विद्यार्थीलाई शारीरिक दण्ड तथा सजाय दिएको घटनाका आरोपित शिक्षक गिरफ्तार

  ०७५ फागुन १५ गते

त्रियुगा नगरपालिका-६ जलजलेको मेरीव्रुड इङलिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १६ बर्षीय बालक केशव थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका शिक्षक दिपक प्रधानलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।

कम्युटर विषयमा अध्यापन भइरहँदा बालकले भिडियो चलाएको विषयमा दुवै पक्षबिच भनाभन हुँदा आरोपितले कुटपिट गरेको इलाका प्रहरी कार्यालय जलजलेका सई नारायण प्रधानले जानकारी दिए । शिक्षकको कुटपिटबाट बिरामी परेका विद्यार्थीको जिल्ला अस्पतालमा उपचारपछि घर फर्काइएको छ ।

आरोपितविरूद्ध अभिभावकले फागुन १४ गते इलाका प्रहरी कार्यालय जलजलेमा उजुरी दिएपछि प्रहरीले प्रधानलाई गिरफ्तार गरेको सई प्रधानले बताए । शिक्षकको कुटपिटबाट बिरामी परेका बालकको शरीरको बिभिन्न अङ्गमा निलडाम देखिएको छ ।


भरत खड्का