नागरिकका आधारभूत अधिकारको सुनिश्चित गर्ने अभियानमा छौँ

बडिमालिका नगरपालिका जिल्ला सदरमुकामा अवस्थित नगरपालिका हो । धार्मिक तथा पर्याटकीय क्षेत्रको धरोहरका रुपमा परिचित बडिमालिका माताको नामबाट यो नगरपालिकाको नामाकरण गरिएको छ । नौ ओटा वडा रहेको यस नगरपालिकाको पूर्वमा बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका, पश्चिममा गौमुल गाउँपालिका, खप्तड छेडेदह गाँउपालिका र बुढीगङ्गा नगरपालिका, उत्तरमा बुढीनन्दा नगरपालिका र गौमुल गाउँपालिकाको केही भाग तथा दक्षिणमा त्रिवेणी नगरपालिका रहेका छन् । नेपालको जनगणना २०७८ अनुसार ४ हजार ४६ घरधुरी रहेको यस नगरपालिकामा ९ हजार २ सय ४९ महिला सहित  १८ हजार ४ सय १४ जनसङ्ख्या रहेको छ । यस नगरपालिकामा झन्डै ३० प्रतिशत घरधुरीहरु गरिबीको रेखामूनि रहेका छन् । नगरपालिकाका नीति, कार्यक्रम र आगामी योजनाको बारेमा नगरप्रमुख अमर खड्कासँग इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले गर्नुभएको कुराकानीको सम्पादित अंशः

नगरपालिकाभित्र मानव अधिकारको अवस्था कस्तो छ ?

मानव अधिकार भनेको मानिसले बाँच्न पाउने नैसर्गिक अधिकार हो । मानिस जन्मेदेखि मृत्यु नहुन्जेलसम्म स्वतन्त्र रुपमा बााच्न पाउने अधिकार मानव अधिकार हो । सबै नागरिकको गास, बास आवास, शिक्षा र स्वास्थ्यमा सहज पहुँच होस् भन्ने उद्धेश्यबाट नगरपालिकाले काम गरिरहेको छ । बडिमालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य रोजगारी र सेवा प्रवाहका हिसावले नगर क्षेत्र भित्रका नागरिकलाई कुनै पनि बिभेद नगरेर सेवा प्रवाह गरिरहेका छौँ । बिशेष गरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकाका अधिकारलाई विशेष प्राथमिकतामा राखेर काम गरिहरेका छौँ । नगरपालिकालाई मानव अधिकारमैत्री नगर बनाउने प्रयासमा छौँ ।

नगरपालिकाले के कस्ता मानव अधिकारमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ ?

बडिमालिका नगरपालिकामा मानव अधिकारमैत्री कानुन निर्माण  गर्न बिशेष जोड् दिइरहेका छौँ ।  नागरिकलाई दया, माया, कृपाले भन्दा पनि नगरिकका लागि आवश्यक कानुनहरु निर्माण गरी उहाँहरुको अधिकारका रुपमा सबै सेवाहरु प्रवाह गर्नु पर्ने मनसायले नगरपालिकाले काम गरिरहेको छ । मानव अधिकारको प्रत्याभूति हुनेगरी निर्माण भएका सङ्घीय, प्रदेशिक र स्थानीय कानुन अन्तर्गत रहेर नागरिकलाई सेवा प्रवाह गरिहेका छौँ । मानव अधिकारमैत्री कानुनहरुको कार्यान्वयका चरणमा रहेको र केही मानव अधिकारसँग प्रत्येक्ष सम्बन्ध राख्ने स्वास्थ्य, शिक्षा तथा रोजगारीसँग सम्बन्धित कानुनहरु निर्माणको चरणमा रहेका छौँ ।

गरिब तथा विपन्न पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन के कस्ता कार्यहरु भइरहेका छन  ?

नगरपालिकाले लैङ्गिक समानतसम्बन्धी नीति बनाएको छ । त्यसै अनुरुप काम गरिरहेको छ । विपन्न बर्गका नागरिकहरुको जीवनस्तर सुधारका लागि बजेटमार्फत रोजगारी सृजना गर्न विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । विपन्न नागरिकको रोजगारी, स्वास्थ्य उपचार, शिक्षा जस्ता विषयमा बिशेष ध्यान दिएर बजेट ब्यवस्थापन गरी काम गरेका छौँ । महिला तथा बालबालिका र विपन्न बर्गहरु शिक्षा र  स्वास्थ्य उपचारबाट वञ्चित नहुन भन्नका लागि जनचेतनामूलक कार्यक्रम अगाडी बढाएका छौँ । नीति तथा कार्यक्रममा विपन्न बर्गका व्यक्तिहरुको स्वास्थ्य सुधारका लागि २ सय जनालाई स्वास्थ्य कार्यक्रममा जोडेका छौँ । विपन्न बर्गका बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम, किशोरीमैत्री छात्रवृत्ति  कार्यक्रम र ज्येष्ठ नागरिकका लागि सहयोग कार्यक्रम सञ्चालनमा रहेका छन् । बालबालिकालाई विद्यालय पोषण कार्यक्रमा जोडेका छौँ । विद्यालयस्तरमा बालबालिकाहरुको स्वास्थ्य अवस्था बारे बुझ्न विद्यालयमा स्टापनर्स कार्यक्रम कार्यान्यनको चरणमा रहेको छ । विद्यार्थीको क्षेमता बृद्धिको लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल र सङ्गीत शिक्षाको व्यवस्था गरेका छौँ ।

घरेलु हिंसा, छाउपडी प्रथा र जातीय विभेदको अन्त्यका लागि कस्ता नीति तथा कार्यक्रम सञ्चालनमा रहेका छन् ?

घरेलु हिंसा, छाउपडी प्रथा र जातीय विभेदको अन्त्य गर्नका लागि नगरपालिकाले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । छाउपडी प्रथा मुक्त नगपालिका घोषण गर्ने तयारीमा जुटेका छौँ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाका केही वडाहरुलाई छाउपडी प्रथा मुक्त वडा घोषणा गरिसकिएको छ भने बाँकी रहेका वडाहरुलाई यसै वर्ष छाउपडी मुक्त वडा घोषणा गर्नका लागि नीति तथा कार्यक्रममा नै समेटेका छौँ । घरेलु हिंसा न्यूनिकरणका लागि महिला तथा बालबालिका शाखालाई बजेट व्यवस्थापन गरेर  जनचेतनामूलक कार्यक्रम, क्षमता अभिबृद्धि कार्यक्रम र सासूबुहारी सम्वाद कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउने काममा लागेका छौँ । हिंसा पीडित महिलालाई बस्न र सुरक्षाको लागि सेभहाउस सञ्चालनमा ल्याएका छौँ । सेभहाउस व्यवस्थापनको लागि जिल्ला सभाबाटै निर्णय गरेर कार्यविधि नै बनाएका छौँ । जातीय विभेदका घटना हुन नदिन नगरपालिकाले विभिन्न चेनामूलक कार्यक्रम गरिरहेको छ । जातीय विभेद गरिएको खण्डमा कानुन अनुसार कारबाहीका लागि पहिल गर्ने नगरपालिकाले नीति लिएको छ ।

नगरपालिकाले योजना छनौटको क्रममा दलित, जनजाति, मुक्त हलिया तथा महिलाहरुको सहभागिताको सुनिश्चितता कसरी गर्ने गरेको छ ?

लक्षित वर्गलाई योजनामा पहुँच पुर्‍याउने उद्देश्यले लैङ्गिक उत्तरदायी बजेटको प्रक्रिया पुरा गर्न कार्यविधि बनाएर कार्यपालिकाबाट पास गरेका छौँ । सिमान्तकृत वर्गको प्रतिनिधित्व कसरी सुनिश्चित गर्न सकिन्छ भनेर नगरपालिकाले प्रत्येक योजनाको बजेटमा रहेर सात ओटा चरणमा योजना छनौट गर्दा सिमान्तकृत वर्गको सहभागितालाई प्रमुख प्रथमिकता दिने गरेका छौँ । योजना छनौट गर्दा तालिम भन्दा पनि जिविकोपार्जनसँग जोड्ने गरी कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने गरेका छौँ । तालिम प्राप्त गरेका नागरिकहरुलाई व्यवसायी बन्नका लागि नगरपालिकाले सहयोग पनि गर्ने गरेको छ । योजना छनौटमा दलित, जनजाति, मुक्त हलिया, अपाङ्गता भएका व्यक्तिहरु भित्र पनि अतिविपन्न परिवारलाई बढी प्रथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु निर्माण गर्ने र कार्यान्वयन गर्ने गरेका छौँ । योजना योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्दा सिमान्तकृत बर्गको अनिवार्य सहभागिता हुने गरी नीति नै बनाएका छौँ ।

नगरपालिकाको शिक्षा अवस्था कस्तो छ ?

शिक्षाको अवस्थामा सुधार ल्याउनका लागि नगरशिक्षा गुरुयोजना बनाउने तयारीमा लागि परेका छौँ । भौगोलिक विकटताका कारण कुनै विद्यालयमा विद्यार्थी कम हुने, दरबन्दी अनुसारका बिषयगत शिक्षक अपुग हुँदा समस्या देखापरेको छ । यो समस्या समाधान गर्नका लागि विद्यालयहरुलाई मर्ज गर्ने योजनामा छौँ । अहिले विद्यार्थीको अनुपात हेरेर विषयगत शिक्षक साथै दरबन्दी सृजना गर्ने काम भएको छ । शिक्षालाई व्यवसायीक तथा प्राविधिक शिक्षामा कसरी जोड्न सकिन्छ भन्ने तर्फ योजना बनाइरहेका छौँ । बाजुरा क्यापम्पसलाई आङ्गिक क्याम्पसका रुपमा अगाडि बढाउने पहल गरिरहेका छौँ । बडिमालिका नगरपालिकाका सबै विद्यालयलाई आवासीय विद्यालयको परिकल्पना अनुसार यो वर्षबाट काम सुरु गरेकाछौँ । यसै आर्थिक वर्षदेखि बडिमालिका नगरपालिकाको वडा नम्वर २ मा रहेको सत्यवादी माविलाई आवासीय विद्यालयका रुपमा अगाडि बढाएर काम थालनी गरेका छौँ । बाँकी विद्यालयहरुलाई पनि आवासीय विद्यालयका रुपमा आगामी वर्षदेखि सञ्चालना ल्याइने छ ।

अनि स्वास्थ्य अवस्था ?

नागरिकको नैसर्गिक अधिकार भित्रको महत्वपूर्ण अधिकार स्वास्थ्य अधिकार पनि हो । कुनै पनि नागरिकले स्वास्थ्य उपचार नपाएर मृत्यु हुन नपरोस् भन्ने उद्देश्यले आफू जनप्रतिनिधिमा निर्वाचित भएर आइसकेपछि पहिलो निर्णय नगरपालिका भित्रका बिपन्न अशक्त नागरिकका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेर सेवा दिदै आएका छौँ । भौगोलिक विकटतालाई मध्यनजर गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्ने काम गरिएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीले आर्थिक अभावका कारण सुबिधासम्पन्न ठाउँमा गएर उपचारबाट वञ्चित नहुन भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । भौगोलिक हिसाबले दुर्गम गाउँबस्तीलार्ई आधार बनाएर एक ओटा शहरी स्वास्थ्य केन्द्र अघिल्लो आर्थिक वर्षमा स्थापना गरी सञ्चालनमा रहेका छन् भने दुई ओटा यो आर्थिक वर्षमा सुरु गर्ने योजना रहेको छ । दुर्गमबस्तीमा सामान्य टाउको दुख्ने, रुघाखोकी, ज्वरोका बिरामीका लागि शहरी स्वास्थ्य केन्द्रले सेवा प्रवाह गर्ने गरी व्यवस्था गर्ने प्रायसमा छौँ । नगरपालिका क्षेत्र भित्रका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल बनाउने तयारी गरिरहेका छौँ । नगरपालिकाले मेयरसँगै चिकित्सक कार्यक्रम सुरु गरेको छ । बिरामी भएर जिल्ला बाहिर रिफर गरिएका बिरामीको स्वास्थ्य अवस्था बुझ्न फलोअप कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । विभिन्न सहयोगि संघसस्था तथा निकायहरुसँगको समन्वयमा विद्यालय, गाउँ र टोलमा स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरेका छौँ । यस वर्षदेखि लागु हुने गरी २ सय अतिविपन्न तथा सिमान्तकृत परिवारलाई निःशुल्क स्वास्थ्य विमा नगरपालिकाले गरिदिने निर्णय गरेका छौँ । नगर क्षेत्रका सबै नागरिकलाई स्वास्थ्य विमा कार्यक्रम निःशुल्क गर्ने योजना बनाई रहेका छौँ ।