नीति, योजना, बजेट र कार्यक्रम बनाएर विपद्को सामाना गर्दैछौँ

विगत केही दिनदेखि नियमित रूपमा मौसम सक्रिय भएको छ । विगतको तुलनामा यो वर्ष औषतभन्दा बढी वर्षा हुने र अघिल्लो वर्षको तुलनामा बढी जनधनको क्षति हुने अनुमान मौसमविद्हरूले गरेका छन् । वर्षाद्का कारण पहाडी भु–भागमा पहिरोको उच्च जोखिम र तराई क्षेत्रमा बाढी, पहिरो, डुवान, कटान र पटानका घटनाहरू बढी हुन्छन् । वर्षाद्का कारण हुने बाढी पहिरो व्यवस्थापन, उद्धार र राहतका लागि बुटवल उपमहानगरपालिकाले के कस्ता नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गरेको छ । विपद् व्यवस्थापनका लागि कसरी काम गरिरहेको छ । सो विषयमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसँग इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापनका लागि के कस्ता नीति, योजना, बजेट, कार्यक्रम सहितको प्रतिकार्य योजना निर्माण गरेको छ ?

बुटवल उपमहानगरपालिका सबै भन्दा बढी प्राकृतिक जोखिम पर्ने स्थानीय तहमध्येको एक हो । प्राकृतिक विपद् कस्तो खालको कति बेला आउँछ ठ्याक्कै जानकारी नहुने तर यसले जस्तोसुकै जोखिम पनि निम्त्याउन सक्ने भएकोले स्थानीय तहस्तरको विपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिमका क्षेत्रहरूको पहिचान गर्ने, हुनसक्ने क्षतिको आँकलन गर्ने र जोखिम क्षेत्रका नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, त्यससम्बन्धी सूचनाहरू प्रवाह गर्ने गरेका छौँ । जोखिम क्षेत्रमा स्काभेटर र डोजर तयारी अवस्थामा राखेका छौँ । बुटवल उपमहानगरपालिकाले मानवीय विकास र भौतिक विकासलाई सँगसँगै लैजाने गरी अगाडि बढेका छौँ । विशेष गरेर निर्वाचनको घोषणापत्रमा गरिएका वाचाहरूलाई आधार मानेर त्यही बटम लाइन अनुसार अगाडि बढेका छौँ । नीति, योजना, बजेट, कार्यक्रम बनाएर विपद्को सामाना गर्दैछौँ । भौतिक पूर्वाधार विकास र मानवीय विकासको पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरूमा लगानी बढाएका छौँ ।

बुटवल क्षेत्रमा सबैभन्दा बढी जोखिम हुने क्षेत्रहरू कुन कुन हुन् ? तयारी के कस्तो रहेको छ ?

बुटवलका सबैभन्दा बढी जोखिम भएको क्षेत्र ज्योतिनगर पहिरो, मिलन पथ र लक्ष्मीनगरको पहिरो सबैभन्दा बढी जोखिम क्षेत्र हो । त्यस्तै बुटवलको तिनाउ नदीको छेउछाउको क्षेत्र, रानीगञ्ज, सहनशील टोल, श्रृजनानगर लगायतका ११ स्थानमा कटान र डुवानको समस्या भएका क्षेत्रहरू हुन् । त्यस्तै दानव नदिले पनि दुMख दिएको छ । तिनाउको पश्चिमतर्फ र बुटवल बजार क्षेत्रमा पनि वर्षाद्को समयमा पानी पसेर डुवान हुने बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा ठाडो खोल्साहरू बढेर बजारमा पानी पस्ने, घरहरूमा पानी पस्ने जस्ता समस्याहरू रहेका छन् । स्थानीय सरकारले सकेसम्म जोखिमलाई कसरी कम गर्न सकिन्छ र विपद्को जोखिमबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा हामी सचेत छौँ । उहाँले ज्योतिनगरको पहिरोलाई व्यवस्थापन गर्नको लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको र अहिले पनि ३ करोड बजेट छुट्टाएका छौँ । जोखिम क्षेत्रका जनताहरूलाई जानकारी दिने उद्देश्यले तिनाउ खोलाका दुई स्थानमा साइरनको व्यवस्था गरेका छौँ । आगामी वर्षका लागि दुई ओटा साइरन राख्ने भनेर नीति तथा कार्यक्रममै समावेश गरेर अगाडि बढेका छौँ । नदीले कटान नगरोस् भन्ने उद्देश्यले जनताको तठबन्धन कार्यक्रम छ । तिनाउ दानव करिडोर निर्माण हुन नसक्दा पनि समस्या भएको छ । यदि तिनाउ दानव करिडोर समयमै निर्माण हुन सकेको भए सडक विभागले नियमित अनुगमन गर्थ्यो । यो संघीय सरकारको बजेट मार्फत निर्माण हुने भएकोले बजेटका कारण काम अगाडी बढ्न सकेको छैन ।

विपद्लाई सामाना गर्नको लागि प्रदेश सरकार र सङ्घीय सरकारको समन्वय कस्तो रहेको छ ?

हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको ज्योतिनगरको पहिरो हो । यसको व्यवस्थापनका लागि नगरले धेरै रकम वर्षेनी खर्चने गर्छ । प्रदेश सरकार र सङ्घीय सरकारको पहिरो नियन्त्रण र यसको जोखिम कम गर्नका लागि जति सहयोग गर्नुपर्ने हो त्यो हुन सकेको छैन् । सामान्य सहयोग छ । त्यो यति ठूलो जोखिम क्षेत्रका लागि नाम मात्रको जस्तै छ । यस्ता ठूलो खालको विपत्तिको सामाना गर्नका लागि जुन समन्वय र सहकार्य हुनुपर्ने हो त्यो हुन सकेको छैन् ।

बुटवल उपमहानगरपालिकाभित्र रहेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू, मधेशी, मुस्लिम, अति विपन्न, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, सीमान्तकृत समुदायले स्थानीय सरकारको अनुभूति गराउने खालका के कस्ता नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुभएको छ ?

बुटवल उपमहानगरपालिकाले बुटवलवासीको आवश्यकताको पहिचान गरी आवश्यकताको आधारमा नीति, योजना, बजेट तथा कार्यक्रमहरू ल्याएको छ । हामीले भौतिक पूर्वाधार विकास र मानवीय विकासलाई महत्त्वका साथ अगाडि बढाएका छौँ । भौतिक विकासले मात्र विकास सम्भव हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौँ । त्यसकारण भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लगेका छौँ । हामीले गत वर्ष शिक्षामा २६ प्रतिशत बजेट लगानी गरेका थियौँ । १५ वेडका दुई ओटा अस्पताल निर्माण गरेका छौँ । विटिआई र आम्दा अस्पताललाई स्तर उन्नती गर्न लागि परेका छौँ । उज्यालो बुटवल निर्माणका लागि हाइमाक्स जडान गरेका छौँ । सडकमा रहेका गाईहरूको व्यवस्थापनका लागि गौशाला निर्माण गरी व्यवस्थापन गरेका छौँ । यसरी सबै क्षेत्र र भुगोल, जातजाति र समुदायलाई समेटेर बुटवलवासीका आवश्यकताहरूको सम्बोधन गरेका छौँ । साँस्कृतिक संरक्षणका लागि पञ्चे बाजा संरक्षण, आरन संरक्षण जस्ता कामलाई प्राथमिकतामा राखेका छौँ । प्रत्येक वर्ष पाँच ओटा समूहलाई पञ्चे बाजा तालिम सञ्चालन गर्ने, ठेला व्यवसायलाई उचित स्थानमा व्यवस्थापन गर्ने, शुद्ध मासु र स्वस्थ्यकर मासु वितरणका लागि वथशालाको व्यवस्थापन, युवाहरूलाई उद्यमशिलतामा जोड्नका लागि मेयर युवा इलम कार्यक्रम सञ्चालन गरी युवाहरूलाई १० महिने कुक र कम्प्युटर तालिम सञ्चालन गरेका छौँ । बुटवलको विकासका लागि हरियाली, सीप र आयआर्जनका लागि महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू रहेका छन् । त्यस्तै निःशुल्क छोरी पढाउने अभियान अन्तरर्गत दुई वर्षका लागि ८० जना छोरीहरूलाई विटिआइमा निःशुल्क पढाइरहेका छौँ । बुटवलले गर्ने कार्यक्रम बुटवललाई मात्र नभई सबैका लागि हो भन्ने सन्देश दिन खोजेका छौँ । त्यस्तै सुनका गरगहना बनाउने तालिम, सराय नाँच, भजन तथा भाषासम्बन्धी तालिमहरू मगर भाषा, नेवार भाषा लगायतका कार्यक्रमहरू सबैलाई समेट्ने गरी कार्यक्रम तथा बजेट निर्माण गरेका छौँ ।

अन्त्यमा बुटवलवासीहरूले अनुभूति गर्ने गरी मानव अधिकार संस्कृतिको विकास गर्न अबका दिनमा यहाँको जवाफदेहिता के हुन्छ ?

स्थानीय सरकार सबै नागरिकको लागि उत्तिकै समान सरकार हो । त्यस कारण बुटवलमा बस्ने सबै नागरिकको समान पहुँच र हैसियत हुनुपर्छ । यसका लागि हामी सधैँ सक्रिय र संवेदनशील भएर अगाडि बढेका छौँ । आगामी दिनमा पनि अगाडि बढ्ने छौँ । बुटवलमा बसेका कुनै पनि नागरिकले हामी अपहेलित भयौँ भन्ने गराउने छैनौँ । यदि कसैलाई हामी छुटियो कि भन्ने लाग्यो भनेर आएमा हामी सम्बोधन गर्नेछौँ । हामीले सवल बुटवल बनाउन चाहान्छौँ । बुटवलवासी कुनै पनि समुदायलाई पाखा लगाएर छोडेर समृद्ध र सवल बुटवल बन्न सक्दैन भन्नेमा हामी सचेत छौँ । सबैलाई स्थानीय सरकारको अनुभूति गराएर समाजमा रहेका असमानता, विभेदहरूको अन्त्य गरी मानव अधिकार संस्कृतिको विकासमा बुटवल उपमहानगरपालिका अग्रसर भएको छ । यसलाई लक्ष्यसम्म पुर्‍याउनका लागि यहाँहरूको आलोचनात्मक सुझाव निरन्तर चाहिन्छ । कतिपय व्यक्तिहरू बुटवललाई कमजोर बनाउनका लागि र बुटवललाई कसरी तल झार्न सकिन्छ भन्ने विषयमा लागि रहेकाले यस्ता व्यक्तिहरूबाट सचेत रहन आग्रह गर्दछु ।