कोरोना भाइरस सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १२ गते)

नेपालमा कोरोनाका (कोभिड १९) कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने १ सय ११ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ६ सय ८२ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते देशवासीका नाममा सम्बोधन गर्दै कोरोनालाई परास्त गर्न उच्च मनोबलको आवश्इकता रहने बताउनु भयो । ‘औषधि र अस्पताल नभएको बेलामा समेत अनेकन महामारी सामना गरेर मानव जाति यहाँसम्म आएको छ ।’–प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नु भयो–‘चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौँ ।’

प्रदेश १

प्रदेश १ सरकारले पीसीआर परीक्षणमा तीव्रता दिएको छ । जेठ १२ गते ७ सय १५ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना भाइरसका शङ्कास्पद १ सय २७ जना महिला र ५ सय ८८ जना पुरुषको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा जेठ १२ गतेसम्म ५ हजार २ सय ४२ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये ८७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका १ हजार ३ सय २९ जना महिला र ३ हजार ३ सय ८२ जना पुरुष गरी ४ हजार ७ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका ४ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ अन्तर्गत धनुषामा तीन, बारामा २३, रौतहटमा २६ र सप्तरीमा २ गरी ५२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा जेठ १२ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ८ हजार ६ सय १४ जनाको स्वाब सङ्कलन गरिएकोमा ६ हजार ४ सय २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ३३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो । १ हजार ९ सय ५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश सरकारले खरिद गरी ल्याइएको कोरोना भाइरसको सङ्क्रमण चेकजाँच गर्ने पीसीआर मेसिन जनकपुरमा जेठ १२ गतेदेखि सञ्चालनमा ल्याइएको छ । गत चैत २१ गतेदेखि सुरु भएको पीसीआर मेसिनले गलत रिपोर्ट दिएको भन्दै बन्द गरिएको थियो । दोस्रो पटक वैशाख २३ गतेदेखि नयाँ पोर्टेवल पीसीआर मेसिनबाट परीक्षण सुरु गरिएको जनकपुरमा पुनः गलत रिपोर्ट दिएको भन्दै जेठ ५ गतेदेखि बन्द गरिएको थियो । जेठ १२ गतेदेखि रियल टाइम पीसीआर मेसिनबाट पुनः तेस्रो पटक चेकजाँच सुरु गरिएको छ । यो मेशिनले एकैपटकमा चार घण्टामा ९६ ओटासम्म रिपोर्ट दिनेछ । एक दिनमा तीन पटक गरी २ सय ७५ जनाको स्वाब परीक्षण हुनेछ ।

बागमती प्रदेश

हेटौँडा उपमहानगरपालिका–४ मा रहेको कोरोना आइसोलेशन वार्ड भरिएको छ । भारतबाट आएका ४० जना भर्ना भएपछि अहिले आइसोलेशन वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको वार्डका संयोजक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेर गल्ती सच्याउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पत्र लेखेर काभ्रे जिल्लामा हालसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नदेखिएको भन्दै मन्त्रालयको वितरण सच्याउन आग्रह गर्नुभएको हो । मन्त्रालयले जेठ ३ गते सार्वजनिक गरेको विवरणमा काभ्रेमा पनि एक जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ १२ गतेसम्म २ हजार ४४ जनाको स्वाब परीक्षण गरिएको छ । २ हजार ११ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २९ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा जेठ १२ गतेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १२ गतेसम्म प्रदेश ५ मा १६ हजार २ सय १५ जनाको आरडीटी विधिबाट परीक्षण गरीएको छ । २० हजार ४ सय ६३ जना क्वारेण्टाइनमा रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा रहेकाहरूको सङ्ख्या २ सय ५६ रहेको छ । हालसम्म निको भएर ३४ जना घर फर्केका छन् । दुई जनाको मृत्यु भएको छ । प्रदेश ५ का सात जिल्लामा २ सय ९२ जना सङ्क्रमित रहेका छन् ।

बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखेपछि अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा स्थगित गरिएको छ । गुलरिया नपा–१ खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेण्टाइनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि बर्दिया अस्पतालको आइसोलेशन वार्डमा लगिएको छ । नवलपरासी पश्चिमको रामग्रामका दुई जनामा कोरोना सङ्क्रमितलाई तीन दिनमा बल्ल आइसोलेशन सेन्टरमा पु¥याइएको छ । प्रदेश सरकारले बनाएको कारोना विशेष अस्पतालमा बेड नभएपछि उनीहरूलाई आर्दश मावि परासीमा रहेको क्वारेण्टाइनमा राखिएको थियो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशस्तरीय विपत् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट नेपाल आउने नेपालीहरूलाई सीमा नाकामै परीक्षण गरी सङ्क्रमण नदेखिएकाहरूलाई मात्र आफ्नो प्रदेश तथा जिल्ला पठाउने व्यवस्था गर्न सङ्घीय सरकारलाई अनुरोध गर्नेलगायतको १० बुँदे निर्णय पारित गरेको छ ।

भारतबाट आएका दैलेख जिल्ला गुराँस गाउँपालिका–१ का २४ वर्षीय एक जना र सोही गाउँपालिका–४ का २५ वर्षीय एक जना गरी दुई जना पुरुषमा जेठ १२ गते कोरोना पुष्टि भएको छ । दुवै जनालाई रानीमत्ता क्वारेण्टाइनमा राखिएको छ भने उपचारका लागि आइसोलेशनमा राख्न कोरोना प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको छ । योसँगै दैलेख जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ ।

सल्यान जिल्लाको बागचौर नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेका ५३ वर्षीय पुरुषमा आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँसहित जिल्लाका ६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जेठ १२ गते सुर्खेत पठाउने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा ५० शैयाको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ । यसैगरी, सङ्घीय सरकारले नेपाली सेनाको स्काई ट्रकमार्फत सुदूरपश्चिम प्रदेशका लागि आरडीटी किट र भिटिएमलगायतका स्वास्थ्य सामग्री पठाएको छ ।

कञ्चनपुर जिल्ला सुरक्षा समितिको जेठ ११ गते बसेको बैठकले विभिन्न सीमा नाकाबाट नेपालीहरू लुकिछिपी जथाभावी भित्रिन थालेपछि कोरोना जोखिम बढेको भन्दै गड्डाचौकी नाकाबाट व्यवस्थित ढङ्गले भित्र्याउने निर्णयअनुरूप स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी नाकामा प्रवेश खुला गरेको छ । नाका खुला गरेपछि करिब १ हजार नेपाली जिल्ला प्रवेश गरिसकेका छन् । साथै, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेक सबै सेवा बन्द गरेको छ ।


अनलाइन डेस्क