बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया र १८ वर्षीया दुई युवतीलाई छुट्टाछुट्टै स्थानमा बलात्कार गरेको आरोपमा प्रहरीले सो घटनाका आरोपितलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरीका ३६ वर्षीय चोपेन्द्र कार्कीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले गिरफ्तार गरेको जनाएको छ । यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितका ४३ वर्षीय बावुलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका सई सुरेन्द्र पन्तले बताए ।

दुवै घटनाका पीडितले जेठ २० गते घटना भएको भन्दै जेठ २१ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जेठ २१ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।