सामूहिक बलात्कार घटनाका आरोपित आठ जना गिरफ्तार

  ०७५ असोज १२ गते

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा आठ जनालाई गिरफ्तार गरेको र चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीलाई असोज ९ गते १२ जनाले समूहिक बलात्कार गरेको आरोपमा खाँडाचक्र नपा–१० का २० वर्षीय पर्व बिक, सोही ठाउँका १८ वर्षीय गोर्ख बिक, १८ वर्षीय सर्जन बिक सोही नपा–९ का २२ वर्षीय जीवन बिक, २० वर्षीय नवीन बिक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास बिक र २० वर्षीय हर्ष बिकलाई असोज ११ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरोज चौलागाईको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपितहरूलाई गिरफ्तार गरिएको हो ।

डिएसपी शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका आरोपितलाई नातागोताको घर र लेकाली क्षेत्रबाट गिरफ्तार गरिएको जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।

सामूहिक बलात्कारको कसुर ठहर भएमा मूलुकी अपराध सहिंता ०७४ परिच्छेद १८ दफा २१९ अनुसार १५ वर्ष कैद सजाय हुने व्यवस्था छ ।


कालीबहादुर मल्ल