घरेलु हिंसापीडितद्वारा इन्सेककर्मीसँग सहयोगको याचना, आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरा जेनिस लम्साललाई आगो लगाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले बिमलाका २५ वर्षीय पति गणेश लम्साललाई भदौ ३ गते बिहान गिरफ्तार गरेको छ ।

पीडित आमाछोरालाई आरोपितले भदौ २ गते राति मदिरा सेवन गरी आएर झगडा गरी घरको धन्सारमा भित्रबाट चुकुल लगाई रङ लगाउन प्रयोग हुने तारपिन तेल दुबै जनामाथि खन्याएर आगो लागाई ज्यान मार्ने प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी रुपक खड्काले बताए ।

Photo20190820Dhading

छोरालाई बोकेर झ्यालबाट हामफालेर ज्यान जोगाएकी बिमलाले आफू र बच्चाको ज्यानको सुरक्षा र आरोपित पतिलाई हदैसम्मको कानुनी कारवाहीका लागि सहयोग गरिदिन इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारी सहित मानव अधिकारकर्मीहरूसँग आग्रह गरेकी छिन् ।

घाइते भएका आमा छोरा दुवैलाई गाउँबासीले उद्धार गरी उपचारका लागि भदौ ३ गते जिल्ला अस्पतालमा ल्याएका थिए ।

पीडित बिमलाको घाँटी, अनुहार, देब्रे हात, देब्रे गोडामा र छातीमा गहिरोसँग पोलेको छ । १५ महिनाको बालकको पेट, ढाड, देब्रे हात र देब्रे गोडामा पोलेको छ ।

आमा छेरा दुवैजना गम्भीर घाइते भएका कारण सामान्य उपचारपछि थप उपचारका लागि भदौ ३ गते नै शिक्षण अस्पताल काठमाडौँ पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए ।


सीताराम अधिकारी