मानव अधिकार सवालमा गम्भीर छौँ

१ सय ९२ वर्ग किलोमिटर क्षेत्रफल रहेको फिदिम नगरपालिकाको जनसङख्या ४९ हजार भन्दा बढी छ । आठको स्थानीय रहेको पाँचथरमा एकमात्र नगरपालिका फिदिम नगरपालिका हो । ०७४ को स्थानीय तहको निर्वाचनपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास,  मानव अधिकारलगायतका विषयमा फिदिम नगरपालिकाले कार्य गर्दै आएको छ । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेसँग मानव अधिकारलगायतका सवालमा इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूले गर्नु भएको सम्पादित कुराकानीको अंशः

वार्षिक नीति तथा बजेटमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरीका लागि फिदिम नगरपालिकाले के कस्ता योजना तय गरेको छ ?

ज्येष्ठ नागरिकहरूको लागि सहयोग कार्यक्रम हामीले सञ्चालन गरेका छौँ । सम्मानका कार्यक्रम, सामाजिक सुरक्षा भत्ता सहज रूपमा उपलब्ध गराउने विषयमा हामी सम्वेदनशील छौँ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूको लागि आँखा शिविर, ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य उपचारको व्यवस्था मिलाएका छौँ । बालबालिकाको क्षेत्रमा विद्यालयमा पुगेर बालअधिकारका बारेमा जानकारी गराउने, गरिब, असहाय, अपाङगता भएका बालबालिहरूका लागि फिदिम नगरपालिकाले फिदिम माध्यमिक विद्यायलमा श्रवण शक्ति कम भएका विधार्थीहरूलाई पठनपाठनको व्यवस्था मिलाएको छ ।

सुखबोध माविमा सुस्त मनस्थितिका बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाइएको छ । फिदिम नगरपालिका–४ को गढी माविमा दृष्टिविहीन बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाइएको छ । कम आय भएका, अभिभावकविहीन र वेसाहरा बालबालिकालाई सोही अनुसार शिक्षाबाट वञ्चित नहुने व्यवस्था मिलाएका छौँ । जागृति आधारभूत विद्यालयमा ४० जना बालबालिकाहरूलाई आवासीय व्यवस्था गरी पठनपाठनको व्यवस्था मिलाएका छौँ । गर्भवती र सुत्केरी महिलाको लागि पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेका छौँ ।

स्वास्थ्य, शिक्षाको खानेपानीको अवस्था के छ ? सुधारका लागि के कस्ता कदम चाल्नु भएको छ ?

फिदिम नगरपालिकाले १६ ओटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गरिरहेको छ । त्यसमा निशुल्क औषधी वितरण गर्ने, जनशक्तिहरु उपलब्ध गराउने र नागरिकहरूलाई सेवा प्रदान गर्ने काम भइरहेको छ । पाँचथर अस्पताल १५ शैयाको भएपनि ५० शैया स्वीकृत भइसकेको छ, तर ५० शैयाको जनशक्ति उपलब्ध छैन । १५ शैयाको जनशक्तिमा अस्पताल सञ्चालन गर्दा कठिन भएको छ । फिदिम नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गरेर तत्काल जनक्तिको उपलब्ध गराएका छौँ । निःशुल्क पाइने औषधिको व्यवस्थापन र बाहिरबाट स्टील खरीद गरेर प्रयोग हुँदै आएकोमा अव अस्पतालभित्रकै विक्री कक्षमा पाउने व्यवस्था मिलाएका छौँ । शैक्षिक सुधार र उन्नयनका लागि विद्यालय सुधार गर्ने र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ ।

अब बजारमा हैन, गाउँमै शिक्षा पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने योजना बनाएका छौ । फिदिम नगरपालिका भित्रका सबै विद्यालयहरुलाई गुणस्तरयुक्त विद्यायलय बनाउनुपर्छ भन्ने मान्यताका साथ रातोबङ्गला स्कुल काठमाडौँसँग सहकार्य गरेर १४ ओटा वडाको प्रत्येक वडामा १/१ ओटा बालविकास केन्द्र बनाउने योजना अघि बढाएका छौँ । खानेपानीको समस्या हाम्रो स्थानीय तहमा छ । फिदिम  नगरपालिका–९ मा भएको फेमेसुवा एरियासँगै अन्यकेही क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव छ । पानीलाई पूर्णता दिनुपर्छ भन्ने मान्यताका साथ नगरपालिकाले ९८ हजार २ सय ४० मिटर पाइप वितरण गरेको छ । खानेपानीलाई व्यवस्थापन गर्न फिदिम नगरपालिका–१० मा बृहत् खानेपानी आयोजना सञ्चालनको काम ७० प्रतिशत पुरा भएको छ ।

स्थानीय तहमा महिला, बालबालिका, दलित र अपाङगता भएका व्यक्तिको मानव अधिकार अवस्था कस्तो छ ?

फिदिम नगरपालिकाभित्र महिला, बालबालिका, दलित र अपाङगताहरूका लागि छुट्टाछुट्टै कार्यक्रमको ढाँचा विकास गरेका छौँ । अपाङगता भएकाहरूलाई नगरले व्यवस्थापन र सहयोगको काम गरिरहेको छ । गर्भवती र सुत्केरीलाई निशुल्क उपचारको व्यवस्था मिलाएका छौँ । दलित समुदायको लागि छुवाछूतको कुराले अन्यन्त समस्या ल्याएको छ । तर नगरपालिका भित्रभने यो समस्या धेरै कम भइसकेको छ । दलितले पाउनु पर्ने अधिकारप्रति हामी पूर्ण प्रतिवद्ध छौँ ।

स्थानीय तहमा रहेका न्यायिक समितिले व्यक्तिको मानव अधिकार रक्षाका लागि कसरी भूमिका खेलिरहेको छ ?

न्यायिक समितिमा समस्या लिएर आएपछि दुवै पक्षलाई बोलाएर उहाँहरू विचको समस्यालाई वुझ्ने र ति समस्या समाधानको काम न्यायिक समितिले गर्दै आएको छ । न्यायिक समितिको अधिकार भन्दा बाहिरका समस्यालाई प्रहरी र अदालतमा पठाउने गरेका छौँ । न्यायिक समितिले फिदिम नगरपालिकाभित्र  प्रहरीसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । मानव अधिकारभित्रका विषयलाई सर्वसाधारणसम्म पु¥याउन हरेक महिना दुई पटक एफएम रेडियोमार्फत सूचना प्रसारण गर्दै आएका छौँ ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहका मेयर वा अध्यक्ष संयोजक रहने गरी स्थानीय तह समन्वय समिति गठन गरिएको छ ?  

समिति गठन भएको छ । समितिले अनुगमन गर्नुपर्ने काम, सहयोग गर्नुपर्ने काम, हरेक नागरिकको स्थिति बुझ्ने काम गर्दै आएको छ । राष्ट्रिय कार्यायोजनाले दिएको जिम्मेवारी बमोजिम प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पठाउने तयारी गरिएको छ ।