लैङ्गिक हिंसा न्युनीकरण गर्न सबैको साझा पहल जरुरी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा जिल्लाको सदरमुकाममा रहेको कैलाली जिल्लाको १३ ओटा स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका प्रदेशकै एक मात्रै उपमहानगरपालिका हो । यस उपमहानगरपालिकामा १९ ओटा वडा रहेका छन् । ०७२ सालमा धनगढी नगरपालिकालाई स्तरोन्नती गरी उपमहानगरपालिका बनाइको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख ९८ हजार ७ सय ९२ मध्ये महिलाको सङ्ख्या १ लाख ६ सय ८ र पुरुषको सङ्ख्या ९८ हजार १ सय ८४ रहेको छ । यहाँ ८३.३ प्रतिशत कुल सारक्षरता दरमध्ये पुरुष साक्षरता दर ८९.९ प्रतिशत र महिला साक्षरता दर ७६.९ प्रतिशत रहेको छ । लैङ्गिक हिंसाको अवस्था तथा भइरहेका प्रयासका सन्दर्भमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानासँग इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीले गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धमा धनगढी उपमहानगरपालिकाले कसरी अभियान सञ्चालन गरिरहको छ ?
‘हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐकयवद्धता’ भन्ने मूल नाराका साथ नोभेम्बर २५ तारिख तथा मङ्सिर १० गते स्थानीय र प्रदेश सरकार तथा गैरसरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा प्रभातफेरी गरी ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष मनाउँदै आएका छौँ । हिंसा प्रभावितहरुको सहजताका लागि घुम्ति लैङ्गिक हिंसा निवारणका लागि सहायता कक्ष सञ्चालन गरी उक्त कक्षमार्फत न्याय र अधिकार प्राप्त गर्ने ठाउँको बारेमा जानकारी दिनुको साथै सूचनामार्फत जनचेतनामूलक विभिन्न कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाले अभियान सञ्चालन गर्दै आएको छ । लैङ्गिक हिंसा पीडितहरुलाई मनोसामाजिक शिक्षा दिने, घटनाको गम्भिरतालाई अध्ययन गरी न्यायका लागि सम्बन्धित निकायहरुमा सिफारित गरी पठाउने लगायतका कार्यहरु गर्दै आएका छौँ ।
दुरदराज तथा ग्रामीण भेगका महिलाहरुको हालको अवस्था कस्तो छ ?
धनगढी उपमहानगरपालिका सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका प्रदेशकै अस्थायी राजधानीमा अवस्थित भए पनि जिल्लाको उपमहानगरपालिकाका १९ ओटा वडा मध्ये वडा नम्बर १४, १५, १६, १७, १८ र १९ ग्रामीण क्षेत्रमा पर्ने भएकाले ती वडाका महिलाहरु शहरी क्षेत्रका महिलाहरु भन्दा आर्थिक सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा पछाडी नै परेका छन् । लैङ्गिक हिंसा र यौनजन्य हिंसा जस्ता जघन्य अपराधका घटना अहिले पनि गाउँघरमै मिलाउने गरेको पाइन्छ । अशिक्षा, गरिबी र पछौटेपनका कारण ग्रामीण क्षेत्रका महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् ।
लैङ्गिक हिंसामा कमी नआउनुका मुख्य कारण के के हुन् ?
अशिक्षा, गरिबी, अन्धविश्वास, जनचेतनाको कमी, महिलाले केही पनि गर्न सक्दैनन् भन्ने सोचबाट बाहिर निस्कन नसक्नु, इज्जत जाने डर तथा सामाजिक मूल्यमान्यता, धर्म/संस्कारमा आधारित मानसिकताका कारण पनि लैङ्गिक हिंसामा कमी आउन नसकेको देखिन्छ । महिलाहरुको न्यायिक निकायसम्मको पहुुँच नहुँदा उनीहरुले हिंसा सहेर बस्न बाध्यता छन् भने कतिपय घटनाहरुमा महिलाहरुको चित्त नबुझे पनि गाउँघरमै मिलापत्र गरेका कारण घटना बाहिर नआएको अवस्था छ । घटना बाहिर नआएका कारण हिंसा भएर पनि नभएको जस्तो देखिन्छ । तर, महिलाहरु हिंसा सहनुहुन्न भन्ने चेतनाको विस्तारसँगै अधिकारको खोजी गर्दै न्यायालयसम्म पुग्ने अवस्था सृजना भएकोले हिंसा बढेको जस्तो देखिन्छ । हिंसा पहिले पनि थियो र अहिले पनि छ ।
लैङ्गिक हिंसा न्यूनीकरणमा धनगढी उपमहनगरपालिकाको भुमिका के कस्तो रहन सक्छ ?
धनगढी उपमहानगरपालिकाले विभिन्न संघसंस्थाहरुको सहयोगमा लैङ्गिक हिंसा न्युनिकरणका लागि जेसीपोलिसी निर्माण गरेर सुुशासनका मापदण्डको आधारमा काम गरिरहेको छ । महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन उनीहरुको सिपको प्रद्र्धन र बजारीकारणका लागि शनिबारे महिला उद्यमी मेलाको आयोजना, उपमहानगरले दिने सबै सेवा महिलामैत्री, हरघडी नगरप्रहरी, टोलफ्री नम्बर तथा कसैले हिंसामा परेको बखत तुरुन्त उद्धार गरेर सुरक्षित आवास गृहमा राखी मनोसामाजिक परामर्श दिनका लागि सुरक्षित आवास गृह सञ्चालन गर्दै आइरहेको छ । उपमहानगर भित्रका १९ ओटै वडामा निःशुल्क एम्बुलेन्स सेवा दिएर सुत्केरी आमा बचाँउ अभियान सञ्चालन गरिरहेको छ ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि धनगढी उपमहनगरपालिकाले केकस्तो नीति बनाएको छ ?
धनगढी उपमहानगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि महिला उद्धमशिलतालाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरी बजेटको व्यवस्था गरेको छ । लैङ्गिक हिंसा निवारण कोष स्थापना गरी कानुन र कार्यविधि निर्माण गरेर कार्यान्वयन गरी पीडितलाई सेवा दिइरहेका छौँ । अन्य संघसंस्थाहरुले सहयोग गर्न चाहेको अवस्थामा लैङ्गिक हिंसा निवारण कोष मार्फत सहयोग गर्न सक्ने एकद्वार प्रणाली लागु गरेका छौँ । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न नेतृत्व विकास तालिम, सिपमूलक तथा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका प्रदर्शनी मेलाको आयोजना गर्दै महिलाहरुको कृषिमा आधारित उत्पादनको बजारीकरण र महिला उद्यमीहरुको सङ्ख्यामा वृद्धि गर्दै महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम रहेको छ ।
धनगढी उपमहानगरपालिकासँग आगामी योजना के छन् ?
लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनिसकेका कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, थप कानुन निर्माण गरी कार्यान्वयन गर्ने र लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्था तथा दातृ निकायसँग समन्वय, सहकार्य गर्दै सरकारका तीनै तह, गैरसरकारी तथा निजी क्षेत्र सबै मिलेर सबैको साझा पहलमा लैङ्गिक हिंसा न्युनीकरण गर्दै जाने योजना रहेको छ ।
सम्बन्धित अन्तरवार्ताहरू
नागरिकमैत्री नीति र पीडितमैत्री न्याय सम्पादन गर्न प्रतिबद्ध छौँ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचि छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…
न्यायनिरुपणमा पीडित नै उपस्थित नहुने समस्या छ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची रहेको छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६…
हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयनमा चुनौति छन्
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको तुलनात्मक रुपले अलि सुगम क्षेत्रको स्थानीय सरकार हो सिस्ने गाउँपालिका । शहरोन्मुख गाउँपालिका सिस्नेमा भौतिक पूर्वाधारसँगै मानवीय विकासका पनि थुप्रै काम भइरहेका…
कानुन र व्यवहार दुवैमा मिल्ने घटनामा मात्रै मिलापत्र
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई न्याय निरूपणका लागि न्यायिक समितिसँगै मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादनका लागि अधिकारहरू दिएको छ । संविधानले नै स्थानीय सरकारका कामबारे स्पष्ट…
लैङ्गिक हिंसा नियन्त्रित उपमहानगर बनाउँदैछौँ
स्थानीय सरकार सञ्चालन ऐन २०७२ ले स्थानीय तहमै न्यायिक निरुपणको व्यवस्था गरेपछि नागरिकका विवाद समाधानमा न्यायिक समिति क्रियाशील छ । विशेष गरी घरेलु हिंसा र कुलो, पानी, साँध सिमाना विवाद…