कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १२ गते)

भदौ १२ गते ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३६ हजार ४ सय ५५ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय २९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १२ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ९५ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २० हजार २ सय ४२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १२ गते १ सय ६९ जना डिस्चार्ज भएका छन् भने निको दर ५५.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ हजार १९ जनाको उपचार भइरहेको छ । भदौ १२ गतेसम्म ६ लाख ५८ हजार १ सय १० जनाको स्वाब परीक्षण भएको छ ।

प्रदेश १  

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रदेश २ बाट प्रदेश १ मा ल्याइएका आठ जनाको मृत्यु भएको छ । प्रदेश १ मा उपचारका क्रममा मृत्यु हुनेको कूल सङ्ख्या २८ छ । प्रदेश १ मा विराटनगर महानगरपालिकाका ११ जना, धरान उपमहानगरपालिकाका तीन जना, बुढीगङ्गा गाँउपालिकाका तीन जना, रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, बेलबारी नगरपालिका र दमक नगरपालिकाका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोरोना भाइरसको जोखिम बढ्दै गएपछि त्यसलाई न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले भदौ १२ गते मध्यरातिदेखि भदौ १८ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । भदौ १२ गते जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनु भयो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य कुनै प्रकारका सेवा प्रवाह नहुने प्रशासनले जनाएको छ । सरकारी सवारी साधन र खाद्य सामग्री बोकेका मालवाहक सवारी बाहेक अन्य कुनै पनि प्रकार सवारी साधन सञ्चालनमा रोक लगाइने प्रजिअ आचार्यले बताउनु भयो ।

तेह्रथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा जारी निषेधाज्ञाको समय भदौ १८ गतेसम्मका लागि थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको भदौ ११ गतेको बैठकले निषेधाज्ञा समय थप गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताउनु भयो । पहिलो चरणमा भदौ ५ गतेदेखि भदौ १२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका समयमा बिहान ७ बजे देखि बिहान ९ बजेसम्म सुरक्षा सावधानी अपनाएर पसल खोल्न सकिने निर्णय समितिले गरेको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस सङ्क्रमणको कारण जिल्लामा पहिलो पटक त्रियुगा नगरपालिका–४ का ५२ वर्षीय शिक्षकको मृत्यु भएको छ । भदौ ९ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको शिक्षण अस्पताल कोभिड कमिटीका सञ्चार संयोजक माधवप्रसाद घिमिरेले बताउनु भयो । साउन २८ गतेदेखि स्वास्थ्यमा समस्या देखिएका शिक्षक भदौ २ गते उपचारका लागि जिल्ला अस्पताल भर्ना हुनु भएको थियो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोरोना भाइरस सङ्क्रमणको कारण कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको भदौ १२ गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । वृद्धको उपचारको क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । मृतकको नातिनीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिपछि मेची अस्पतालमा उपचार भइरहेको छ । यो सँगै झापामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

प्रदेश २

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा–९ की ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट भदौ १२ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । थाइराइडको उपचारको लागि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा भदौ ११ गते लगिएको थियो । सोहि दिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोशी अस्पतालको आइसोलेशनमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख यादवले बताउनु भयो ।
त्यसैगरी सुखिपुर नपा–८ का ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट भदौ ११ गते उपचारको क्रममा धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ल स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । निमोनियाको उपचारका लागि उनलाई भदौ ६ गते धरानस्थित वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । भदौ ९ गते उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको र आइसोलेशनमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो । मृतकको शव व्यवस्थापन गर्न भदौ १२ गते सुखिपुर नगरपालिकाले दिएको स्थानमा स्थानीयले अवरोध गरे । अवरोध हटाउन प्रहरी र स्थानीयबिच केही बेर झडप् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताउनु भयो । पछि सहमतिका आधारमा शवको व्यवस्थापन गरिएको डिएसपी घिमिरेले जानकारी दिनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार कोरोना सङ्क्रमित मुखियापट्टी मुसहर्निया गाउँपालिका–४ बस्ने ४५ वर्षीय एक पुरुषको भदौ १० गते प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारजनले भदौ १० गते नै दाहसंस्कार गरिसकेको भएपनि कोरोना पोजेटिभ भएको रिपोर्ट भदौ ११ गते आएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनु भयो । उनी क्षयरोग र मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ । मृतकको कोरोना पोजेटिभ रिपोर्ट आएपछि दाहसंस्कारमा गएका र परिवारका सदस्यहरूको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ १२ गते काठमाडौँमा ३ सय ५१, मकवानपुरमा ६२, भक्तपुरमा ५०, चितवनमा २५, धादिङमा १६, काभ्रेपलान्चोकमा १५, ललितपुरमा १२, सिन्धुलीमा दुई, रसुवा, नुवकोट, सिन्धुपाल्चोक र रामेछापमा एक/एक जना गरी ५ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ६ सय ५ जना पुगेको छ । जसमध्ये ९ सय ६६ जना उपचारपछि घर फर्किएका छन् भने ५ हजार ५ सय ९७ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार पृथ्वी राजमार्गको थाक्रे गाउँपलिकामा रहेको तीन ओटा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा एकसाथ कोरोना सङ्क्रमण भएपछि भदौ १२ गतेबाट सो क्षेत्रको अत्यावश्यक सेवा समेत बन्द भएको छ । थाक्रे गाउँपालिका–६ महादेववेशीमा रहेको एनआइसी एसिया बैङ्कंमा कार्यरत दुई जना, लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत एक जना कर्मचारी र थाक्रे गाँउपालिका–१ सिम्लेमा रहेको साधना लघुवित्त वित्तीय संस्थामा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मुख्य राजमार्ग क्षेत्रमा रहेको वित्तिय संस्थाहरूमा नियमित काम गरिरहेका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि सो क्षेत्रमा आउनजान र सवारी साधन रोक्न समेत बन्देज लगाइएको छ । गाउँपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरेको छ ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट १२ गते एकैदिन तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौँडा उपमहानगरपालिका–१९ का ७१ वर्षीया महिला र आबुखैरहनी गोरखाका ३८ वर्षीय पुरुष छन् । क्षेत्रपुरका ५१ वर्षीय पुरुष भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । १२ गते बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते कलेजमा उपचारका लागि आएकी हेटौँडाकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा १२ गते मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताउनु भयो । यस्तै भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भई १० गते कोरोना पुष्टि भएका गोरखा आबुखैरहनीका ३८ वर्षीय पुरुषको आइसियूमा उपचारका क्रममा १२ गते मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनले एक साता अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निषेधाज्ञा १२ गते सकिएको छ । कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरूलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैङ्क तथा वित्तीय संस्थालाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय सञ्चालन गर्ने प्रशासनले तयारी गरेको छ ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार म्याग्दे गाउँपालिकाले भदौ १७ गतेसम्म लकडाउन लम्ब्याएको छ । भदौ १ गतेबाट लगाइएको लकडाउन भदौ १२ गते रातिबाट सकिँदै थियो । भदौ १० गते म्याग्दे गाउँपालिकाका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले भदौ १७ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भदौ १० गत कोरोना सङ्क्रमण पुष्टि भएकाहरूबाट कन्ट्याक्ट ट्रेसिङ सुरू भइसकेको र ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो । कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय भएको नागिलाले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले लकडाउनको पूर्ण पालना गर्न र अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गर्नुभएको छ ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कोरोना सङ्क्रमणबाट तौलिहवा नपा–२ का ५० वर्षीय पुरुषको भदौ ११ गते र तिलोत्तमा नपा–४ जानकीनगरकी ७० वर्षीया महिलाको भदौ १२ गते कारोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या रहेका पुरुषमा ज्वरो आउने श्वासप्रश्वासमा समस्या भएपछि भदौ ६ गते बुटवलको कोरोना विशेष अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारका क्रममा मुत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो । यसैगरी, ७० वर्षीया महिला थाइराइड, मधुमेह र उच्चरक्त चापको बिरामी रहेको र ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न समस्या भएपछि उनलाई भदौ ६ गते बुटवलस्थित कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत अवस्थामा मृत्यु भएको डाक्टर थापाले बताउनु भयो । मृतक दुवै जनाको भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई भदौ ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहका राखिएको छ । अन्तिम संस्कारका लागि परिवार र सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको अस्पतालले जनायो । यसैगरी, इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा रहेका १४ जना थुनुवाहरू र चार जना प्रहरीमा भदौ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार समुदायस्तरमै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि समुदायस्तरमा बढेको कारोना जोखिमलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि मङ्गलसेन नगरपालिका, साँफेबगर नगरपालिका, बयलपाटा अस्पताल, साँफेबगर इलाका प्रहरी कार्यालय र मेल्लेख गाउँपालिका–७ लाई सील गरिएको छ । समुदायस्तरमै कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि मङ्गलसेन नगरपालिकाले भदौ ९ गतेबाट एक हप्ताका लागि नगर क्षेत्र सील गर्ने निर्णय गरी त्यसको कार्यन्वयन गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताउनु भयो । अत्यावश्यक सेवा बाहेकका बजार क्षेत्र, सार्वजनिक कार्यालय, भेला, बैठक, गोष्ठीमा नगरपालिकाले भदौ १६ गतेसम्म रोक लगाएको बोहराले बताउनु भयो । यसैगरी साँफेबगर नगरपालिकाले पनि समुदायस्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकालाई नै सील गरेको नगरप्रमुख कुलबहादुर कुँवरले बताउनु भयो । बयालपाट अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएपछि बयलपाटा अस्पतालमा आकस्मिक प्रसूति र गम्भीर चोटपटकको शल्यक्रिया बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो । साँफेबगर इलाका प्रहरी कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कार्यालयमा कार्यरत अन्य प्रहरीको पीसीआर रिपोर्ट नआउँदासम्म प्रहरी कार्यालय सील गरी सो कार्यालयको जिम्मा नजिकमा रहेका प्रहरी युनिटलाई दिइएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो । समुदायमै कोरोना सङ्क्रमण फैलिएपछि मेल्लेख गाउँपालिका–७ नन्देगडामा रहेको वडा कार्यालय, नन्देगडाका पसल तथा होटल भदौ १२ गतेदेखि भदौ १८ गतेसम्मका लागि सील गरिएको वडाध्यक्ष नरबहादुर साउदले बताउनु भयो । पञ्चदेवल विनायक नगरपालिका यसअघिबाटै अनिश्चितकालका लागि लकडाउन गरिएको छ । भदौ ११ गतेसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ६२ पुगेको र पीसीआर सङ्कलन गरी पठाएका ८ सय ७७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले बताउनु भयो ।


अनलाइन डेस्क