आगमी वर्षको नीति तथा कार्यक्रममा महिला, युवा र सीमान्तकृत समुदायलाई प्राथमिकता दिएका छौँ
मिथिला नगरपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्ने एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको उत्तरमा सिन्धुली, पश्चिमतर्फ महोतरी जिल्ला र बटेश्वर गाँउपालिका, त्यसैगरी दक्षिणमा क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाँउपालिकाका साथै पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका पर्दछन् । मिथिला नगरपालिकालाई २०७१ पुस २८ गते नगरपालिका घोषणा गरिएको थियो । यो नगरपालिकामा ११ ओटा वडा रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार यस नगरपालिकाको कूल जनसङ्ख्या ४८ हजार ६ सय ७६ जना रहेकोमा महिलाको जनसंख्या २४ हजार ३ सय ६२ र पुरुषको २४ हजार ३ सय १४ रहेको छ । यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबस रहेको छ । मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोसँग इन्सेक अनलाइनका मधेश प्रदेश सम्पादक मोहनकुमार चौधरीले गर्नु भएको कुराकानीको सम्पादित अंशः
मिथिला नगरपालिकामा युवा, महिला र सीमान्तकृत समुदायद्वारा सञ्चालित सङ्गठनहरूको क्रियाशीलता कस्तो छ ?
“मिथिला नगरपालिकामा युवा, महिला र सीमान्कृत समुदायका वडा र नगरस्तरीय सङ्गठनहरू तथा सञ्जालहरू सक्रिय छन् । जसमार्फत जनचेतनामुलक अभियान र सरसफाईका कार्यक्रम सञ्चालित छन् । ती सङ्गठनहरूले नगरपालिकासँग समन्वय गरी आफ्ना समुदायको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता जनाउने, नीति निर्माणमा आफ्नो विचार व्यक्त गर्ने, भेला र सङ्गठित हुने लगायतका गतिविधिहरू गर्ने गरेको मैले नियालीरहेको छु । एकअर्काका अधिकारहरूसँग उनीहरूको जीवनलाई असर गर्ने मुद्दाहरूको बारेमा वार्तालापमा संलग्न हुने र मौलिक स्वतन्त्रताको सम्मान गर्न गोष्ठि तथा सेमिनारहरूको माध्यमद्वारा जनचेतना फैलाउने क्रियाकलापहरू बढि हुने गर्दछन् । इन्सेक लगायतका अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको उपस्थितिले पनि यस्ता खालका सञ्जालहरू गठन गरेर उनीहरूको क्षमता अभिवृद्धि गरिरहेका कारण पनि उनीहरूको सञ्जाल मजबुत छ र निरन्तर स्थानिय सरकारलाई खबरदारी र सचेत गराउने कार्यहरू भइराखेका छन् ।
मिथिला नगरपालिकाले आफ्नो योजना तथा कार्यक्रमहरूमा युवा, महिला र सीमान्तकृत समुदायको सहभागिता र सक्रियता कस्तो छ ?
विगतको समयमा योजना तथा कार्यक्रमहरूमा युवा, महिला र सीमान्तकृत समुदायको सहभागिता र सक्रियता शून्यको अवस्थामा थियो तर, अहिले ति समुदायको सक्रियता बढेको छ । नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो, जहाँ युवा, महिला र सीमान्तकृत लगायत सबै समुदायहरूले नीति निर्माण, योजना तथा मौलिक हकसँग सम्बन्धित आफ्ना सवालहरू स्वतन्त्र रुपले व्यक्त गर्न सक्छन् । नगरपालिकाको योजना तथा कार्यक्रमहरू मा यी समुदायको सहभागिता र सक्रियतालाई बृद्धि गर्न नगर भित्र देखिएका हरेक प्रकारका (लैङ्गिक, आर्थिक, सामाजिक, राजनीतिक) असमानताहरूलाई पाखा लगाउँदै निर्णय प्रक्रिया, योजना र व्यवस्थापनमा समान अवसरहरू प्रदान गरी अर्थपूर्ण सहभागिता गराइ उनीहरूको क्षमता विकासमा योगदान पुर्याएर लोकतान्त्रिक समाजको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने नीति तथा कार्यक्रम ल्याउने जमर्को गरेका छौँ ।
युवा, महिला र सीमान्तकृत समुदायको सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने सन्दर्भमा नगरपालिकाले केकस्ता योजनाहरू बनाएको छ ?
युवा, महिला र सीमान्तकृत समुदायको सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने सन्दर्भमा नगरपालिकाले लैङ्गिक–संवेदनशीलता, प्रशिक्षण, नेतृत्वको मार्गहरूको सिर्जना, योजना तथा नीति निर्माणमा लक्षित समुदायको संलग्नता, योजना तथा नीति निर्माणमा समावेशीता, राजनीतिक वातावरण भेदभाव र हिंसाबाट मुक्त रहेको सुनिश्चितता गर्ने विषयमा हामी गम्भिर छौँ । यी समुदायहरूको सवाल तथा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थालाई प्राथमिकतामा राखी विभिन्न योजना तथा कार्यक्रमहरू ल्याई उनीहरूलाई जागरुक तथा सचेत र दक्ष नागरिक बनाउनका साथै सामन्जस्यपूर्ण सम्बन्ध निर्माण गर्न शुरु गरिएको छ । नगरस्तरीय तथा वडा स्तरमा ती समुदायका मानिसहरूको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम, जीवन उपयोगी सीप जस्तै माला, चप्पल, गुडिया, लोक सेवा र कम्प्युटर तालिम दिने कार्य गरिरहेका छौँ । त्यती मात्र नभई सङ्गठित भएर आएका युवा, महिला र सीमान्तकृत समुदायहरूको लागि हिउँदे अधिवेषणमा समेत संशोधन गरेर बजेट बिनियोजन गरिएको छ । उपलब्धीमूलक कार्यक्रम र अभियानहरू ग्र्न जुनसुकै समुदायले प्रस्ताव पेश गरेपनि हामीले उच्च प्राथमिकतामा ति विषयहरूलाई लिने गरेका छौँ ।
यो एक वर्षको अवधिमा यी समुदायहरूलाई लक्षित गरी के कस्ता कार्यहरू गर्नु भयो ?
नगर प्रमुख महेन्द्र महतोका अनुसार यो एक वर्षको अवधिमा युवा, महिला र सीमान्तकृत समुदायलाई लक्षित गरी लोक सेवा तयारी कक्षा, वैदेशिक रोजगारीका लागि जान चाहने तथा स्वदेशमा नै केही गर्न खोज्ने युवाहरूको लागि सीपमुलक तालिम जस्तै प्लम्बर, कम्प्युटर, साथै महिला र सिमान्कृतहरूलाई आर्थिक र सामाजिक दृष्टिकोणले आत्मनिर्भर बनाउन उनीहरूलाई चप्पल बनाउने, गुडिया बनाउने तालिमको व्यवस्था गरिएको थियो । स्वतन्त्र रुपले आफ्ना विचार तथा सवालहरू व्यक्त गर्न सक्ने क्षमता अधिवृद्धि तालिम, गोष्ठि तथा सेमिनारको समेत प्रवन्ध गर्ने गरेका छौँ । आगामी नीति तथा कार्यक्रममा युवा, महिला र सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखिएको छ ।
युवा लक्षित कार्यक्रमको प्रभावकारिता बृद्धिका लागि के कसरी योजना बनाउन सकिन्छ ?
युवा लक्षित कार्यक्रमको प्रभावकारिता बृद्धिको सन्दर्भमा कार्यक्रम र गतिविधिहरू युवाहरूसँग बसेर छलफल गरी, उनीहरूको बिचार तथा सवाललाई ध्यानमा राखेर विकास गर्नु पर्छ, किनभने युवाको संलग्नताले कार्यक्रमलाई प्रभावकारि बनाउनुको साथै युवाहरूलाई फाइदा पुर्याउन सक्छ । मिथिला नगरपालिकाका युवाहरू स्नातक तह अध्ययन गर्नका निम्ति जनकपुरधाम जानुपर्ने अथवा अन्य ठाउँ जानु पर्ने बाध्यता रहेकोले यस नगरभित्र वहुमूखी क्याम्पसको स्थापना गर्ने योजना बनाएका छौँ । यो नगरपालिका कृषिको लागि भौगोलिक तथा वातावरणको दृष्टिले उपयुक्त भएकाले यस क्षेत्रका युवा, महिला र सीमान्तकृत समुदायहरूलाई व्यवसायी कृषितर्फ आकर्षित गर्न बाख्रापालन, गाई पालन, भैसी पालन, मौसमी तरकारी खेतीको तालिम, आधुनिक उपकरणको व्यवस्था, सिंचाईको उचित व्यवस्था गर्ने योजना रहेको छ ।
सम्बन्धित अन्तरवार्ताहरू
पीडितमैत्री न्याय सम्पादन गर्न प्रतिबद्ध छौँ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचि छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…
मानव अधिकारमैत्री ढङ्गले न्याय सम्पादन भइरहेको छ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…
सामुदायिक विद्यालयलाई आर्थिक, भौतिक सबै सहयोगहरू उपलब्ध गराएका छौँ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…
भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानुपर्छ
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचि छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को…
सरकारको स्थायित्व र राजनीतिक स्थिरता नहुँदासम्म काम गर्न अप्ठ्यारो हुँदो रहेछ
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद…