वडा सदस्यद्वारा प्रधानाध्यापकसहित दुई जनालाई कुटपिट   

  ०७४ साउन १२ गते

रामारोशन गाउँपालिका-४ बाटुलासेन निवासी ४८ वर्षीया लोकराज न्यौपाने र सोही वार्ड निवासी ५२ वर्षीया तर्कराज न्यौपानेलाई सोही वार्ड निवासी वडा सदस्य ३२ वर्षीय नन्दराज उपाध्यायले साउन ११ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेपनि पछि छलफल गर्नेगरी दुवै पक्षको सहमतिमा छाडिएको पीडित लोकराजले जानकारी दिए ।

नन्दराज रामारोशन गाउँपालिका-४ मा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन् । मलामीबाट बेलुकी ४ बजेतिर फर्किरहेका बेला आरोपितले गरेको कुटपिटका कारण लोकराजको टाउको, मुख, नाक र दाँतमा चोट लागेर उपचारका लागि नेपालगञ्ज लगिएको छ । तर्कराज भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किसकेका छन् । लोकराज सरस्वती माविका प्रधानाध्यापक हुन् भने तर्कराज एमाले कार्यकर्ता हुन् ।


शिवराज ढुङ्गाना