एकल र साझा अधिकार अक्षरशः कार्यान्वयन गर्ने वातावरण अझै बनेन
नेपालको संविधान २०७२ ले अनुसूची ५ मा सङ्घीय सरकारका ३५ ओटा एकल अधिकार, अनुसूची ६ मा प्रदेश सरकारका २१ ओटा एकल अधिकार, अनुसूची ८ मा स्थानीय सरकारका २२ ओटा एकल अधिकार, अनुसूचि ७ मा सङ्घ र प्रदेशको २५ ओटा साझा अधिकार र अनुसूचि ९ मा सङ्घ, प्रदेश र स्थानीय सरकारको १५ ओटा साझा अधिकारको व्यवस्था गरिएको छ । तर यी एकल र साझा अधिकारको कार्यान्वयन हुन नसकेको प्रदेश र स्थानीय सरकारको गुनासो छ । कतिपय एकल अधिकारमा पनि र कतिपय साझा अधिकारमा समेत हस्तक्षेप भइरहेको र सङ्घले ऐन कानुन समयमै नबनाइदिँदा सरकार सञ्चालनमा समस्या आएको स्थानीय सरकारले बताएका छन् । संविधान दिवसको सन्दर्भमा कानुन निर्माण र सरकार सञ्चालनका समस्या बारे इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनले नेपाल नगरपालिका सङ्घका महासचिव एवम् घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
संविधान दिवस स्थानीय सरकारले कसरी मनाए ?
जनताका प्रतिनिधिले बनाएको संविधान प्राप्त गरेको यो दिनमा आम नागरिक सरह नै स्थानीय सरकारले पनि संविधान दिवस मनाएको छ । समग्रमा यो खुशीको दिन भए पनि यसको कार्यान्वयनको विषयमा अलि चिन्ता गर्नुपर्ने अवस्था छ । संविधानमै व्यवस्था भएका तीन तहका सरकारका एकल र साझा अधिकारका विषय कार्यान्वयनमा जति प्रभावकारी हुनुपर्ने हो त्यति अझै हुन सकेको छैन । संविधानमा अनुसूची ५, ६, ७, ८ र ९ मा भएका अधिकारको जस्ताको तस्तै कार्यान्वयन गर्ने वातावरण संविधान जारी भएको नौ वर्षसम्म पनि बनेन । फेरि केही हुँदै भएन भन्ने पनि होइन । जनतालाई नजिकबाट सेवा प्रवाह गर्न थुप्रै काम पनि भएका छन् । तर कतिपय गर्नै पर्ने कामहरू अहिलेसम्म नबन्दा सरकार सञ्चालनमा समस्या आएको छ । नागरिकलाई सेवा दिने सवालमा अड्चन आएका छन् । पहिलो कुरा त सङ्घीयता पूर्णरूपमा कार्यान्यन गर्न सङ्घ सरकार जिम्मेवार हुनुपर्नेछ ।
समस्या के हो खास ?
स्थानीय सरकारलाई मालपोत, नापी जस्ता कार्यालयहरू अहिलेसम्म सङ्घ सरकारले हस्तान्तरण गर्न सकेको छैन । स्थानीय सरकारका एकल अधिकारका २२ ओटा अधिकारमा पनि अझै सङ्घ सरकारले नै कुनै न कुनै माध्यमबाट हातमा लिइरहने काम भइरहेको छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रको सञ्चालन वर्षौं पुराना कानुनमै भर परेको अवस्था छ । शिक्षा ऐन २०२८ कायम छ । अहिलेसम्म नयाँ शिक्षा ऐन बन्न नसक्नु समस्याका विषय हुन् । देश राजनीति व्यवस्था र परिवर्तनको हिसाबले धेरै अघि बढिसक्ने तर ऐन कानुनहरू परिवर्तन हुन सकेका छैनन् । पुरानै ऐन कानुन राखेर सरकार चलाउँदा ठूलो समस्या पैदा भएको छ । यतिमात्रै होइन वन ऐन पुरानै छ । निजामति सेवा ऐन उही पुरानै छ । यद्यपी स्थानीय सरकारले ओएनएम गरेर कहाँ, कुन तहको कस्तो जनशक्ति चाहिने हो त्यसको सर्भे गरेर पठाएको पनि छ तर स्वीकृति हुन सकेको छैन । यी सबै कुराले गर्दा संविधानको पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । विकासमैत्री कानुन अझै बन्न सकेको छैन ।
अवरोध के मा भयो ?
सडक निर्माण गर्दा विद्युतका पोलहरू सार्न अझै पनि सङ्घको निर्णय कुर्नु पर्ने अवस्था छ । जिल्ला, स्थानीय तहलाई यति सानो अधिकार कार्यान्वयन गर्ने हैसियत दिइएको छैन । अनि विकास कसरी गर्ने स्थानीय सरकारले ? बाटो बनाउँदा रुख हटाउने अधिकार स्थानीय सरकारसँग छैन । कसरी गर्ने विकास स्थानीय सरकारले ? सङ्घीयतामा राजनीतिक संरचनामात्रै ल्याएर हुन्छ ? तल्लो तहसम्म प्रशासनिक र वित्तिय संरचना अझै पनि कार्यान्वयन हुन नसक्दा संविधानको कार्यान्वयन प्रभावकारी हुन सकेका छनन् । तर जनतामा केही भएन भनेर निराशा थप्ने कुरा फेरि यो होइन । संविधानका थुप्रै राम्रा पक्षहरू कार्यान्वयन भएका छन् । धेरै कामहरू राम्रा र सुधार भएका छन् । यद्यपी अझै गर्न पर्ने कामहरू सरकारले गर्न नसक्दा समस्या भइरहेको छ । जस्तो गुठी ऐन पुरानै छ । हजारौँ गुठीपीडित किसानहरू नयाँ ऐन कहिले बन्ला र हामीले न्याय पाउँला भनेर कुरेर बस्नु भएको छ । भुइँ तहका नागरिकले परिवर्तनको महसुस हुनेगरी काम गर्ने जिम्मेवारी सङ्घीय सरकार र प्रतिनिधिसभाको हो ।
समस्यै समस्या भएर संविधान नै संशोधन गर्न खोजिएको होला उसो भए होइन ?
पछिल्लो अवस्थामा स्थायी सरकार नहुँदा अस्थिरता, दण्डहीनताले प्रशय पायो भन्ने कुरा सबै राजनीतिक दलहरूलाई लागेको छ । राम्रो संविधान हुँदाहुँदै पनि कतिपय समस्या समाधान गर्न संविधान संशोधनका कुरा पनि उठेका छन् । मुल कानुनमा भएका कतिपय व्यवस्था नागरिकको हितमा, राष्ट्रको हितमा, राष्ट्रियताको हितमा छैन भने फेरबदल गर्न पनि सकिन्छ । कुन कानुन कुन बुँदा परिवर्तन गर्दा नागरिक हितमा हुन्छ भन्ने कुरा सबै राजनीतिक दलको सहमतिमा हुन सक्यो भने जनताको अधिकार स्थापित गर्न सकिन्छ ।
अधिकार कटौति गरेर अस्थिरता रोकिन्छ त ?
अधिकार कटौति गर्नु हुँदैन । राम्रो गर्न बनाइएका कतिपय प्रणालीहरूका कारणले समस्या निम्त्याउने अवस्था आउँछ भने थप राम्रो बनाउन त्यसलाई फेरबदल गर्नुपर्छ । जस्तो निर्वाचन प्रणालीका कारण कसैको बहुमत नआउने अवस्था हो भने बहुमत नहुँदा सरकार अस्थिर बन्ने समस्याको निराकरण गरेर थप राम्रो प्रणाली निर्माण गर्नुपर्छ । अर्को कुरा देशमा धेरै संरचना भए तिनीहरूलाई घटाएर कम गर्ने कि भन्ने पनि छ । यस्ता सकारात्मक विषयमा दलहरूले सहमति गरेर अघि बढ्नुपर्छ । मुख्य गरी यो संविधानको एउटा महत्त्वपूर्ण पाटो समावेशीता हो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे दलहरू जिम्मेवार हुनुपर्छ । राज्यमा समान पहुँचका लागि समावेशीता जरुरी छ । यो विषयलाई बिर्सन हुँदैन ।
संविधान संशोधन गर्ने कि कानुन निर्माण गर्ने त ?
संविधान संशोधनको विषय नेपाल सरकार र प्रतिनिधिसभाको पाटो हो । स्थानीय स्तरमा त हामीले कानुन बनाइसकेका छौँ । सङ्घीय सरकारका पुराना कानुनसँग बाझिने गरी बनाएका छैनौँ । तर सङ्घमा पनि युग र आवश्यकता अनुसारको कानुन बनाइदिए स्थानीय सरकारले पनि युग सुहाउँदो कानुन निर्माण गर्थे । माथि नबने पनि स्थानीय सरकारले त ऐन, नियमावली बनाइसकेका छन् । मुख्य कुरा केहो भने सङ्घको कानुनसँग बाझिन हुन्न भन्ने संवैधानिक व्यवस्था छ । तर पुरानो कानुनसँग होइन नी, नयाँ कानुनसँग पो हो त । त्यसैले सङ्घले छिटो भन्दा छिटो ऐन कानुन ल्याओस् भन्ने हाम्रो भनाइ हो । कतिपय कानुन नबन्दा कर्मचारी व्यवस्थापन, विकास निर्माण र जनतालाई सेवा दिने विषयमा समस्या छ । यो समस्या हटाउन सङ्घीय सरकारले ऐन कानुन छिटो बनाउन सक्यो भने संविधानको पूर्ण कार्यान्वयनमा टेवा पुग्छ भन्ने हाम्रो भनाइ हो ।
सम्बन्धित अन्तरवार्ताहरू
लैङ्गिक हिंसा न्युनीकरण गर्न सबैको साझा पहल जरुरी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा जिल्लाको सदरमुकाममा रहेको कैलाली जिल्लाको १३ ओटा स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका प्रदेशकै एक मात्रै उपमहानगरपालिका हो । यस उपमहानगरपालिकामा १९ ओटा वडा रहेका छन्…
हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयनमा चुनौति छन्
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको तुलनात्मक रुपले अलि सुगम क्षेत्रको स्थानीय सरकार हो सिस्ने गाउँपालिका । शहरोन्मुख गाउँपालिका सिस्नेमा भौतिक पूर्वाधारसँगै मानवीय विकासका पनि थुप्रै काम भइरहेका…
कानुन र व्यवहार दुवैमा मिल्ने घटनामा मात्रै मिलापत्र
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई न्याय निरूपणका लागि न्यायिक समितिसँगै मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादनका लागि अधिकारहरू दिएको छ । संविधानले नै स्थानीय सरकारका कामबारे स्पष्ट…
लैङ्गिक हिंसा नियन्त्रित उपमहानगर बनाउँदैछौँ
स्थानीय सरकार सञ्चालन ऐन २०७२ ले स्थानीय तहमै न्यायिक निरुपणको व्यवस्था गरेपछि नागरिकका विवाद समाधानमा न्यायिक समिति क्रियाशील छ । विशेष गरी घरेलु हिंसा र कुलो, पानी, साँध सिमाना विवाद…
मानव अधिकारको विषयमा हामी संवेदनशील छौँ
स्थानीय सरकारलाई न्याय निरूपणका लागि न्यायिक समितिसँगै मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले अधिकारहरू दिएको छ । ती अधिकारलाई कसरी उपयोग गर्दै आउनु…