दुई सवारी साधनमा आगजनी

अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनको विरोध स्वरूप आहृवान गरेको नेपाल बन्दको क्रममा पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका-१ स्थित बेलभञ्ज्याङमा डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना ३ ख ९११६ नम्बरको ट्रकमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

बिहान सवा ५ बजे ट्रक चालक र सहचालकलाई आरोली सो समूहले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकमा पुर्णरूपमा क्षति पुगेको छ । आगजनी भएपछि दमौलीबाट दमकल ल्याएर आगो निभाईएको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले जानकारी दिए ।

यसैगरि रिसिङ गाउँपालिका-६ चालिसेमा रोकी राखेको ना ३ ख ३५२५ नम्बरको बसमा पनि बिहान १ बजेतिर अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट बसमा पनि पुर्णरूपमा क्षती पुगेको छ । दुवै घटनामा संलग्नहरूको पहिचान नभएको र खोजी जारी रहेको एसपी जोशीले बताए ।

यसैबीच, दमौली बजारका दुई स्थानमा राखिएका शंकास्पद वस्तु नेपाली सेनाले शनिवार निस्क्रिय पारेको छ । पृथ्वी राजमार्गको भोर्लेटार चोक र व्यास नपा-२ मा रहेको जिल्ला सरकारी वकिल कार्यालय परिसरमा राखिएको शंकास्पद वस्तु शनिवार विहान सेनाले निस्क्रिय पारेको हो । कालो प्लाष्टिकमा बेरेर राखिएका ति वस्तु कुनै विस्फोटक पदार्थ नभएको र आतंक फैलाउन राखिएको एसपी जोशीको भनाई छ ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी तनहुँका सचिव गोकुल पराजुलीले सवारी साधनमा भएको आगजनीमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन् । पराजुलीले इन्सेक प्रतिनिधिसँग टेलीफोनमा कुरा गर्दै दुवै आगजनी र शंकास्पद वस्तु राखिएको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरे । उनले स्थानीय निर्वाचनलाई शान्तिपुर्ण रूपमा असफल पार्ने पार्टीको नीति रहेको भए पनि राज्यको तर्फबाट आफ्नो पार्टीका कार्यकर्ताहरूलाई जबरजस्ती पक्राउ गर्ने र झुटा मुद्धा लगाउने कार्य भईरहेको गुनासो गरे ।


प्रकाशचन्द्र भट्टराई