अस्पतालद्वारा स्वास्थ्य बिमाको सेवा बन्द

  ०७८ असोज १ गते

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बिमाका सम्पूर्ण सेवा बन्द गर्दा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीहरू उपचार नलिई फर्किन बाध्य भएका छन् ।

सरकारले बिमाका बिरामीको लागि निशुल्क उपलब्ध गराउने औषधि खरिदको रकम नपठाएको भन्दै अस्पतालले बिमाका विरामीले पाउँदै आएको निशुल्क औषधि उपलब्ध गराउने सेवा ०७८ भदौ ३१ गतेदेखि बन्द गर्दा अस्पतालमा आएका विरामी मारमा परेका हुन् ।

अस्पतालले दैनिक १० लाख बराबरको बिमाको औषधि वितरण गर्ने गरेको तर सरकारले समयमै पैसा नपठाउँदा औषधि किन्न समस्या भएकोले बाध्य भएर सेवा बन्द गर्नु परेको अस्पतालका निर्देशक डाक्टर डिके रोशनले जानकारी दिनुभयो ।

सरकारसँग अस्पतालले बिमाको औषधि वापतको लिनु पर्ने रकम १० करोड पुगेको तर पटक÷पटक ताकेता गर्दा पनि रकम नपठाएपछि बाध्य भएर सेवा बन्द गर्नु परेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले बिमाको औषधि सप्लायर्सलाई ३ करोड भुक्तानी गर्न बाँकी भएको र  अस्पतालको अन्य श्रोतको पैसाल औषधि खरिदामा खर्च गर्दा कर्मचारी र स्वास्थ्यकर्मीको तलब भुक्तानीमा समस्या हुन थालेपछि औषधि खरिद गर्न नसक्ता त्यसको असर बिमाका बिरामीमा परेको डाक्टर रोशनले बताउनु भयो ।


रमेश गिरी