बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७४ चैत ६ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैत ६ गते बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजिव ठाकुरविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले गत फागुन २० गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो ।

पीडित बालिकालाई आरोपितले घटना सार्वजनिक नगर्न दबाव दिएको भएपनि बाल क्लबका सदस्यमार्फत कुरा आएपछि न्यायका लागि उजुरी दिएको बाल अधिकारको क्षेत्रमा काम गर्ने सिविन विराटनगरका बासु अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ । आरोपितको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।


इन्दिरा भट्टराई