कानुन र व्यवहार दुवैमा मिल्ने घटनामा मात्रै मिलापत्र

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई न्याय निरूपणका लागि न्यायिक समितिसँगै मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादनका लागि अधिकारहरू दिएको छ । संविधानले नै स्थानीय सरकारका कामबारे स्पष्ट पारी कार्यविभाजन समेत तोकेको छ । ती अधिकारलाई कसरी उपयोग गर्दै आउनु भएको छ भनी इन्सेक भक्तपुर प्रतिनिधि जमुना भट्टराईले चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

 स्थानीय सरकारको न्यायिक समितिको प्रमुख हुने कानुनी व्यवस्था प्रतिको यहाँको धारणा ? न्यायिक समितिमा के कस्ता समस्या आउँछन् ?

यो निकै महत्वपुर्ण कुरा हो । यसले समुदाय र जनप्रतिनिधिलाई सधैँ  सगै बनाइरहन्छ । यसैपनि हामी जनप्रतिनिधिको समजप्रति उत्तरदायित्व रहेका हुन्छौँ । मुख्य विवादहरु साँधसिमानाको किचलोको मेलमिलाप गरी पाउँ भन्दै आउँछन् । ९० ओटा साँध सिमानाका विषयका उजुरी दर्ता गरिएका छन् । सामान्य त दर्ता नगरिएका विवादहरु पनि छन् । स्थानीय सरकारको संविधानको व्यवस्था अनुसार दुवै पक्ष जितजितमा मेलमिलाप गराएर पठाउँछौँ । लेनदेनका मुद्धाहरु पनि आउने गरेका छन् । मिल्ने सम्म मिलाएका छौँ । कानुन र व्यवहार दुवैमा मिल्ने घटनामा मात्रै मिलापत्र गराउँछैँ । पीडितको पक्षमा रहेर निर्णयहरु हुन्छन् । हामीले पुर्वाधार विकाससँगै मानव विकासमा काम गरिरहेका छौँ । सचेतनाको क्षेत्रमा काम गरेका छौँ ।

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी, जनजाति, दलित ज्येष्ठ नागरिक, मधेशी, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्तिहरूले अपन्त्व गर्ने खालका कानुन निर्माणमा कत्तिको छलफल गर्नुहुन्छ ?

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी, जनजाति, दलित ज्येष्ठ नागरिक, मधेशी, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्तिहरूले सबैका विषयमा आफ्ना आवाजहरू सक्रिय भएर राख्ने गरेका छन् । त्यस्ता विषयको यथोचित सम्बोधन भएका छन् । छलफलबाट नै निश्कर्षमा पुग्ने गरेका छौँ । सीमान्तकृत समुदायहरूका विषयमा पनि छलफल गरिरहेका हुन्छौँ । हामीले उठाएका सवालहरू र जनतालाई आवश्यक परेका कानुन निर्माण गर्नका लागि संवेदनशील भएर सहज रूपमा ल्याउन सकिन्छ भन्ने लाग्छ ।

यस नगरपालिकामा शिक्षा, स्वास्थ्य, आवास, वातावरण, खाद्य अधिकारको अवस्था कस्तो छ ?

चाँगुनारायण अस्पताल सञ्चालनमा छ । शिक्षमा यस पटकको एसईईको नतिजा सन्तोषजनक छैन । एकै स्कुलमा ५ सय-६ सय विद्यार्थी रेकर्डमा छन । शिक्षक दरबन्दी आवश्यकता अनुसार नै व्यवस्थापन गरेका छौँ । छोरीसँग बचत खाता भनेर स्कुल पढ्ने छोरीलाई निश्चित पैसाको खाता खोलिदिन्छौँ । २० वर्षसम्म त्यो झिक्न पाउँदैनन् त्यसपछि उच्च शिक्षाका लागि खर्च गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री दिने गरेका छौँ । प्रत्येक सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेका छौँ । यस नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण, महिला तथा बालालिकाका विकास क्षमता विकासमा हामीले प्रभावकारी काम गरेका छौँ । प्रभावकारी जनचेतानाका कार्यक्रमहरु गरेका छौँ ।

लक्षित समुदायका क्षेत्रमा के कस्ता कार्यक्रम छन् ?

यहाँले उठाएको विषयवस्तु एकदमै महत्वपूर्ण छ । मानव अधिकारको विषयमा हामी संवेदनशील छौँ । मौलिक हक र कानुन कार्यान्वयनका लागि सम्मत नै कार्यहरु गर्दै आएका छौँ । महिला शसक्तिकरण र युवा लक्षित कार्यक्रमलाई अलि बढी महत्व दिएर बजेट छुट्याएका छौँ । सोही अनुसार काम गरिरहेका छौँ । आर्थिक शसक्तिकरण नभई कुनै शसक्तिकरण हुँदैन भनेर महिलाहरुलाई आयआर्जन, स्वरोजगार, सिपमुलक तालिमसँग जोडिरहेका छौँ । साबुन, सरफ, हार्पिक बनाउने तालिम दिएका छौँ । केही काठका तानहरु वडामा दिएका थियौँ। वडावडामा तालिमका कार्यक्रम राखेका छौँ । ढाकाका टोपी, झोला, ओड्ने लगायतका सामग्री बनाउन सिकाएका छौँ । आयआर्जनका लागि महिला लक्षित सीप तथा तालिमको व्यवस्था गरेका छौँ । लक्षित कार्यक्रमाबाट बनेको खेरजाने मकैको खोस्टाबाट बनाइएको फूलको बुकी खादाको सट्टा प्रयोग गर्छौं ।