धिमाल जातिको आर्थिक सांस्कृतिक अधिकार सुनिश्चित गर्ने योजना अघि बढाएका छौँ

बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाइ रहिआएको छ । बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस नगरपालिकाको जनसङ्ख्या ७५ हजार ५ सय ९५ छ । यो नगरमा आदिवासी जनजाति ५७ दशमलव १३ प्रतिशत, ब्राम्हण क्षेत्री ३२ दशमलव २३ प्रतिशत, दलित ७ दशमलव ८१ र मधेशी पिछडावर्ग २ दशमलव ८३ प्रतिशत छन् । यो नगरपालिकाको कुल साक्षरता ७४ दशवमल १७ प्रतिशत छ । महिला ६६ दशमलव ६६ प्रतिशत र पुरूष ८३ दशमलव २२ प्रतिशत छ । बेलबारी नगरपालिकाले मानव अधिकार प्रवर्धनका क्षेत्रमा गरेको काम र आगामी योजना बारे बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईसँग इन्सेक प्रतिनिधि विनोद सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

मानव अधिकार सम्बर्द्धनका लागि बेलबारी नगरपालिकाले के कस्ता काम गरिरहेको छ ?

बेलबारीले नियमित बाहेक खासै विशेष काम भने गरेको छैन । केन्द्रले निर्धारण गरेका कामहरू बेलबारी नगरपालिकाले गरिरहेको छ । मानव अधिकारका लागि छुटै रूपमा कुनै विशेष कार्यक्रम भने नगरपालिकाले सञ्चालन गरेको छैन ।

शिक्षाको अधिकारका सवालमा के कस्ता योजना कार्यान्वयनमा छन् ?

शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधारका  लागि  बाल कक्षाको विशेष कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ८ सम्मको शिक्षा सुधारका लागि नगरपालिकाले काम गरिरहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिकाले अङ्ग्रेजी माध्ययमबाट पठन–पाठन गराउने लगायतका प्रयासलाई निरन्तरता दिएको छ । मातृ भाषामा पाठ्यक्रम निर्माण गरी आधारभूत तहमा लागु गरिने नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेका छौँ । दिवा खाजा कार्यक्रमलाई प्राथमिकताका साथ लागू गरेका छौँ । विद्यालय नर्सिङ कार्यक्रम नगरभित्रका सबै विद्यालयमा लागू गर्ने प्रयत्नमा छौँ ।

न्यायिक समिति र मेलमिलापकर्ताको व्यवस्थापन कसरी गरिएको छ ?

न्यायिक समितिबाट दिने सेवालाई छिटोछरितो र प्रभावकारी बनाएर सेवा प्रदान गरिएको छ । न्यायिक सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले थप सुधारका लागि आवश्यक तयारी पनि गरेको छ । न्यायिक समितिबाट टुङ्गो नलागेका मुद्दाहरूलाई माथिल्लो निकायमा पठाउने व्यवस्था गरिएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकका सवाललाई न्यायिक समितिबाट उचित सम्बोधन गरिदैँ आइएको छ । ज्येष्ठ नागरिकका समस्या भने अलि पृथक छन् । न्यायिक समितिलाई प्रभावकारी बनाउन इजलास कक्षको व्यवस्थापन र उजुरी प्रशासकलाई मानव अधिकारका आधारभूत विषयमा तालिम सञ्चालनको उद्देश्य राखिएको छ । 

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको व्यवस्थापन कसरी गरिएको छ ?

ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा बैङ्कबाटै सामाजिक सुरक्षा भत्ता वितरणको काम नगरपालिकाले गरिरहेको छ । अशक्तहरूलाई घरमै पुर्‍याउने गरिएको छ । अपाङ्गताको क्षेत्रमा पनि नगरपालिकाले विभिन्न खालका अभियानहरू सञ्चालन गरिरहेको छ । अपाङ्गतामैत्री संरचना निर्माण गर्ने, सहायता सामग्री उपलब्ध गराउने काम पनि नगरपालिकाले गरिरहेको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्रको सहज उपलब्धता र अपाङ्गता भएका व्यक्ति लक्षित सीपमुलक कार्यक्रम सञ्चालन नीति नगरपालिकाको छ ।

नगरभित्र धिमाल जातिको बाहुल्यता छ । उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवालमा कस्तो नीति तथा कार्यक्रम तयार पारिएको छ ?

हाम्रो नागरपालिकामा धिमाल जाति पहिलो जातिका रूपमा घोषणा गरेर धिमाल जातिको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बर्द्धनका लागि नगरपालिकाले योजना अघि बढाएको छ । जनजातिको सीप विकासको सवालमा, भाषा संरक्षणको सम्बन्धमा नगरपालिकाले योजना अघि बढाएको छ । आगामी नगरपरिषदमा धिमाल जातिको आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार संरक्षणका लागि थप कार्यक्रम सञ्चालनमा ल्याउने नीति तय गरिनेछ ।

नागरिकको स्वास्थ्य, आवासलगायतको अधिकार सुनिश्चित गर्न नगरपालिकाले के कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?

स्वास्थ्य क्षेत्रमा नगर अस्पताल सञ्चालन गरिएको छ । नगर अस्पतालमा स्वास्थ्य बीमाको सेवा पनि उपलब्ध गराइएको छ । नगर अस्पताललाई २४ घण्टा नै सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको छ । आधारभूत स्वास्थ्य चौकी सुधार गर्ने र ल्यावको व्यवस्था पनि गर्ने योजना नगरपालिकाको छ । विपन्न वर्गका लागि आवासको कार्यक्रम पनि प्रदेश र सङ्घीय सरकारसँग समन्वय अघि बढाउने योजना छ ।