कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २३ गते)
भदौ २३ गते ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ । गत २४ घण्टामा १० हजार ६ सय ११ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २३ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ६ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३२ हजार ९ सय ६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २३ गते २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् भने निको दर ६८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १४ हजार ८ सय ६८ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ । ज्वरो आउने लगायत कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपछि भदौ २२ गते स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । भदौ २३ गते कोरोना भाइरसको सङक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलले बताउनु भयो । प्रदेश १ मा भदौ २३ गतेसम्म ३ सय ५५ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २ सय २० जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा खुकुलो प्रावधानसहित भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरी भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, होटल, शैलुन, हाटबजार र सभा समारोहमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज हुने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार फाकफोक्थुम गाउँपालिका- २ खाम्बाङका एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरी सचेत गराएको छ । गाउँपालिकाले वडा नम्बर- १ र २ का देउराली बजार दक्षिण, पुरानो पञ्चमी बजार महाभारा पाँचथर सिमाना, घुर्बिसे पञ्चमी बजार, पचेवा खोला उत्तर, फलाटे फाकफोक खोला पञ्चिमसम्मका धार्नेर्खोप साविक फाकफोक वडा-२, ३, ४, ५ र ६ का क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार व्यवसाय र नागरिकको जनजीवन प्रभावित भएको व्यापक गुनासो बढेपछि भदौ २३ गते दिउँसो २ बजेसम्म बजार पसल खुल्ला राख्ने निर्णय गरिएको छ । व्यवसायीहरूको माग अनुसार दिउँसो २ बजेसम्म बजार खुल्ला रहने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको भदौ २३ गतेको बैठकले २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय गरेको हो । बजार खुल्ला रहे पनि सैलुन, व्युटिपार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निर्णय गरिएको छ । फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार लगाउन पनि नपाउने गरी सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रूपमा प्रयोग गरी प्रादेशिक अस्पताल जनकपुरबाट जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विभागीय प्रमुखहरूलाई आग्रह गर्नु भयो । भदौ २३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अस्पतालका प्रमुखहरूसँग छलफल गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारी चुनौती रहेपनि यसलाई अवसरको रूपमा प्रयोग गर्न सकिने गरी उच्च मनोवलका साथ जनतालाई सेवा दिन आग्रह गर्नु भएको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताउनु भयो । प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश २ का जनताका लागि विभिन्न अस्पतालहरूको भौतिक सुविधादेखि अन्य सम्पूर्ण सुविधाका लागि प्रयासरत रहेपनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएकोले त्यही अनुरुप प्रदेश सरकार अघि बढ्नु पर्नेमा सहभागीहरूले सुझाव दिएको प्रादेशिक अस्पताल जनकपुरका प्रमुख मेडिकल सुपरिटेडेन्ट डाक्टर नागेन्द्र यादवले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमित महागढीमाई नपा-१० गञ्जभवानीपुरका ६० वर्षीय पुरुषको पर्साको बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा भदौ २२ गते मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनु भयो । भदौ १४ गते अस्पतालले कोरोना परीक्षण गर्दा पोजेटिभ रहेको र लामो समयदेखि सुगर, रुघाखोकी, ज्वरो र स्वाश-प्रश्वासको समस्या रहेको डाक्टर चौरसीयाले बताउनु भयो । नेपाली सेनाको टोलीले पसाहा खोलामा शव व्यवस्थापन गर्न परिवारका सदस्यसँग समन्वय भइरहेको डा. चौरसियाले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ २३ गते काठमाडौँमा ३ सय, भक्तपुरमा ५३, ललितपुरमा ३८, मकवानपुरमा ३३, चितवनमा १९, धादिङ, रामेछाप र काभ्रेपलान्चोकमा आठ/आठ, नुवाकोटमा ६, दोलखमा तीन, सिन्धुली र सिन्धुपाल्चोकमा एक/एक जना गरी ४ सय ७८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार ९ सय २३ जना पुगेको छ । जसमध्ये ५ हजार ४ जना उपचारपछि घर फर्किएका छन् भने ६ हजार ८ सय ३१ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँमा ८५ वर्षीय पुरुष र ८० वर्षीया महिला गरी थप दुई जनाको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्या ८८ जना पुगेको छ ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दुईजना पुरुषमा भदौ २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ । शरीर बन्धक लगायतका अभियोगमा अनुसन्धानको क्रममा हिरासतमा रहेका एक गाउँपालिका अध्यक्ष सहित दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनु भयो । साथै जिल्ला अस्पतालले केही दिन अघि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएका मध्ये एक जना ट्राफिक प्रहरी, दुईजना जनपथ प्रहरी र एक जना प्रहरी परिवारकै महिला सदस्यमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लामा कोरोना सङ्क्रमितलाई भनी बनाइएको आइसोलेशन कक्ष अपाङ्गमैत्री नभएको सङ्क्रमितको गुनासो रहेको छ । बेसीशहर नगरपालिकाका एक २७ वर्षीय अपाङ्गता भएका व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा राम्रो व्यवस्था नभएको उहाँको गुनासो छ । आइसोलेशन कक्षमा पानी, विजुली र शौचालयको समेत राम्रो व्यवस्था नभएकोले स्थानीय प्रशासनसँग समन्वय गरिदिन इन्सेकसँग सङ्क्रमितले आग्रह समेत गरेका छन् । ०७७ भदौ १७ गतेको स्वाब रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि सुन्दरबजार नगरपालिका स्थित नमुना सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा सङ्क्रमितलाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार आइसोलेशन कक्ष अपाङ्गमैत्री हुनुपर्ने भएपनि जिल्लामा रहेका आइसोलेशन कक्षहरू अपाङ्गमैत्री नभएको स्वीकार गर्नु भएको छ । सम्बन्धित निकायहरूसँग समन्वय गरी छिट्टै अत्याधुनिक सम्पन्न आइसोलेशन सेन्टर बनाइने प्रमुख जिल्ला अधिकारी शर्माले प्रतिवद्धता व्यक्त गर्नुभ यो ।
प्रदेश ५
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नपा-७ मा रहेको सोत्रे स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य चौकी सील गरिएको छ । स्वर्गद्वारी नपा-७ मा रहेको कोरोना सङ्कट व्यवस्थापन समितिको भदौ २२ गते बसेको बैठकले कार्यालयका अन्य कर्मचारीको परीक्षण रिपोर्ट नआएसम्म कार्यालय सील गर्ने निर्णय गरिएको स्वास्थ्य चौकी प्रमुख हुनाराम विष्टले बताउनु भयो ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण अर्घाखाँची जिल्ला सितगङ्गा नपा- १२ का ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका-१६ की ८० वर्षीया महिलाको भदौ २३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । अर्घाखाँचीका पुरुष साउन २७ गते दुर्घटनामा परेपछि मेडिकल कलेज भैरहवामा भर्ना भइ थप उपचारका लागि कोहलपुर ल्याइएकोमा भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । यसैगरी ८० वर्षीया महिलाको भदौ २१ गतेबाट स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशले नीजि तथा आवासीय विद्यालयहरू सञ्चालन गर्न नसकिने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भदौ २२ गते तालाचाबी बुझाएको छ । कोभिड-१९ पछिको लकडाउन यता लगातार विद्यालय बन्द हुँदा निजी तथा आवासीय विद्यालयहरू सञ्चालन गर्न नसकिने आधारपत्र सहित एनप्याब्सन कर्णाली प्रदेशका अध्यक्ष कमलबहादुर सिंहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तालाचाबी बुझाउनु भएको हो ।
लकडाउनपछि विद्यालय बन्द गर्नुपरेको अवस्थामा शिक्षक कर्मचारीले तलब माग गर्ने र घरधनीले घरभाडा मागेर सताउन थालेकाले बाध्य भएर तालाचाबी बुझाउनु परेको अध्यक्ष सिंहले बताउनु भयो । तालाचाबी बुझदै मुख्यमन्त्री शाहीले सङ्घीय सरकारसँग समन्वय गरी समस्या समाधानको लागि पहल गरिने बताउनु भयो ।
सुर्खेतको दोश्रो व्यापारिक केन्द्र छिन्चु बजारमा एक व्यापारीको परिवारका पाँचजनामा कोरोना पुष्टि भएपछि भेरीगङ्गा नगरपालिकाले भदौ २३ गते राति १२ बजेदेखि सात दिनसम्मका लागि छिन्चु बजार सील गरेको छ । भदौ २२ ति व्यापारीको परिवारमा कोरोना पुष्टि भएलगत्तै भदौ २३ गते बसेको सर्वपक्षीय बैठकले बजार सील गर्ने निर्णय गरेको भेरीगङ्गा नपाका प्रमुख भुपेन्द्र चन्दले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…