टीकापुर घटनाको फैसलाः रेशम चौधरी लगायत ११ जनालार्ई जन्मकैद

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई फागुन २२ गते जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।
सोही घटनाका अर्का आरोपित लक्ष्मण थारूलगायत १२ जनालाई भने तीन वर्ष कैद सजाय सुनाएको छ । उनीहरू पुर्पक्षका लागि तीन वर्षदेखि जेलमा नै राखिएकोले आजै रिहा गरिने भएको छ । यसैगरी सोही घटनाका अआरोपित अन्य तीन जनालाई जिल्ला अदालत, कैलालीले सफाई दिएको छ ।
जन्म कैदको सजाय सुनाइएकाहरूमा रेशम चौधरी, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सीताराम चौधरी (विद्रोह), श्रवण चौधरी र गङ्गारमक डगौरा चौधरी छन् ।
उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलमा उल्लेख भए अनुसार जन्दकैदको सजाय सुनाइएको हो । उनीहरूमध्ये श्रवण नाबालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ को ३० अनुसार १० वर्ष मात्र कैद फैसाला गरेको छ ।
यसैगरी जिल्ला अदालत, कैलालीले लक्षण थारू, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, लाहुराम चौधरी, रामकुमार कठरिया, किशानलाल चौधरी, दिलबहादुर चौधरी, सङ्गम भन्ने सन्तोष थारू चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई तीन वर्षकोे सजाय सुनाइएको हो । तीन वर्ष सजाय सुनायकामध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्कीराम चैधरी ३० गते थुनामुक्त हुनेछन् ।
अदालतले नरूल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीलाई भने सफाइ दिएको छ ।
प्रतिवादीहरूको तर्फबाट बहस गर्ने कानुन व्यवसायी गङ्गाराम पाध्यले अदालतले गरेको फैसलालाई सबैले स्वीकार गर्नु पर्ने र फैसलामा चित्त नबुझेको हकमा उच्च अदालतमा जान सकिने कानुनी अधिकार रहेको बताए ।

यसैगरी प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी गम्भिरसिंह ऐरले अदालतको फैसला चित्त नबुझ्ने वादी प्रतिवादीहरूको उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म पुनरावेदन गर्ने कानुनी अधिकार रहेको बताए ।
थरूहट आन्दोलनको क्रममा ०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिचको दोहोरो झडपमा परी एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्यमा विजय भएका रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको  थियो । उनीहरू विरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाइएको थियो ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी