कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २४ गते)

जेठ २४ गते ३ हजार ३ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ९१ हजार ४ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २४ गते परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २४ गते १९ वर्ष मुनिका ४ सय ३६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार २ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ९७ हजार ९ सय ६० जना निको भएका छन् । जेठ २४ गते ६ हजार ९ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ८४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २४ गतेसम्म ७ हजार ९ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २४ गते ९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८५ हजार ५ सय ४४ देखाइएको छ ।

Corona Infographics 2078-02-24

मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २४ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमण तथा जोखिम नियन्त्रणका लागि वैशाख १८ गतेदेखि निषेध आदेश जारी गरेको मोरङ प्रशासनले निषेध आदेशको समय जेठ ३१ गतेसम्मका लागि पुन थप गरेको छ । छैटौँ पटक निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । यसअघि प्रशासनले थप गरेको निषेध आदेशको समय जेठ २४ गते सकिँदै छ । निषेध आदेशको समयमा दैनिक उपभोग्य वस्तु विक्री गर्ने पसलसँगै पुस्तक पसलहरू बिहान १० बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भएको छ ।

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार कोभिड–१९ को सङ्क्रमण तथा जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशको समय जेठ ३१ गतेसम्मका लागि पुनः थप गरेको छ । यसअघि थप गरिएको निषेध आदेशको समय जेठ २४ गते मध्यराति सकिने भएपछि पुनः थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भएको छ । दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री विक्री गर्ने पसलहरूलाई बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालनका लागि अनुमति दिइएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ को सङ्क्रमण तथा जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासनले निषेध आदेशको समय जेठ ३१ गते सम्मका लागि पुन थप गरेको छ ।  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ २४ गतेको बैठकले जेठ ३१ गतेसम्म निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भएको छ । निषेध आदेशको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने प्रशासनले जनाएको छ । दैनिक उपभोग्य वस्तु विक्री गर्ने पसलहरूलाई बिहान ९ बजेसम्म सञ्चालन अनुमति भएको प्रशासनले जनाएको छ ।

प्रदेश २

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड विशेष सङ्कट व्यवस्थापन केन्द्र धनुषाको जेठ २४ गते बसेको बैठकले जिल्लाभर जारी निषेध आदेशको समयावधि सात दिन थप गर्ने निर्णय गरेको छ । कोभिडको सङ्क्रमण दर घट्दै आएको भएपनि सङ्क्रमण फैलन सक्ने चुनौती रहेको ठहर गर्दै धनुषामा जारी निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले  बताउनु भयो । धनुषामा चैत २१ गतेदेखि निषेध आदेश जारी छ ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा असार ५ गतेसम्म निषेध आदेश लम्बिएको छ । सङ्क्रमणको दर, प्रवृत्ति, मृत्युदरको विश्लेषण सहितको आधारमा असार ५ गतेसम्म निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो । जेठ २४ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडलले निषेध आदेश जेठ २५ गतेदेखि असार ५ गतेसम्म थप गर्नुभएको हो । यसअघि जेठ २५ गते राति १२ बजेसम्मको लागि निषेध आदेश जारी भएको थियो ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा एक महिनादेखि जारी निषेध आदेश एक हप्ताको लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ २४ गते बसेको भर्जुअल बैठकले एक हप्ता निषेध आदेश थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जेठ २४ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ ३१ गतेसम्म निषेध आदेश थप्ने निर्णय गरेको हो । जिल्लामा कोभिड सङ्क्रमणको दर घट्दै आएको भएपनि छिमेकी जिल्ला पर्वत, बागलुङ तथा मुस्ताङमा थपिएको समयावधिलाई मध्यनजर गरी रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो । वैशाख २३ गतेदेखि म्याग्दीमा निषेध आदेश जारी भएको हो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा निषेध आदेशको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले जेठ २४ गते सूचना जारी गर्दै निषेध आदेशको अवधि जेठ २४ गते राति १२ बजेदेखि जेठ ३१ गते रातिसम्म थपेको जनजाएको छ ।

लुम्बिनी प्रदेश

बाँके जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको जेठ २४ गतेको बैठकले जारी निषेध आदेशलाई जेठ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको जेठ २३ गते बसेको बैठकले जेठ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो ।  यस अवधिमा बैङ्क र वित्तीय संस्थाहरू भने समय मिलाएर सञ्चालनमा आउने छन् ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जङ्गलमा फिरन्ते जीवन यापन गर्ने राउटे समुदायमा हालसम्म कोभिड सङ्क्रमण देखिएको छैन । गुर्भाकोट नगरपालिका–११ स्थित भेरी नदीको किनार जनैघाटमा बस्दै आएका राउटे बस्तीमा दैलेखको गुराँस गाउँपालिकाले जेठ १७ गते गरेको परीक्षणबाट उनीहरूमा सङ्क्रमण नदेखिएको हो । एकसाता अघि एकजना राउटे युवाको उच्च ज्वरोका कारण मृत्यु भएपछि कोभिडको आशङ्कामा १ सय ४५ जना राउटे मध्ये ११ जनाको ऐन्टिजेन परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको गुराँस गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक निराजन विष्टले बताउनु भयो । राउटे समुदायले अस्पतालमा उपचार नगर्ने तथा बिरामी हुँदा जडीबुटी मात्र प्रयोग गर्ने  र उनीहरूको बस्तिमा निषेध आदेशको कारण आवत–जावत बन्द हुँदा कोभिड सङ्क्रमणबाट जोगिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधी वाग्लेले बताउनु भयो ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जुम्ला कारागारमा रहेका एकजना कैदीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । ७७ वर्षीय पुरुष कैदीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा जेठ २४ गते मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डाक्टर रमेश भट्टराईले जेठ १५ गतेदेखि भर्ना भएका कैदी दुई दिनदेखि आइसीयूमा उपचाररत रहेका बताउनु भयो । उनलाई जेठ १५ गते अस्पतालमा भर्ना गरिएको थियो । कारागारभित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जना कैदीवन्दीमध्ये १५ जना पुरुषलाई सङ्क्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार अन्य सङ्क्रमितलाई लक्षण नदेखिएकोले कारागार भित्रै छुट्टै आइसोलेट गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका नौ ओटै स्थानीय तहहरूले औषधि सहित स्वास्थ्यकर्मीहरूलाई गाउँ–गाउँमा पठाएर सङ्क्रमितहरूको उपचार तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेका छन् । औषधि सहित स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिहरू नागरिकको सुरक्षाका लागि गाउँघरमा आउन थालेपछि स्थानीयहरूलाई स्वास्थ्य उपचारमा सहजता भएको जोरायल गाउँपालिका–५ गड्सेराका गगनसिंह चोखालले बताउनु भयो । जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तह अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरू गाउँघरमै पुगेर उपचार तथा स्थानीयहरूको एन्टिजीन परीक्षण गर्न सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय, डोटीका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताउनु भयो । पछिल्लो समय कोभिड महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीहरू गाउँघरमै गएर कोभिड लक्षण भएका व्यक्तिहरूको पहिचान गरी परीक्षण तथा उपचार कार्य सुरु गरिएको  जिल्ला अस्पताल, डोटीका सुपरिटेण्डेन्ट डाक्टर कृष्णराज जोशीले बताउनु भयो । समुदायमा कोभिड सङ्क्रमण दर न्यून गर्नका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानलाई तिव्रता दिइएको जिल्ला स्वास्थ्य संयोजक हरिश जोशीले बताउनु भयो । जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय पुगेको छ भने सात जनाको मृत्यु भइसकेको छ । भारतबाट घर आएका नागरिकहरुको सीमा क्षेत्रमा कोभिड परीक्षण नगरिएका कारण गाउँघरमा कोभिड सङ्क्रमण बढेको स्थानीयबासीले गुनासो गरेका छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २४ गतेसम्म ३ हजार २ सय ३५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २४ गते)


अनलाइन डेस्क