र लैङ्गिक हिंसा विरुद्धका अभियानहरू गर्ने गरेका छौँ । त्यस्ता कार्यक्रम गरिरहँदा महिला हिंसा न्यूनिकरणमा धेरै नै टेवा पुगेको छ । अब नगरपालिकाले सञ्चालन गर्ने गरी सेफ हाउस निर्माण गरेर हिंसामा परेका महिला बालबालिकालाई कानुनी प्रक्रियामा जान सहज बनाउने योजना छ । सचेतनाका कार्यक्रमले हिंसामा परेका महिलाहरू न्यायका लागि आवाज उठाउने भएका छन् । महिलाहरूको क्षमता तथा आयआर्जनमा वृद्धि गर्नका लागि सिपमुलक तालिम सञ्चालन गर्दै आएका छौँ । हिंसा महिलालाई पनि विशेष प्रथामिकतामा राखेर सिपमुलक तालिम दिने गरेका छौँ । जसका कारणले उनीहरूको आयआर्जनमा टेवा पुगेको छ ।

सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर खस्किँदो अवस्थामा रहेको एक किसिमको आरोप छ । यसलाई सुधार गर्नको लागि नगरपालिकाले के–के प्रयास गरेको छ ?

चन्दननाथ नगरपालिका जुम्ला जिल्लाकै केन्द्र बिन्दुमा रहेको छ । यो नगरपालिका भित्रका सामुदायिक विद्यालयमा जिल्ला भरका अध्ययनरत छन् । अन्य पालिकाका विद्यालय भन्दा यहाँका विद्यालयमा विद्यार्थीका चाप धेरै छ । नगरपालिकामा १८ ओटा सामुदायिक विद्यालय र एक गुरुकुल विद्यालय रहेको छ । आठ ओटा संस्थागत निजी विद्यालय छन् । सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी झण्डै १० हजार जति छन् । शिक्षामा गुणस्तर ल्यााउनका लागि विद्यालय अनुगमन, घुम्ती प्रधानाध्यापक बैठक, आइटी स्रोत शिक्षा तालिम, उत्कृष्ट विद्यालय अवलोकन, सरोकारवाला निकायसँग अन्तरक्रिया छलफल गर्ने गरेका छौँ । अपाङ्गता भएका विद्यार्थीहरूका लागि नगरपालिकामा कर्णाली माध्यमिक विद्यालय अनाम नगर र जनता माध्यमिक विद्यालय महतगाउँमा आवासिय विद्यालय सञ्चालनमा रहेका छन् । यो नगरपालिकामा शतप्रतिशत बालबालिका विद्यालयको पहुँच छन् । ३ सय ७८ जना प्रौढ नागरिक अशिक्षित रहेको तथ्याङ्क रहेको छ । उनीहरूलाई साक्षर बनाउनका लागि शिक्षक, विद्यार्थी, सरोकारवाला व्यक्तिलाई गाउँघरमै परिचालन गरी यसै चालु आर्थिक वर्षमै साक्षर नगरपालिका घोषणा गर्ने योजना बनाएका छौँ । स्थानीय पाठ्यक्रम बनाएर पाठ्पुस्तक प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छौँ ।

नगर भित्रका नागरिक आवास अधिकारबाट वञ्चित छन् कि छैनन् ?

कुनै पनि नागरिक आवास विहिन अवस्थामा छैनन् । आवास अधिकारबाट कोही नागरिक वञ्चित नहुन् भन्नका लागि सरकारले जनता आवास कार्यक्रम ल्याएको छ । यसमा स्थानीय सरकारले प्रभावकारी कार्यान्वयन गरेको छ । यही चालु आर्थिक वर्षमा विपन्न घरपरिवारका एक हजार २ सय ६२ माटाका छानामुक्त आवासका लागि छाना निर्माण गर्ने कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौँ । नगर क्षेत्रमा बेवारिसे अवस्थामा रहेका नौ जना नागरिकलाई कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा राख्ने व्यवस्थापन गरेको छौँ । त्यसका लागि नगरपालिकाले मानव सेवा आश्रमलाई एक लाख रुपियाँ बजेट सहयोग गरेको छ । विपद्मा परेका नागरिकको राहत उद्दारमा पनि काम गर्दै आएका छौँ । गतवर्ष विपद् प्रभावित २ सय २२ जना नागरिकलाई राहत प्रदान गरेका थियौँ । यसवर्ष २६ जना राहत प्रदान गरेका छौँ । यहाँका नागरिकको समृद्धि र विकासका लागि प्रदेश र संघीय सरकारसँग निरन्तर छलफल सहकार्य गर्दै आएका छौँ । नागरिकको सहजताका लागि दमकल, एम्बुलेन्स र शव वहान पनि सञ्चालनमा ल्याएका छौँ । नगरपालिका भित्रैका सवै वडाका गाउँ बस्तीमा सडक पुगेको छ । जसका कारण नागरिकलाई आवतजावतमा सहज भएको छ । नगर उपप्रमुखको न्यायीक समितिको पनि जिम्मेवारी भएकोले नगरपालिकामा इजलास नै बनाएर न्याय निरुपण गर्ने गरेका छौँ ।

स्वास्थ्य, वातावरण र विभेदको सवालमा के कस्तो काम भएका छन् ?

स्वास्थ्यको हकमा नगरपालिकाले नगरपालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । यहाँका नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै नगरपालिका भित्रै रहेको छ । यसका अलवा आधारभुति स्वास्थ्य सेवाका लागि नगरपालिका–८ र ९ नम्बर वडाको सहजताका लागि प्रसुति गृहसहितको तालिम स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ । यस्तै अन्य दुई वडामा स्वास्थ्य चौकी र अरु वडामा सामुदायिक स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि उपचारको समयमै व्यवस्थापन गर्ने गरेका छौँ । आमा सुरक्षा कार्यक्रम, किशोरकिशोरी मैत्री कार्यक्रम, कुपोषित बालबालिकालाई पोषणयुक्त बनाउनका लागि नगरपालिका भित्रै चार वडामा पोषण सुधार गृह नै सञ्चालन गरेका छौँ । नगरपालिकालाई पूर्णखोप घोषणा गरिएको छ । स्वास्थ्य सेवाका हिसावले कर्णाली प्रदेशका ७९ ओटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ल्याउने गरी काम गर्दै आएका छौँ । वातावरणीय स्वच्छता तथा सरसफाइका लागि नगरपालिका फोहोर सङ्कलन गर्दै आएका छौँ । यसका विषयमा सचेतीकरण पनि गर्ने गरेका छौँ । वृक्षरोपण पनि गर्ने गरेका छौँ । समुदायमा अझैपनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभेद हुने गरेका छन् । त्यसको अन्त्यका लागि सचेतीकरणका कार्यक्रम गर्नुका साथै कानुनी प्रावधानका विषयमा सहजीकरण गर्दै आएका छौँ ।

इन्सेकले गरेको कामको प्रभाव कस्तो पाउनु भएको छ ?

इन्सेकका गतिविधिका कारण आम नागरिकलाई मानव अधिकारको अनुभूति भएको छ । हिंसामा परेका महिला बालबालिकालाई कानुनी प्रक्रियामा लैजानका लागि इन्सेकले सहजीकरण गरेको छ । यस्ता घटनाका विषयमा इन्सेकसँग हामी समन्वय सहकार्य गर्दै आएका छौँ । मानव अधिकार उल्लङ्घनका घटना इन्सेकले आफ्नो वर्ष पुस्तकमार्फत उजागर गर्ने गरेको छ । जसले जिल्लाको मानव अधिकारको अवस्था कस्तो छ ? र सुधारका लागि कस्तो योजना बनाउनुपर्छ ? भन्ने कुरामा हामी जस्तो जनप्रतिनिधि लगायत सरोकारवालाका लागि मार्गनिर्देशक बनेको छ । इन्सेकले मानव अधिकार रक्षाका लागि आवाज उठाउने, खबरदारी गर्ने र विभिन्न सरोकारवालाबिच मानव अधिकारको अवस्थाबारे छलफल गरिरहँदा जिल्लामा इन्सेकको काम प्रभावकारी छ ।

मानव अधिकार संरक्षण संवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनको चरण रहिरहँदा नगरपालिकाले के कस्ता योजना बनाएको छ ?

नगरपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माणलगायत सुशासनका क्षेत्रमा सुधार गर्ने कार्यक्रमहरू बनाएका छौँ । मानव अधिकार सुनिश्चित गर्नेका लागि हरेक नागरिकलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउने कार्यक्रम बनाउने गरेका छौँ । आत्मनिर्भर गर्नका लागि आय आर्जन मुलक कार्यक्रम बनाउने योजना बनाएका छौँ । यस किसिमका कार्यक्रमलाई प्रभावकारी सञ्चालन गरेमा आम नागरिकको मानव अधिकार सुनिश्चित हुने देखिन्छ । हामी चन्दननाथ नगरपालिकालाई बालविवाह, बहुविवाह, महिला हिंसा, छाउपडी प्रथा, जातीय विभेद जस्ता सामाजिक हानिकारक कुरीतिलाई निर्मुल गरी मानव अधिकारमैत्री बनाउने अभियानमा रहेका छौँ ।