विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै
१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष "महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्था नरहेको इन्सेकले जनाएको छ ।
इन्सेकले फागुन २५ गते अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएको जनाएको हो ।
इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूले फागुन २५ गते बिहान काठमाडौँमा र्याली निकालेका छन् ।

"बदलिँदो परिवेशमा कामकाजी महिला सन् २०३० सम्म बराबरी पाइला" भन्ने राष्ट्रिय नाराका साथ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मूल आयोजनामा भृकुटिमण्डपबाट निकालिएको र्याली भद्रकाली, सुन्धारा, न्यूरोड गेट हुदै शान्तिबाटिकामा पुगी सभामा परिणत भएको थियो ।
"महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने अन्तर्राष्ट्रिय नारका साथ र्यालीका सहभागीहरूले जुनकुनै प्रकारका महिला हिंसा अन्त्य गर भन्दै नारा लगाएका थिए ।

सभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलालाई नेतृत्व तहमा पुर्याएर मात्र नहुने भन्दै उनीहरूको सीप र रोजगारीसँगै पहुँच विस्तारमा पनि ध्यान दिइनुपर्ने बताए । उनले दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देशका विभिन्न ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम आजैबाट सञ्चालनमा आउने जानकारी दिए ।
महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरेले देशले महिला नेतृत्व मात्र पाएर नहुने भन्दै उनीहरूको आर्थिक, सामाजिक समानतामा पनि जोड दिइनुपर्ने बताइन् ।
१८ औँ शताब्दीमा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलालाई समान ज्याला, श्रमिक महिलाको अधिकार, काम गर्ने समयको निर्धारणलगायतको माग राख्दै आन्दोलन भएको थियो । उक्त आन्दोलनको साथै अन्य आन्दोलनहरूबाट प्राप्त उपलब्धिको साथ १९१० को मार्च ८ बाट कोपनहेगनमा जम्मा भएका १७ देशका श्रमिक महिलाले सुरूवात गरेको अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनीहरूप्रति शुभकामना व्यक्त गर्दै सुख, शान्ति समृद्धिका साथै प्रगतिको कामना गरेकी छन् । उनले विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरूषप्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरू शैक्षिक, सामाजिक एवम् आर्थिक रूपले पछि परेको भन्दै सबै महिलाको हक, अधिकार, समानता, सशक्तिकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा दिवसले मिलोस् भन्दै शुभकामना व्यक्त गरेकी हुन् ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इन्सेक, द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल, माइती नेपाललगायत सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा फागुन २५ गते महिलाका मुद्दामा सरोकारवाला निकायहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले महिलाका मुद्दाहरू दिवसमा मात्र नभएर निरन्तर रूपमा उठाउनुपर्ने धारणा राख्दै सङ्घीय कानुन नबनेका कारण व्यवहारमा केही समस्याहरू रहेको बताए । उनले द्वन्द्व पीडित महिलाहरूलाई सरकारी सेवा सुविधा प्रवाहमा प्राथमिकता दिन सकिने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संस्थागत सुद्धिकरण गर्न आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज पौडेलले महिलाहरूलाई थप सवल बनाउँदै लैजानुपर्ने धारणा राखे । महिला तथा बालबालिका कार्यालयका अधिकृत सुनिता केसीले लैङ्गिक हिंसा, बेचबिखन चुनौतीपूर्ण रहको बताइन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले महिला हिंसाका घटना दिन प्रतिदिन बढी रहेको बताउँदै द्वन्द्व पीडित महिलाहरूले न्याय पाउन नसकेको बताए ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार धनगढीमा बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला भन्ने मूल नाराका साथ इन्सेकलगायत विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा विविध कार्यक्रम गरिएको छ ।
धनगढीमा र्याली प्रदर्शन गरिएको थियो भने जिल्ला विकास समितिको हलमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी अधिकृत पूजा काफ्लेले कैलालीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको र हिंसा सहेर बस्ने प्रवृति अझसम्म कायम रहेको बताउँदै यसले अगामी दिनमा ठूला हिंसा निम्त्याउने सम्भावना रहेको बताइन् ।
महिलाहरूलाई सम्मान दिनुपर्छ भन्दै महिला हिंसाका घटनाहरू न्युनिकरण गर्नको लागि आवश्यक कदम चाल्न आफू सधैँ तत्पर रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
कार्यक्रमका सहभागीहरूले हालसम्म पनि महिलाका पक्षमा निर्माण गरिएका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोले सरोकारवाला पक्ष यस विषयमा गम्भीर हुनु पर्ने सुझाव दिएका थिए ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार महिला तथा बालबालिका कार्यालय दार्चुलाको आयोजनामा खलङ्गामा तथा ग्रामीण भेगहरूमा महिला सञ्जालहरूको अगुवाइमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
नारी दिवसको अवसरमा बोल्दै महिला विकास अधिकृत विष्णुमाया पौडेलले घरघरबाट विभिन्न प्रकारका हिंसा अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिइन् ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश दुर्गाबहादुर भुषालले महिला सशक्तिकरणको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए । प्राप्त अधिकारकालाई संस्थागत गर्न संविधान कार्यान्यन आवश्यक रहेको उनको भनाइ छ ।
इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार महिला तथा बालबालिका कार्यालयको आयोजनामा र्यालीसहित सभाको आयोजना गरिएको छ । स्थानीय भीमनारायण चोकबाट शुरू भएको र्यालीले बजारको विभिन्न भागको परिक्रमा गरी मदनचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्ने वक्ताहरूले महिला अधिकार सुनिश्चित गर्नका लागी हरेक क्षेत्रमा महिलाको समान सहभागिता हुनु आवश्यक रहेको बताएका छन् । उनीहरूले महिला सशक्तिकरणका लागि महिलाहरूको आयआर्जनमा बृद्धि हुनुपर्ने भन्दै सीपमुलक कार्यक्रमको खाँचो रहेको औँल्याए ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार इन्सेक, राष्ट्रिय मानव अधिकार आयोगलगायत अन्य सङ्घसंस्थाहरूले विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । पोखरामा प्रभातफेरी कार्यक्रम गरी जिल्ला विकाश समितिको सभाहलमा पुगेर सभा गरिएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यलय कास्की प्रमुख लक्ष्मी जिटीले महिलाहरू सक्षम हुँदाहुँदै पनि अवसर नपाएका कारण पछि परेको बताइन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले महिला तथा बालबालिकालाई हरेक क्षेत्रमा अग्रसर गराउनको लागि आफू संवेदनशील रहेको बताए ।
सांसद शारदा पौडेलले ५१ प्रतिशत महिला रहेको देशमा महिला सहभागिता अझै पनि न्यून रहेकोले यसलाइ बढाउन आवश्यक रहेको बताउँदै त्यसतर्फआफू गम्भीर रहेको बताइन् । सांसद सीता गिरीले समाजमा महिलाहरू आर्थिक रूपमा जबसम्म सक्षम हुँदैनन तबसम्म सामाजिक, सांस्कृतिक र राजनीतिक तथा अन्य अधिकारका क्षेत्रमा महिला पुरूष समानरूपमा अगाडि आउन नसक्ने बताइन् ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार सौडियार गाविसलाई लैङ्गिक हिंसा नियन्त्रित गाविस घोषणा गरिएको छ । विभिन्न १७ वटा सूचक पुरा गरेको गाविसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागुन २५ गते लैङ्गिक हिंसा नियन्त्रित गाविस घोषणा गरिएको गाविस सचिव टेकबहादुर खड्काले बताए । एक समारोहको आयोजना गरी स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले लैङ्गिक हिंसा नियन्त्रित गाविस घोषणा गरेका हुन् ।
इन्सेक सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार महिला हिंसाविरुद्धका प्ले कार्ड, व्यानर सहित र्यालि प्रदर्शन गरिएको छ । र्यालि पछि सहभागी महिलाहरूले सडक नाटकसमेत प्रदर्शन गरेका थिए ।
मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण महिला तथा बालवालिका कार्यालयले आयोजना गरेको कार्यक्रम भने स्थगित गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…