निसीखोलामा गणकको लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

  ०७८ मङ्सिर २ गते

निसीखोला गाउँपालिका–६ मा जनगणनाका लागि खटिएका गणकहरूले लापरवाही गरेको भन्दै पुनः गणना गर्न स्थानीयले माग गरेका छन् ।

कात्तिक ३० गते वडानम्बर ५ र ६ का वडाअध्यक्षसहितकोे सर्वदलीय बैठकलले जनगणनामा खटिएका गणकले क्रुटिपूर्ण गणना गरेको भन्दै जनप्रतिनिधिसँग कुनै पनि समन्वयन गरी त्रुटिपूर्ण गणना गरेको भन्दै सच्याएर पुनःगणना गर्न माग गरेका हुन् ।

वडानम्बर ६ को लुब्ली, सीप, हिसान, चुसिबाङ, तिग्रापानी लगायतका गाउँमा खटिएका गणकले गणना फर्म नभरी एक मुस्ट कापीमा डाटा सङ्कलन गरेको खुलेको छ ।

त्यस ठाउँमा गणकका रूपमा खटिएकी चमेली घर्ती मगरले कापीमा टिपेर पछिमात्रै फर्ममा तथ्याङ्क भर्ने गरेको स्वीकार्नु भयो ।

उहाँले सुपरिवेक्षक हिरामति घर्ती मगरले गाउँमा क्रमैसँग गणना गर्न भनेको र सोही अनुसार गर्दा घरहरूमा मान्छे नभेटिएपछि क्रम मिलाउनकालागि कापीमा टेपेर फर्ममा सारेको बताउनुभयो ।

photo20211118Baglung

‘हाम्रो सुपरिवेक्षक मेडमले क्रमसँग गणना गर्न भन्नुभएको थियो, गाउँमा मान्छेहरू नभेटिएपछि फर्मको पाना खाली रहने हुँदा क्रम मिलाउनका लागि कापीमा टिपेर फर्म भरेको हुँ । ’–गणक घर्तीले भन्नुभयो ।

कात्तिक २५, २६, २७ र २८ गतेसम्म उक्त क्षेत्रको २ सय २२ घरमा गणना गरेको उहाँले बताउनुभयो ।

केही नागरिकहरूले आफ्नो गणना गर्न छुटेको गुनासो गरेको भन्दै उनीहरूको पनि गणनागर्ने बताउनुभयो ।

गणकले यसरी छिटो सक्ने नाममा घर र बस्ती छुटाएपछि तथ्यपूर्ण गणना हुननसक्ने वडानम्बर ६ का विष्णु घर्ती मगरले बताउनुभयो ।

उहाँले आफ्नो घरमा गणक आएर कापीमा डाटा सङ्कलन गरेको र आफूले फर्ममा भर्न आग्रह गर्दा हतार भएको भन्दै कापीमा टिपेर गएको बताउनुभयो ।

उहाँले यसरी गणना गर्दा आफूहरूको पहिचान, भाषा, धर्म र संस्कृति जनगणनामा समावेश नहुने चिन्ता व्यक्त गर्नुभयो ।

‘गणकहरू आएर हतार–हतारमा कापीमा डाटा टिपर गए, मैले फर्ममा भर्ने होला नि भन्दा हतार छ, पछि फर्ममा भर्छौँ भन्दै गएका हुन् ।,’–घर्तीले भन्नुभयो– ‘यसरी त कहाँ सही गणना हुन्छ, यसले त हाम्रो भाषा, धर्म, संस्कृति र पहिचानलाई नै गुमानम बनाइदिन्छ, यस्तो पनि गणना हुन्छ ?, पुनःगणना हुनुपर्छ ।’

सुपरिवेक्षक हिरामति घर्ती मगरले तथ्याङ्क कार्यालयले त्यस क्षेत्रमा एक जना गणक खटाएको भएपनि गणकले मनमानी ढङ्गले अन्य चार जनालाई समेत लगाएर मान्छे भेटिएको घरमा गणना गरेको र नभेटिएको घरमा गणनानै नगरेको गुनासो आएको भन्दै छुटेका घरमा पुनःगणना गर्ने बताउनुभयो ।

‘मैले धेरै पटक भनेको हो उहाँहरूलाई राम्रोसँग गर्नु भनेर, तर उहाँहरूले छिटो–छिटो गर्दा घरहरू छुटाउनु भएको छ, छिटो–छिटो गर्दा सत्य तथ्य ल्याउनु सकिदैन भनेको थिए,’–घर्तीले भन्नुभयो– ‘उहाँहरूले त अहिले मेरो फोन पनि उठाउनु भएको छैन र सङ्कलन गरेको डाटाहरू पनि ल्याउनु भएको छैन ।’

बैठकमा सहभागी भएकाहरूले पुनःगणना गर्नको निम्ती सोही दिन गाउँपालिकामा निवेदन समेत दिएका छन् भने जिल्ला तथ्याङ्क कार्यालयमा मौखिक निवेदन दिएका छन् ।

जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद शर्माले त्यहाँ गणनामा खटिएकी चमेली घर्ती मगरले सङ्कलन गरेको फर्मलाई हेरेर त्रुटि पत्ता लगाएउने बताउनुभयो । त्रुटि फेला परे उक्त स्थानमा पुनःगणनागर्ने बताउनुभयो ।


सिर्जना पन्त