राष्ट्रिय जनगणनामा समावेश नहुने कायत समुदायको निर्णय

  ०७८ मङ्सिर १ गते

राज्यसँग आफ्नो समुदायको पहिचानको माग गर्दै लामो समय देखि ‘पहिचानको लडाइ’ लड्दै आएको बागलुङको कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेको छ ।

आफ्नो समुदायलाई राज्यले पहिचान नदिएर बेवास्था गरेको भन्दै राष्ट्रिय जनगणना ०७८ मा आफूहरू समावेश नहुने बागलुङको ढोरपाटन नगरपालिका–७ बोवाङ स्थित कायत समुदायले निर्णय गरेको हो ।

राज्यबाट आम नागरिकले प्राप्त गर्दै आएका सेवा सुविधाबाट आफूहरू  पहिचान विहिन बनेकै कारण वञ्चित हुनुपरेको उनीहरूको गुनासो रहेको छ ।

कायत समुदाय नेपालका १ सय २५ जातिहरूमा सूचिकृत नभएको साथै सूचिकृत हुन छुटेका जातिहरूको सूचीमा समेत समावेश छैनन् ।

उनीहरू किन सूचिकृत हुन सकेनन् र सूचिकृत हुन नसकेका जातिहरूमा समेत किन समावेश छैनन् भन्ने बारे हालसम्म सरकारको कुनै प्रतिक्रिया आएको छैन ।

जातीय आधारमा आदिवासी जनजाति, दलितलगायतको पहिचानका आधारमा सरकारले छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आएपनि आफ्नो समुदायलाई सरकारले हालसम्म कुनैपनि जातजातिमा सूचिकृत नगरेको र आफ्ना मागको सम्बोधन नगरेकै कारण जनगणनामा समावेश ननहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष निमबहादुर कायतले जानकारी दिनुभयो ।

“हामीलाई राज्यले बेवास्ता गर्‍यो, पटक–पटक नगरपालिका र जिल्ला प्रशासन कार्यालय, मानव अधिकारवादी सङ्घ संस्थामा पहिचानका विषयमा मुद्दा उठाएपनि सुनुवाई भएन, राज्यले हामीलाई बेवास्ता ग¥यो, त्यसैले राज्यको तथ्याङ्कमा समावेश नहुने निर्णय गरेका छौं”–निमबहादुर कायतले भन्नुभयो–“जातीय पहिचान नहुँदा हाम्रो समुदायलाई अध्ययन तथा रोजगारीमा समस्या हुँदै आएको छ ।’

नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी रहेको छ । तीन वर्ष अधि कायत समुदायको पहिचानको विषयमा सङ्घीय संसदमा समेत कुरा उठेपनि छलफल हुन सकेको थिएन ।

जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आएपनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारी समेत पाउन मुश्किल भएको स्थानीय विश्वास कायतले जानकारी दिनुभयो ।

विश्वास कायतले जनगणनामा मात्रै हैन आगमी दिनमा कायत समुदायले निर्वाचनका कुनैपनि कार्यक्रममा सहभागी नहुने अवस्थामा पुगको जानकारी दिनुभयो ।

'आगामी दिनमा जनगणना मात्रै हैन, निर्वाचनमा समेत मतदान नगर्ने कुरा भएको छ ।' –विश्वासले भन्नुभयो–'पहिचानको मुद्दा निरन्तर उठाइ रहेपनि कतैबाट सुनुवाइ नभएपछि यस्तो निर्णयमा पुगेका हौं ।' ढोरपाटनमा कायत समुदायका ८० घर रहेका छन् ।

उनीहरूले कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा राज्यले सूचिकृत गर्नुपर्ने बताउदै आएका छन् तर कतिपयले सेवा सुविधा र रोजगारीका लागि कायत समुदाय जनजाती त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन् ।

कतिपयले कायत समुदायलाई जनजातिभित्र रहेको भन्दै आएपनि उनीहरूको आफ्नै भाषा संस्कृति र उद्गमथलो नभएका कारण जनजाति भित्र नपर्ने बताउदै आइरहेका छन् ।

तीन वर्ष अघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचिकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडी बढाइएको भएपनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन् ।

नौ थर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिननसके कायत जस्ता नौथरभित्रका समुदाय समेत लोप हुने अवस्थामा रहेका छन् ।

कायतलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्माको भनाइ छ ।

जनगणनामा समावेश भएपछिमात्रै अधिकार पाइने भएकाले बहिस्कार गरेर समस्याको समाधान नहुने जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो ।

'अघिल्लो पटक कायातको सट्टा कायस्थ भएकाले जनगणनामा समावेश हुनुभएको रैनछ '–शर्माले भन्नुभयो– 'कायस्थ अर्कै जाती हो, कायत अर्कै हो, कायतलाई कायतनै दर्ता गराउने जिम्मा हाम्रो हो, तथ्याङ्कमा समावेश भएपछिमात्रै राज्यको अधिकार पाइन्छ ।'

तथ्याङ्क कार्यालय बागलुङको तथ्याङ्कमा राष्ट्रिय जनगणना २०६८ मा कायतको जनसंख्या १ सय २९ पुरूष र १ सय ६७ महिला गरी २ सय ९६ रहेको छ ।

यो सङ्ख्या ढोरपाटन नगरपालिकाको कुल जनसङ्ख्याको १ प्रतिशत मात्र हो ।

जनगणना बाहेक २०७६ सालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको सर्वेक्षण अनुसार उनीहरूको जनसङ्ख्या ४ सय १ रहेको छ । कायत जातिहरू को नेपालमै ढोरपाटन नगरपालिकामा मात्रै बसोबास रहेको छ ।

photo20211117Baglung (3)

 photo20211117Baglung (2)

photo20211117Baglung (1)


सिर्जना पन्त