अधिकार सुनिश्चितताका लागि प्रयासरत छौँ

आठ ओटा स्थानीय तह रहेको ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकाको जनसङ्ख्या २७ हजार ३ सय ५१ छ । यो नगरपालिकाको साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ । सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतसँग इन्सेक प्रतिनिधि सरस्वती बानियाले गर्नु भएको कुराकानीको सम्पादित अंशः
सिद्धिचरण नगरपालिका मानव अधिकारको अवस्था कस्तो छ ?
पहाडी जिल्ला ओखलढुङ्गामा विगत देखि नै हेर्दा मानव अधिकार उल्लङ्घनका घटना धेरै हुने गरेका थिए । सिद्धिचरण नगपालिकाको हकमा पनि त्यस्तै थियो । तर पछिल्लो समय मानव अधिकारको सवालमा केही सुधार आएको छ । जनप्रतिनिधि, प्रहरी, इन्सेक र विभिन्न सङ्घसंस्थाको पहलमा सचेतनाका कार्यक्रम भइरहँदा महिला र बालबालिकाका सवालमा सुधार आएको छ । विभेद र छुवाछुतलगायतका विषयमा विस्तारै परिर्वतन भएको छ ।
तपाईको मतलब मानव अधिकारको क्षेत्रमा सुधार ल्याउन गरिएका प्रयासहरू सार्थक भएका हुन् ?
अवश्य पनि । स्थानीय तह र सरोकारवाला निकायले गरेका प्रयासकै कारण आज नागरिकहरू मानव अधिकारप्रति सचेत भएका छन् । समुदायका नागरिकमा हिंसा, अपमान, अत्याचार सहेर बस्नु हुन्न भन्ने सोँचको विकास भएको छ । त्यसले गर्दा आफ्नो अधिकार प्राप्तिका लागि सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ भन्ने चेतनास्तर विकास भएको छ । यसरी हेर्दा मानव अधिकारको अवस्था यहाँ सुधारोन्मुख देखिन्छ ।
मानव अधिकार संरक्षण, सम्बर्द्धन र प्रवर्धनका लागि नगरपालिकाले के–कस्ता योजना बनाइ कार्यान्वयन गरेको छ ?
नागरिकहरू मानव अधिकारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले हामीले महिला, बालबालिका, वृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति, आदिवासी, जनजाति, दलित, विपन्न, एकल महिला लगायत पिछडा वर्गको उत्थानमा विभिन्न काम गरेका छौँ । उनीहरूमा सामाजिक सतेचना जगाउने, स्वरोजगारका कार्यक्रममा सहभागी गराएर आर्थिक अवस्था सबल बनाउने र पीडितहरूलाई सहज न्यायिक पहुँचको व्यवस्था गरेका छौँ ।
महिला हिंसा न्यूनीकरणका लागि नगरपालिकाले के–कस्ता पहल गरेको छ ?
महिला हिंसा न्यूनीकरणका लागि हामीले सचेतनामा विशेष जोड दिएका छौँ । पुरूषबाट महिलामा हुने हिंसा र महिला–महिला बिच हुने हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया, गोष्ठी र लैङ्गिक हिंसा विरुद्धका अभियानहरु गर्ने गरेका छौँ । त्यस्ता कार्यक्रम गरिरहँदा महिला हिंसा न्यूनीकरणमा धेरै नै टेवा पुगेको छ । सचेतनाका कार्यक्रमले हिंसामा परेका महिलाहरू न्यायका लागि आवाज उठाउने भएका छन् ।
स्थानीय सरकारलाई स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन गराउन पाउने अधिकार छ, यो सम्बन्धमा चाहिँ नगरपालिकाले के–के प्रयास गरेको छ ?
सिद्धिचरण नगरपालिकाले स्थानीय भूगोल, परिवेश, भाषा, संस्कृति र स्थानीय सरोकारका विषयलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरिरहेको छ । यही शैक्षिक सत्रबाटै लागु गरिनेछ । बालबालिकाले जान्न पाउने अधिकारको सुनिश्चित गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।
नगरभित्रका नागरिक आवास अधिकारबाट वञ्चित छन् कि छैनन् ?
अहिलेसम्म त्यस्तो गुनासो आएका छैनन् । तर पनि आवास अधिकारबाट कोही नागरिक वञ्चित छन् कि भनेर खोजी गर्ने कार्य भइरहेको छ । त्यस्ता नागरिक कोही भएमा सङ्घ र प्रदेशले पनि विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । नगरपालिकाले सहयोग र समन्वय गर्छ ।
स्वास्थ्य, वातावरण र विभेदको सवालमा के कस्तो काम भएका छन् ?
स्वास्थ्यको हकमा नगरपालिकाले नगरका नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिएको छ । सबै वडामा सञ्चालित स्वास्थ चौकीहरूबाट नागरिकले सहज रुपमा सेवा लिइरहेका छन् । स्वास्थ्य चौकी आउन पायक नपर्ने ठाउँका नागरिकको लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नजिकबाटै सेवा पाउने वातावरण सिर्जना गरेका छौँ । वातावरणीय स्वच्छताका लागि पनि हामी उत्तिकै सचेत र सक्रिय छौ । जहाँसम्म यहाँले विभेदको कुरा गर्नुभयो समुदायमा अझैपनि हरेक प्रकार विभेद छन् । नगरपालिका सामाजिक विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गरेर हरेक प्रकारका विभेद अन्त्य गर्न प्रयासरत छ ।
जिल्लमा इन्सेकले विभिन्न काम गरेको छ, इन्सेकका कामको प्रभाव कस्तो पाउनु भएको छ ?
जिल्ला र नगरपालिकामा इन्सेकको काम सहृाननीय छ । समुदायमा लुकेर रहेका मानव अधिकार उल्लङ्घनका घटना इन्सेकले आफ्नो बर्ष पुस्तकमार्फत उजागर गरेर बाहिर ल्याउने गरेको छ । जसले समुदायमा मानव अधिकारको अवस्था कस्तो छ र सुधारका लागि कस्तो योजना बनाउनुपर्छ भन्नेकुरामा हामी जस्तो जनप्रतिनिधि लगायत सरोकारवालाका लागि मार्ग निर्देशक बनेको छ । साथै इन्सेकले मानव अधिकार रक्षाका लागि आवाज उठाउने, खबरदारी गर्ने र विभिन्न सरोकारवालाबिच मानव अधिकारको अवस्थाबारे छलफल गरिरहँदा जिल्लामा इन्सेकको काम प्रभावकारी भएको पाएको छु ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको चरण रहिरहँदा नगरपालिकाले मानव अधिकारको सुनिश्चितताको लागि के योजना बनाएको छ ?
हामीले यस भन्दा अघि पनि मानव अधिकार सुनिश्चित गर्ने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थियौँ । आगामी आर्थिक वर्षमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी कार्यक्रमहरू ल्याउने तयारीमा छौँ ।
सम्बन्धित अन्तरवार्ताहरू
शिक्षा र स्वास्थ्यमार्फत मानव अधिकारमा जोड दिएका छौँ
कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका धार्मिक एवम् सांस्कृतिक विविधता रहेको पर्यटकिय हिसावले प्रचुर सम्भावना बोकेको जिल्ला हो । यस नगरपालिका पर्यटन प्रवर्धनका हिसावले विभिन्न धार्मिक पर्यटक स्थलहरूसँग जोडिएको छ । बाणगङ्गा…
मानव अधिकारमैत्री गाउँपालिका बनाउने अभियानमा छौँ
नौ ओटा स्थानीय तह रहेको कालिकोट जिल्लाका ६ ओटा गाउँपालिका मध्येको एक शुभकालिका गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसङ्ख्या महिला ८ हजार ५ सय १२ र…
मानव अधिकार रक्षाका लागि प्रतिवद्ध छौँ: केदार थापा
राष्ट्रिय जनगणना २०७८ अनुसार इलामको कूल साक्षरता दर ८३ दशमलव ३७ प्रतिशत छ । जसमा पुरूषको साक्षरता दर ८८ दशमलव ६६ प्रतिशत र महिलाको ७८ दशमलव १३ प्रतिशत छ ।…
सुकुम्वासी समस्या समाधान प्रमुख चुनौती हो
मोरङ्गको उर्लावारी नगरपालिका तीव्र शहरीकरण भइरहेको स्थानीय तह हो । दीर्घकालीन सोच “स्वच्छ, समृद्ध र समतामुलक उर्लावारी” नारासहित नगरपालिकाले मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादन गरिरहेको छ । ०७१…
मानव अधिकारको प्रत्याभूति हुने गरी कार्यक्रम तय गर्छौँ
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ०७३ सालमा ७ सय ५३ ओटा स्थानीय तह लागू गर्दा ताप्लेजुङ्ग जिल्लामा साविक सवादिन, खेजनिम, लिङखिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गाउँ विकास समितिलाई…