मानव अधिकारका विषयहरू समुदाय केन्द्रित हुनु पर्छ

सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने नौ ओटा गाविसहरू मिलाएर नगरपालिकाको स्थापना गरिएको छ । यो नगरपालिकाको दक्षिण तर्फको भु–भाग नेपाल भारतको सीमासँग जोडिएको छ । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवसँग गरिएको कुराकानीको सम्पादित अंशः
विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन के कस्ता योजनाहरू बनाउनु भएको छ ?
डाक्नेश्वरी नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउनको लागि विशेष किसिमको योजनाहरू ल्याएको छ । जस्तैः शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउन उनीहरूलाई निःशुल्क पाठ्यपुस्तक र कापीकलम प्रदान गर्ने गरिएको छ । ती बालबालिकाहरू विशेष गरी दलित समुदाय र विपन्न वर्गको भएको हुनाले दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै दलित समुदायको बस्तीमा बैठकको आयोजना गर्ने र ती समुदायका बालबालिका र तिनीहरूका अभिभावकहरूलाई बैठकमा सहभागी गराई उनीहरूलाई शिक्षाको महत्व बारे परामर्श दिनुका साथै शिक्षाको पहुँचबाट बाहिर हुनुको ठोस कारण पत्ता लगाउने र तीनको समाधान गर्ने कार्यहरू भइराखेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना गरिएको छ ।
ती योजनाहरूको कार्यान्वयनको अवस्था कस्तो छ ?
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ ले सुनिश्चत गरेका शिक्षाको अधिकारको कार्यान्वयनको लागि डाक्नेश्वरी नगरपालिकाले शिक्षाको पहुँचबाट बाहिर रहेका तथा बञ्चितिकरणमा परेका बालबालिकाहरूलाई शिक्षाको मूल धारमा ल्याउनका लागि निर्माण गरेका योजनाहरूको कार्यन्वयनको पक्षलाई प्रभावकारी रुपमा अगाडि बढाउन नगरपालिकाको शिक्षा शाखा प्रमुख, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको टोलीले विद्यालय अनुमन गर्ने गरेका छन् । आपाङ्गता भएका बालबालिकाको सन्दर्भमा नगरपालिकाले तत्काल कुनै योजना नबनाएको तर चाँडै नै उनीहरूको शिक्षाको अधिकारलाई परिपूर्ति गर्ने गरी योजना बनाउने छौँ ।
जातीय विभेद र लैङ्गिक विभेद न्यूनिकरणका लागि गाउँपालिकाले के योजना बनाएको छ ?
नेपाली सामाज पितृसत्तात्मक समाज भएतापनि डक्नेश्वरी नगरपालिकाले यस्तो किसिमको सामाजिक ढाँचालाई मान्यता दिएको छैन । हाम्रो नगरपालिकामा यो एक वर्षको अवधिमा जातीय विभेद र लैङ्गिक विभेदको कुनै पनि लिखित उजुरी आएको छैन । तर, मौखिक रूपमा आएका समस्याहरूलाई डाक्नेश्वरी नगरपालिकाले समुदाय स्तरमा बसेर समाधान निकाल्ने र सम्झाइबुझाइ गर्ने गरेको छ । साथै यस नगरपालिकाले लैङ्गिक विभेदलाई न्यूनीकरण गर्नका लागि महिलालाई आर्थिक रुपमा सबल बनाउँदै सीपमुलक तालिमहरू प्रदान गर्दै आएको छ । जातीय विभेदको सवालमा अधिकांश घटनाहरू बाहिर कमै आउने गरेको छ । नगरपालिका र यसको मातहतमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूले विभेद नगर्ने प्रतिबद्धता जनाएका छौँ । सबैभन्दा ठूलो कुरा त प्रतिबद्धता हो । हामी विभेदरहित समाज बनाउने अभियानमा छौँ ।
निर्वाचित भएको एक वर्षको अवधिमा नागरिकका हक अधिकारसँग सम्बन्धित के कस्ता कामहरू गर्नु भएको छ ?
बालबालिका, महिला, ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकारको परिपूर्तिका लागि डाक्नेश्वरी नगरपालिकासँग विशेष नीति नभएतापनि उनीहरूलाई प्राथमिकतामा राखी क्षमता अभिवृद्धि हुने खालका विभिन्न प्रकारका सीपमुलक तलिमको व्यवस्था गर्ने गरेको छ ।
इन्सेकले डाक्नेश्वरी नगरपालिकामा सञ्चालन गरेको मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठन गरिएका बाल अधिकार समूह र मानव अधिकार समूहको क्रियाशीलता कस्तो पाउनु भएको छ ?
यस नगरपालिकामा इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठन गरेको बाल अधिकार समूह र मानव अधिकार समूहको क्रियाशीलता धेरै नै राम्रो रहेको छ । समाजमा भएका विकृति र विसङ्गतिहरूलाई न्यूनीकरण गर्न उनीहरूले पर्याएको योगदान प्रशंसनीय छ । सडक नाटक तथा विभिन्न अभियानहरूद्वारा जनचेतना फैलाउने र समाजलाई स्वच्छ बनाउने चाहनाका साथ अगाडि बढेका बाल अधिकार समूह र मानव अधिकार समूहका पदाधिकारी तथा सदस्यहरूको अभियानलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी वडा तहसम्म यस्ता समूहहरू गठन र परिचालन गर्न मेरो पहल रहने छ ।
सम्बन्धित अन्तरवार्ताहरू
कानुन निर्माणमा भन्दा कार्यान्वयनमा चुनौती छ
कर्णाली प्रदेशमा ५४ ओटा गाउँपालिका र २५ ओटा नगरपालिका गरी ७९ ओटा स्थानीय तह छन् । कर्णाली प्रदेशकै राजधानी सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै मुख्यमन्त्रीको कार्यालयदेखि प्रदेशसभा र प्रदेशस्तरका अन्य कार्यालय…
आदिवासी, जनजातिको अधिकार सुनिश्चितताको प्रयास जारी छ
मुलुक शासकीय पुनसंरचनामा गएपछि हाल तीन तहका सरकार छन् । “सिंहदरबारको अधिकार गाउँगाउँमा कार्यान्वयन” गर्ने मुख्य दायित्व स्थानीय सरकारको छ । ०७४ असोज ६ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४…
मानव अधिकारमैत्री नगर बनाउन प्रतिबद्ध छौँ
कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसङ्ख्या ८७ हजार ६ सय ७९ रहेको छ । १२ ओटा वडामा विभाजन भएको यो…
जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेका छौँ
चितवनको एउटा मात्र गाउँपालिका हो इच्छाकामना । जिल्लाको पहाडी भूगोलमात्र समेटिएको यस गाउँपालिकामा अधिकांश जनजाति समुदायको बसोबास छ । पहाडी भूगोल त्यसैमाथि जनजाति र अल्पसङ्ख्यक समुदाय चेपाङको बसोबास रहेको यस…
अधिकारसँगै कर्तव्य पालना गर्न पनि जरूरी छ
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर छ । पुर्वमा दाङ, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका,…