कानुन निर्माणमा भन्दा कार्यान्वयनमा चुनौती छ

कर्णाली प्रदेशमा ५४ ओटा गाउँपालिका र २५ ओटा नगरपालिका गरी ७९ ओटा स्थानीय तह छन् । कर्णाली प्रदेशकै राजधानी सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै मुख्यमन्त्रीको कार्यालयदेखि प्रदेशसभा र प्रदेशस्तरका अन्य कार्यालय पनि रहेका छन् । सुर्खेतमा भएका नौ ओटा स्थानीय तहमध्ये पाँच ओटा नगरपालिका र चार ओटा गाउँपालिका रहेका छन् । नौ ओटै स्थानीय तहमध्ये महिला प्रमुख भएको वीरेन्द्रनगर नगरपालिका मात्रै हो । यो नगरपालिकाको प्रमुख हुनुहुन्छ मोहनमाया ढकाल । उहाँ अघिल्लो कार्यकाल यही नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । प्रस्तुत छ, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालसँग इन्सेक प्रतिनिधि प्रभा रावतले गर्नुभएको कुराकानीको सम्पादित अंशः
वीरेन्द्रनगर नगरपालिकाले हालसम्म कतिओटा मानव अधिकारमैत्री कानुन निर्माण गर्यो ? कानुन कार्यान्वयनको अवस्था कस्तो छ ?
हामीले सबै कानुन मानव अधिकारमैत्री बनाएर निर्माण गरेका छौँ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेका कानुन सेवा प्रवाह गर्ने सेवा प्रदायक र सेवा ग्रहण गर्ने सेवाग्राहीका लागि बनाइएका हुन् । त्यसमा पनि हामीले के भनेका छौँ भने कुनै पनि कानुन निर्माण गर्दा एकपक्षीय अथवा (एकपक्षलाई बलियो बनाउने खालको) नभएर नेपालको संविधानले आम नागरिकको सेवा प्रवाहको लागि जुन कुरा बोलेको छ । स्थानीयको तहबाट गर्नुपर्ने कामलाई आधार बनाएर कानुन निर्माण गरेका छौँ । र, अर्को कुरा मानव अधिकारमैत्री कानुन पनि निर्माण गरेका छौँ । विभिन्न समयमा मानव अधिकार आयोग, इन्सेकसँग पनि हामीले समन्वय गरेर यहाँको मानव अधिकारको अवस्था कस्तो छ ? भनेर समीक्षात्मक पुस्तक पनि प्रकाशन गर्ने गरेका छौँ । कानुन आफैँमा मानव अधिकारमैत्री हुनुपर्छ ।
कानुन निर्माणमा के कस्ता चुनौती छन् ?
कानुन निर्माणका खास चुनौती देखिँदैन । अध्ययन अनुसन्धान र आवश्यकताको आधारमा कानुन निर्माण हुन्छन् र निर्माण भएका कानुनहरू कार्यान्वयनमा भने पक्कै पनि चुनौती हुन्छ । कतिपय अवस्थामा लामो समयसम्मको सामाजिक मूल्य मान्यताहरू, सामाजिक परिवेश समाज कसरी विकास भयो ? भन्ने कुराले पनि हामीले स्थापित गर्ने मानव अधिकारलाई सहज तरिकाले चल्न सकिन्छ या सकिँदैन भन्ने कुरालाई पनि अर्थ राख्छ । त्यसकारणले सामाजिक रीतिरिवाज, परम्परा, सामाजिक मुल्य मान्यता, अझ त्यसमा पनि राज्य पक्षले पनि एउटा लामो अभ्यासमा कसरी काम गरेको छ ? आफ्ना नीति कार्यक्रमहरू, बजेट, योजना मानव अधिकारमैत्री छन् वा विशेष क्षेत्रलाई केन्द्रित गरेर बनाइएका छन् कि छैनन् भन्ने कुराले प्रभाव पर्छ । यो मानव अधिकार भन्ने कुरा बोल्न जति सजिलो छ यसलाई कार्यान्वयनमा ल्याउन त्यति नै मेहनत गर्नुपर्दछ । किनभने मानव अधिकार भनेकै व्यक्तिले महसुस गर्ने कुरा हो । हामीले एउटा भनाँै न सेवा प्रवाह गर्ने निकाय वा हामी स्थानीय तहसँग काम गरिरहँदा हामीले धेरै राम्रो काम गरिरहेका छौँ भन्ने लाग्न सक्छ तर आम नागरिकले कसरी हेर्छन् ? सिमान्तकृत, महिला ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाले केकस्तो महसुस गरेका छन् ? भन्ने कुरा यसमा जोडिएको हुँदा नीति निर्माण गर्न जति सहज हुन्छ व्यवहारिक रुपमा कार्यान्वयन गर्न त्यति नै मेहनत गर्नुपर्छ ।
महिला, बालबालिका, अल्पसङ्ख्यक, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका नागरिकलाई नगरपालिकाले राज्यको मुल प्रवाहिकरणमा ल्याउनका लागि कस्ता कार्यक्रम सञ्चालन गरेको छ ? र आगामी योजना के छ ?
हामीले नगरपालिकालाई महिलामैत्री नगरपालिका, छोरीको लागि गर्वको नगर, एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगर विकास र सम्वृद्धिको मुल आधार भन्ने नाराहरू तय गरेर अगाडि बढाएका छौँ । महिलाको हकमा महिला सक्षम हुनुपर्छ । स्वरोजगार हुनुपर्छ । उत्पादनको क्षेत्रमा जोडिनु पर्छ भन्ने कुरालाई नगरपालिकाले प्राथामिकतामा राखेको छ । अर्को कुरा किशोरी, बालिका, छोरी आफैँमा एउटा सम्मानित अथवा त्यस्तो खालको वातावरणमा रहन पाउनु पर्छ । उनीहरूले सोचेका कामहरू गर्न सहज बातावरण हुनुपर्छ । पढ्ने लेख्ने, व्यक्तित्व विकास गर्ने विषयलाई पनि जोड्नुपर्छ । यसमा हामीले जोड दिएका छौँ । त्यसैगरी ज्येष्ठ नागरिक, महिला विपन्न समुदाय, दलित, जनजाति र सिमान्तकृत वर्गलाई घर आँगनको सरकारले सेवा दिनुपर्छ भन्ने हिसाबले कार्यक्रमहरू आयोजना गर्ने, बजेट विनियोजन गर्ने गरेका छौँ । जस्तो दलित जनजाति समुदायको उत्थानको लागि सम्बन्धित वर्गको भाषा, कला, आयआर्जन लगायतका काममा जोड दिएका छौँ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएको छ कतिपय ठाउँमा व्यवहारिक रुपमा समस्या छ । यो एउटा कानुन विपरीतको काम हो । छुवाछुतलाई कानुनतः दण्डनीय बनाइएको छ । यसलाई व्यवहारमा उतार्न र सचेतना जगाउन नगरपालिकाका क्रियाकलाप केन्द्रीत गरिरहेका छौँ ।
केही समय अगाडि नगरपालिकालाई इन्सेकद्वारा गठित मानव अधिकार समूहले सुर्तिजन्य पदार्थ रोकथामका लागि भन्दै ज्ञापनपत्र बुझाएको थियो । यसको कार्यान्वयनको अवस्था के छ ?
वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य ऐन बनाएको छ । सार्वजनिक ठाउँमा, विद्यालय क्षेत्र वरपर सुर्तिजन्य पदार्थ बेच्न नपाउने गरी निर्णय पनि गरेका छौँ । यसलाई हामीले कार्यान्वयनमा ल्याउने गतिविधि अगाडि बढाएका छौँ । नेपाल सरकारले जारी गरेको कतिपय ऐनमा पनि यस्ता कुरा उल्लेख छन् । स्थानीय तहले जारी गरेका ऐनमा पनि उल्लेख छन् । अहिले हामीले कानुन नै निर्माण गरिसकेको हुँदा यसलाई कडाइका साथ लागु गर्छौँ ।
नगरपालिकामा योजना छनोट कसरी हुन्छ ? यसमा प्रत्यक्ष आम नागरिकको सहभागिता हुन्छ कि हुँदैन ?
नगरपालिकाले योजना निर्माणको क्रममा सम्बन्धित लाभग्राहीको सुझावहरू सङ्कलन गर्ने गरिन्छ । नगरपालिकाले योजना छनौट गर्दा टोल विकास समितिहरूसँग पनि छलफल गर्ने, भेलाहरू आयोजना गर्ने, त्यहाँबाट प्राथामिकता भएका योजना वडामा छलफल गर्ने, त्यसपछि नगरकार्यपालिका र हामीले सभासम्म लिँदा विभिन्न चरणमा छलफल पनि गर्छौँ र हामीले आमनागरिकसँग सुझाव पनि लिन्छौँ । कस्ता खालका योजना निर्माण गर्दा वीरेन्द्रनगरको विकास सम्वृद्धिलाई यसले राम्रो प्रभाव पार्छ त्यो कुरामा हामीले सकेसम्म सबै सरोकारवालाहरूसँगको सल्लाह सुझाव लिने प्रयास गर्दै आएका छौँ ।
अन्तर्वार्ता सुन्नुहोस्
सम्बन्धित अन्तरवार्ताहरू
आदिवासी, जनजातिको अधिकार सुनिश्चितताको प्रयास जारी छ
मुलुक शासकीय पुनसंरचनामा गएपछि हाल तीन तहका सरकार छन् । “सिंहदरबारको अधिकार गाउँगाउँमा कार्यान्वयन” गर्ने मुख्य दायित्व स्थानीय सरकारको छ । ०७४ असोज ६ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४…
मानव अधिकारका विषयहरू समुदाय केन्द्रित हुनु पर्छ
सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने नौ ओटा गाविसहरू मिलाएर नगरपालिकाको स्थापना गरिएको छ । यो नगरपालिकाको दक्षिण तर्फको भु–भाग नेपाल भारतको सीमासँग जोडिएको…
मानव अधिकारमैत्री नगर बनाउन प्रतिबद्ध छौँ
कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसङ्ख्या ८७ हजार ६ सय ७९ रहेको छ । १२ ओटा वडामा विभाजन भएको यो…
जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेका छौँ
चितवनको एउटा मात्र गाउँपालिका हो इच्छाकामना । जिल्लाको पहाडी भूगोलमात्र समेटिएको यस गाउँपालिकामा अधिकांश जनजाति समुदायको बसोबास छ । पहाडी भूगोल त्यसैमाथि जनजाति र अल्पसङ्ख्यक समुदाय चेपाङको बसोबास रहेको यस…
अधिकारसँगै कर्तव्य पालना गर्न पनि जरूरी छ
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर छ । पुर्वमा दाङ, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका,…