बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०८० वैशाख १९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ जिल्ला, याङवरक गाउँपालिका–५ का २० वर्षीय सचिन भनिने सचिन्द्र सेनेहाङलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० वैशाख १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिञ्जापतिले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७८ चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७८ चैत १० गते घरबाट गिरफ्तार गरी चैत २८ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश योगेन्द्रप्रसाद शाहको चैत २९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १० गते गरिएको थियो ।


सहमान विश्वकर्मा