बौद्धिक अपाङ्गता भएका बालक सात वर्षदेखि साङ्लोमा

  मोरङ । ०७५ साउन १६ गते 

बौद्धिक अपाङ्गता भएका नौ वर्षीय बालक सात वर्षदेखि डोरीले बाँधेर चिसो भुइँमा बस्न बाध्य भएका छन् । विराटनगर महानगरपालिका–५ का अर्जुन कालाखेतीलाई अभिभावकले सात वर्षदेखि डोरीले बाँधेर राख्ने गरेका हुन् ।

फोहोर खाने तथा बाहिर निस्किएर भुइँमा लड्ने हुनाले बाँधेर राख्ने गरेको बताउँदै आमा कमलाले भनिन्–‘अरूको घरमा गएर काम गरेर जिविका चलाउनुपर्ने बाध्यता छ । नत्र दैनिकी चलाउनै समस्या छ ।’

खाट मुनी राखिएको काठमा उनलाई बाँधेर राख्ने गरिएको पाइएको छ । दिनभर चिसो भुइँमै लडीबुडी गर्दै बस्ने अर्जुनको दिसा र पिसाव पनि त्यहीँ हुन्छ । ढोकामा ताला लगाएर काममा गएर फर्किपछि अर्जुन दिसा खाइरहेका हुने गरेको कमलाको भनाई छ ।

‘राति भने त्यही काठमा ओछ्यान लगाएर सुताउने गरिएको छ । दिसापिसाव एकै ठाउँ हुने गरेका कारण ओछ्यानमा सुताउन सकेनौँ । दिसा गरिसकेपछि खाने हुँदा सबैभन्दा बढी समस्या भएको छ ।’–आमा कमलाले भनिन् ।

काम नगरे घरमा खाने चामल समेत जुटाउन सक्ने अवस्था नभएकाले छोराको स्याहार गरेर बस्ने समय नहुँदा बाँधेर हिँड्नु परेको कमलाले बताइन् । अर्जुनका सात वर्षीय भाइ पनि छन् ।  दिनभर काम गरेर जसोतसो चार जनाको परिवारको हातमुख जोड्दै आएका उनीहरूको परिवारमा पति राजेन्द्रको एक महिना अगाडि क्यान्सरबाट मृत्यु भएपछि विजोग भएको छ ।

घरमा न त खाने चामल छ नत पकाउने ग्यास नै ! छिमेकीले दिएको खानाले दुई दिनदेखि छोराहरूको पेट भर्दै आएकी कमलाले भनिन्—‘बुढा पनि बित्नु भयो । मसँग न त काम छ नत छोराहरूलाई खुवाउने सामल नै !’

अर्काको घरमा भाडामा बस्दै आएका उनीहरूलाई अर्जुनको अपाङ्गता परिचय पत्र बनाएर आएको भत्ताले केही राहत हुने गरेको छ । छोराको अवस्थाले आपूm काममा जान पनि नपाउने, काममा गए छोराको विजोग भएपछि कमलाले कुनै सङ्घसस्थाले छोरा लगेर संरक्षण गरिदिए हुने आशा राखेको बताइन् ।

आर्थिक अवस्था कमजोर भएर कान्छो छोरा पनि विद्यालय पठाउन छोडेको उनको भनाई छ । स्थानीय प्रभा कोइरालाले मनकारीहरूसँग सहयोग जुटाउन सुरू गरेको बताइन् । बाल अधिकारको क्षेत्रमा काम गर्ने सिविन विराटनगरका बासु अधिकारीले संस्थाले सहयागको पहल गर्ने बताए ।


इन्दिरा भट्टराई