कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २४ गते)

भदौ २४ गते १ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४९ हजार २ सय १२ पुगेको छ । गत २४ घण्टामा ११ हजार १ सय ६७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २४ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३३ हजार ८ सय ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २४ गते ९ सय १८ जना डिस्चार्ज भएका छन् भने निको दर ६८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार २५ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरसको कारण देखाएर उपचार नगर्ने विराटनगरका अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना बाहेकका बिरामीले उपचार पाउन नसकेर मृत्यु भएका घटनाहरू बढेपछि जिल्ला प्रशासन कार्यालयले उपचारका लागि ल्याइएका बिरामीलाई उपचारको वातावरण बनाउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यो वा त्यो बहानामा उपचार नगर्ने छुट अस्पताललाई नभएको भन्दै उपचारमा आनाकानी गर्नेले कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी दिनु भएको छ । अस्पतालले मनपरी गरिरहँदा सर्वसाधारणले दुःख पाउने र अकालमा ज्यान गुमाउनु परेको भन्दै प्रजिअ निरौलाले सबैलाई बिरामीको स्वास्थ्य उपचार सम्बन्धी कानुनका बारेमा सम्झाइ सकेको बताउनु भयो । जनस्वास्थ्य ऐन २०७५ मा स्वास्थ्य उपचारमा नियमित, सहज, सर्वसुलभ, प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँच स्थापित गर्ने कुरा उल्लेख छ । ऐनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुरक्षित गरेको बताउँदै प्रजिअ निरौलाले उपचारमा आनाकानी गर्नेमाथि ऐनअनुसार कारबाही गर्नुको विकल्प नरहने बताउनु भयो । कोरोना संक्रमितबाहेक पनि स्वास्थ्य सम्बन्धी अरु समस्या भएका बिरामीलाई तत्काल उपचारको प्रबन्ध गर्न उच्च अदालत विराटनगरलेसमेत भदौ ८ गते अन्तरिम आदेश दिइसकेको छ । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले प्रदेश १ सरकार, विराटनगर महानगरपालिका,  अस्पताल लगायतका सरोकारवाला निकायका नाममा आदेश जारी गरेको थियो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय भदौ मसान्तसम्मका लागि बन्द गरिएको छ । भदौ २४ गते बसेको बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै कार्यालय बन्द गर्ने निर्णय गरेको वडा–९ का वडाध्यक्ष छविलाल पाठकले बताउनु भयो । भदौ २३ गते नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार षडानन्द नगरपालिकामा दुई जना महिला र तीन जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरी सचेत गराएको छ । विपद् व्यवस्थापन समितिको भदौ २४ गतेको बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भन्दै दिङला बजार एकसाताका लागि सील गर्ने निर्णय भएको नगरपालिकाका मेयर वीरवल राईले बताउनु भयो । भदौ २५ गतेदेखि १३ ओटै वडाहरूको काम काज बन्द गरिएको छ । नगरपालिकाको पनि अति आवश्यकीय काम बाहेक सबै सेवा बन्द गराएको मेयर राईले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ २४ गते काठमाडौँमा ३ सय ९६, मकवानपुरमा ५१, भक्तपुरमा ४१, काभ्रेपलान्चोकमा ३५, ललितपुरमा ३४, चितवनमा २१, धादिङमा पाँच, रामेछाप र सिन्धुपाल्चोकमा तीन/तीन, दोलखमा दुई र नुवाकोटमा एक जना गरी ५ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १२ हजार ५ सय १५ जना पुगेको छ । जसमध्ये ५ हजार ९७ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ३ सय २८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँमा एक जना महिला र एक जना पुरुष गरी थप दुई जनाको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या ९० जना पुगेको छ ।

यसैबिच काठमाडौँ,  भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको भदौ २४ गते बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको छ । जसअनुसार भदौ २५ गतेदेखि भदौ ३१ गते राति १२ बजेसम्म लागु हुने गरी सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र कलकारखाना खोल्न तथा व्यापार व्यवसाय गर्ने पाइने छ । तर,  भिडभाड हुने तथा प्रत्यक्ष एक अर्काबीच सम्पर्क हुने कार्य जस्तै भेला हुन, गोष्ठी गर्न, जुलुस गर्न, जात्रा, महोत्सवमा सहभागी हुन, कलकारखाना र व्यवसायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन । यसअघि उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ २ गते बसेको संयुक्त बैठकले भदौ ३ गतेदेखि पहिलोपटक उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सोही निर्णयलाई कार्यान्वयन गर्दै भदौ १० र भदौ १७ गते एकएक हप्ता निषेधाज्ञा थप गरी भदौ २४ गते राति १२ बजेसम्मलाई कायम गरिएको थियो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँको भानु नगरपालिकामा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञा भदौ २४ गते राति १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञालाई भदौ ३१ गते मसान्तसम्म लम्ब्याइएको बताउनु भयो । नगरपालिकाबाट निषेधाज्ञा थप्न सिफारिस आएकाले एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको आचार्यले बताउनु भयो । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भानु नगरपालिकामा पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म र दोस्रो पटक भदौ १५ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । भानु नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रहरूमा कन्ट्रयाक्ट ट्रेसिङमा परेका र शङ्का लागेका सम्पूर्ण नागरिकहरूले पीसीआर परीक्षण गर्नका लागि नगरपालिकामा समन्वय गर्न आग्रह गरेको छ । नगरप्रमुख उदयराज गौलीले निषेधाज्ञाका कारणले जनमानसमा परेको असुविधाप्रति नगरपालिका संवेदनीशल रहेको बताउनु भयो ।

प्रदेश ५

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट कपिलवस्तुमा ६२ वर्षीय एक जना पत्रकारको भदौ २२ गते मृत्यु भएको छ । मृगौलाको समस्या, सुगर र उच्च रक्तचापका बिरामी समेत रहेका पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । मृतकको मृत्युपछि स्वाब सङ्कलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको हो । दीर्घ रोगबाट पीडित पत्रकारको २२ गते दिउँसो श्वास/प्रश्वासमा समस्या आएपछि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो । परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेकोमा अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियो । मृतकले भैरहवा युनिभर्सल मेडिकल कलेजमा किड्नीको डायलोइसिस गर्दै आएका थिए । लामो समय नेपाल टेलिभिजनमा कपिलवस्तु सम्वाददाताका रुपमा काम गर्दै आएका उनी नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । मृतकका एक छोरा र बुहारीमासमेत कोरोना पुष्टि भएपछि आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।


अनलाइन डेस्क