कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ९ गते)
भदौ ९ गते ८ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ३ सय २१ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ९ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ६४ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १९ हजार १ सय १९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ९ गते ३ सय १३ जना डिस्चार्ज भएका छन् भने निको दर ५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १४ हजार २ सय ५० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये ५७ प्रतिशत निको भएका छन् भने ४२.५ प्रतिशतको उपचार भइरहेको छ । ०.५ प्रतिशतको भने मृत्यु भएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार नोवेल अस्पताल विराटनगरमा आकस्मिक विभागमा कार्यरत ५५ जना स्टाफ नर्सले भदौ ९ गते अस्पताल प्रशासन समक्ष सामूहिक राजीनामा दिएका छन् । आकस्मिक विभागमा कार्यरत स्टाफ नर्सहरूले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र जोखिम बढी भएकाले सेवा सुविधा वृद्धिको माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । स्टाफ नर्सले सामूहिक राजीनामा दिएपछि आकस्मिक विभागको सेवा प्रभावित भएको र सामूहिक राजीनामाका विषयमा अस्पताल व्यवस्थापनसँग छलफल गर्ने तयारी भएको अस्पतालका प्रशासन प्रमुख नारायण दहालले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरूले १६ बुँदे मागसहित भदौ ९ गतेदेखि आन्दोलन सुरू गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बिरामीको सेवामा खटिएको अवस्थामा चाहिने स्वास्थ्य सामग्री प्रतिष्ठानले उपलब्ध नगराएको आरोपमा नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । उपचारमा खटिएको अवस्थामा सम्पूर्ण विभागका तथा वार्डका नर्सहरूले कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुने भन्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका सामाग्री (फूल पीपीइ) माग गरेको भएपनि प्रतिष्ठान व्यवस्थापनले माग सम्बोधन गर्न आनाकानी गरेको भन्दै नर्सहरू विरोधमा उत्रिएका हनु् । नर्सहरूले प्रतिष्ठान निर्देशक प्रा.डा गौरीशङ्कर साहलाई १६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । भदौ ९ गते ज्ञापनपत्र बुझाउने क्रममा नर्सका प्रतिनिधि र प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशङ्कर साह, मेट्रोन उपेन्द्र यादवसँग मागका विषयमा छलफल गरेका थिए । नर्सहरूले सङ्क्रमित बिरामीसँग हेरचाहमा रहेका नर्सहरूलाई क्वारेन्टाइन व्यवस्था नगरेकोले परिवारका सदस्य पनि जोखिममा परेका बताएका छन् । विरोधमा उत्रिएका नर्सहरूले नेपाल सरकारले कोरोना जोखिम भत्ता दिएको भएपनि प्रतिष्ठानले उक्त भत्ता नदिएको गुनासो गरेका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिकाले भदौ ९ गते रातिदेखि लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्म आंशिक लकडाउनको समयावधि थप गरेको छ । भदौ ९ गते रातिदेखि यसअघि लगाएको आंशिक लकडाउनको समय सकिने भएपछि गाँउपालिकाले भदौ ९ गते सूचना जारी लकडाउनको अवधि थप भएको जानकारी गराएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुरूप सजगता अपनाएर बैङ्क तथा वित्तीय संस्था, दैनिक उपभोग्य पसल व्यवसाय बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने गरी आंशिक लकडाउनको समय थप गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार उच्च अदालत जनकपुर र सरकारी वकिलको कार्यालयकै कर्मचारीहरू नै कोरोनाबाट सङ्क्रमित भएका कारण उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरू भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा र जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरू बिच भदौ ९ गते बसेको बैठकबाट कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको हो । बन्दाबन्दीको अवस्थामा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षिकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाइ भने जारी रहने जनाइएको छ ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार भदौ ९ गते कोरोना सङ्क्रमित मनरा शिसवा नपा-३ का ७५ वर्षीय ज्येष्ठ नागरिकको जलेश्वर अस्पतालमा भदौ ९ गते बिहान साढे ११ बजे मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका जेष्ठ नागरिकलाई चितवनमै हुँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारबाट फर्किएका उनमा कोरोना पोजेटिभ भएको जानकारी आएपछि आइसोलेशनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको थियो ।
यस्तै, बलबा नपा-३ का ७७ वर्षीय ज्येष्ठ नागरिकको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा भदौ ९ गते बिहान साढे ११ बजे नै मृत्यु भयो । उनी भदौ ८ गते साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । 'निमोनियाबाट ग्रसित ज्येष्ठ नागरिकको अवस्था भदौ ८ गते गम्भीर थियो । उनलाई तत्कालै भेण्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भयो ।'-प्रादेशिक अस्पताल कोभिड-१९ का संयोजक डाक्टर जामुन सिंहले बताउनु भयो । प्रादेशिक अस्पतालमा पुग्नुअघि जनकपुरधामको विभिन्न अस्पतालमा उनको उपचार गराएको पाइएको सिंहले बताउनु भयो । योसँगै महोत्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार गरुडा नपा-१, ३, ४, ५, ६ र ९ वडामा समुदाय स्तरसम्म कोरोना भाइरसको सङ्क्रमण देखिएकोले उक्त वडाका स्थानीयलाई घर बाहिर ननिस्कन भदौ ९ गते नगरपालिकाले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । साथै उक्त वडाहरूमा भदौ ९ गते बेलुकादेखि भदौ १८ गतेसम्म आवागमन गर्न पूर्णरूपमा निषेध गरीएकोले अति आवश्यक कार्य भएमा मास्क प्रयोग तथा सामाजिक दुरी कायम गरी घर बाहिर निस्किन हुन अनुरोध गरिएको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार सुवर्ण गाउँपालिका-४ प्रशुरामपुरका कोरोना सङ्क्रमित ७२ वर्षीय पुरुषको भदौ ९ गते बिहान उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पताल बीरगंजका डाक्टर उदयनारायण सिंहले बताउनु भयो । भदौ ६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसिरहेकोमा भदौ ८ गते श्वासप्रश्वासमा समस्या आएकाले गण्डक कोभिड अस्पतलमा उपचारका लागि भर्ना हुनु भएको थियो । त्यसैगरी महागढीमाइ नपा-४ दहियार टोलका कोरोना सङ्क्रमित ५९ वर्षीय पुरुषको भदौ ९ गते बिहान उपचारको क्रममा मृत्यु भएको डाक्टर उदयनारायण सिंहले बताउनु भयो । भदौ ४ गते कोरोना पोजेटिभ भएपछि श्वासप्रश्वासमा असहज भएपछि उनलाई भदौ ५ गते नगरपालिकाको सहयोगमा कोभिड अस्पताल गण्डक बीरगंज भर्ना गरिएको थियो । फोक्सोमा दुई तिरबाट कडा निमोनिया देखिएकाले अइसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी गरिरहँदा मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग सहकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ ९ गते काठमाडौँमा १ सय ९९, चितवनमा ३७, मकवानपुरमा ३४, ललितपुरमा १९, भक्तपुरमा १४, धादिङमा आठ, काभ्रेपलाञ्चोकमा पाँच, सिन्धुपाल्चोकमा दुई, रामेछाप र नुवाकोटमा एक/एक जना गरी ३ सय २३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार १ सय ३८ जना पुगेको छ । जसमध्ये ८ सय ९६ जना उपचारपछि घर फर्किएका छन् भने ४ हजार २ सय ७ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले कोरोना भाइरस (कोभिड- १९) को सङ्क्रमण बढ्न थालेपछि भदौ १६ गतेसम्मका लागि निलकण्ठ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । औषधी पसल र खाद्यान्न पसल तथा अत्यावश्यकीय पसलहरू बाहेकका सबै क्षेत्र बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रमक रोग ऐन २०२० अनुसार साउन २८ गते रातिदेखि लागु गरिएको निषेधाज्ञा भदौ ९ गतेसम्म कायम थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भदौ ९ गते बसेको सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनु भयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत एक सङ्क्रमित भदौ ९ गते बिहान अस्पतालबाटै उपचारको क्रममा भागेका छन् । भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय पुरुष बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले बताउनु भयो । प्रहरीका अनुसार भदौ ५ गते कोरोना पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेशनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा गिरफ्तार गरी हिरासतमा राखिएका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर अस्पतालको आइसोलेशनमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले बताउनु भयो । यसैबीच वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस सङ्क्रमण देखिएको चितवनमा चार महिनामा सङ्क्रमितको सङ्ख्या ४ सय पुगेको छ । भरतपुर अस्पतालको तथ्याङ्कअनुसार आधाभन्दा बढी २ सय ४७ जना सङ्क्रमित भरतपुर महानगरपालिका मात्रै छन् । त्यसपछि राप्ती नगरपालिकाका ७५ जना सङ्क्रमित छन् । यसैगरी, माडी नगरपालिकामा ४१ जना, खैरहनी र रत्ननगरमा १५/१५ जना, कालिका गाउँपालिकामा पाँच र इच्छाकामना गाउँपालिकामा दुई जना सङ्क्रमित रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताउनु भयो ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार स्थानीय प्रशासनले भदौ ९ गतेबाट भदौ १५ गतेसम्मका लागि लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको खतरालाई ध्यानमा राखि लकडाउनलाई कडा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । लकडाउनलाई पूर्ण पालना गराउने क्रममा प्रहरीले भदौ ९ गतेबाट अनुमतिबिना सञ्चालन भएका सवारी साधनलाई सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ ।
गण्डकी प्रदेश
नवलपरासी (पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार समुदायमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ ९ गते राति १२ बजेसम्म लगाएको निषेधाज्ञा भदौ १४ गते राति १२ बजेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा भदौ ९ गते बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
प्रदेश ५
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार प्रदेश ५ को प्रदेश सभाको सामाजिक विकास समितिको भदौ ८ गते बसेको बैठकले सामाजिक विकास मन्त्रालयलाई गत वैशाखमा नै कोरोना सङ्क्रमितको उपचार गर्न आइसोलेशन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको आरोप लगाएको छ । वैशाखपछि पनि समितिले कोरोना सङ्क्रमितलाई बोक्ने एम्बुलेन्स र शव बाहनको व्यवस्था मिलाउन र कोरोनाको नाममा भएको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएकोमा पालना नभएको समितिका सभापति दृर्घनारायण पाण्डेले बताउनु भयो । समितिले मन्त्रालयलाई सात बुँदे निर्देशन पनि दिएको छ । कोरोनाका नाममा भएको खर्च विवरण र अन्य निर्देशनको लिखित जवाफ दिन निर्देशन दिइएको समितिका सदस्य अष्टभुजा पाठकले बताउनु भयो । बैठकमा मन्त्रालयका सचिव र उच्च अधिकारीहरूले गल्ती स्वीकार गर्दै एक हप्ताभित्र लिखित जवाफ दिने प्रतिबद्धता जनाएको पाठकले बताउनु भयो । समितिले बिरामी उपचारबाट बञ्चित हुन नपर्ने गरी आइसोलेशन सेन्टर र प्रत्येक जिल्लाका अस्पतालहरूमा आइसियू र भेन्टिलेटर व्यवस्था गर्न निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पतालको सेवा प्रवाहमा व्यापक जन-गुनासो आएकाले आकस्मिक रूपमा अनुगमन गर्ने निर्णय समेत गरेको सभापति पाण्डेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा लकडाउन पालना गर्न र मास्क लगाउन अनुरोध गर्दै हिँडेका सुरक्षाकर्मी माथि हातपात गरी घाइते बनाउने आठ जना विरुद्ध भदौ ७ गते ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । सुद्धोधन गाउँपालिका- ३ लवनीमा ड्युटीमा खटिएका लवनी प्रहरी चौकीमा कार्यरत सइ ५२ वर्षीय बनारसी तेली गुप्ता, प्रहरी हवल्दारद्वय ३३ वर्षीय विनोद कुमार बरुण, ३७ वर्षीय मुकेश यादव, प्रहरी जवान ३५ वर्षीय जियाउल कहार, ३० वर्षीय महेन्द्र यादव र ३५ वर्षीय ईन्द्रजित बरई माथि स्थानीय व्यक्तिहरूले भदौ १ गते इँटा र लाठी प्रहार गरी घाइते बनाए । घाइतेहरूलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएकोमा अस्पतालमा उपचार हुन नसकेपछि भदौ १ गते थप उपचारका लागि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा रिफर गरिएको कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले बताउनु भयो । घाइतेहरू मध्ये विनोद कुमार बरुणको प्रहरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटनामा संलग्न शुद्धोधन गाउँपालिका- ३ का ५१ वर्षीय अब्दुल रहमान मुसलमान, ३० वर्षीय चुन्नु भनिने अतिकुर रहमान मुसलमान, २५ वर्षीय कुन्नु भनिने फजालु रहमान मुसलमान, १८ वर्षीय बड्कनु रहमान मुसलमान, १८ वर्षीय अब्दुल रसिद मुसलमान, १९ वर्षीय अजिजीउ रहमान मुसलमान, २३ वर्षीय मौलाना भनिने युसुफ मुसलमान र २८ वर्षीय मुन्नु भनिने सफिकुर मुसलमान रहेका र उनीहरू फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला कोभिड- १९ संकट केन्द्रको भदौ ८ गतेको बैठकले वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनु भयो । भदौ १ गतेदेखि पाँचदिनका लागि जारी गरिएको निषेधाज्ञा यसअघि जिल्ला कोभिड-१९ संकट केन्द्रको भदौ ४ गते बसेको बैठकले भदौ ९ गते सम्मकालागि कायम गरेको थियो ।
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका- ३ र ४ मा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले भदौ ८ गते राति १२ बजेदेखि भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताउनु भयो ।
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । कार्यालयका ३८ वर्षीय कर्मचारीलाई कोरोना भाइरस देखिएसँगै जिल्ला अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरी अस्पताललाई सिल गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले मुगुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएका ६२ जनाको स्वाब भदौ ८ गते परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो । डाक्टर नगरकोटीका अनुसार पोजेटिभ देखिएका ती कर्मचारीलाई अस्पताल भित्रै आइसोलेसनमा राखिएको र उनको सम्पर्कमा रहेका कर्मचारीहरूलाई समेत एक हप्तासम्म अस्पातलकै सेल्फ क्वारेन्टाइनमा राखिने भएको छ । सङ्क्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका सबैको पीसीआर परीक्षण गरिने र उनीहरूलाई भदौ ९ गतेदेखि एक हप्तासम्म घर भन्दा बाहिर ननिस्कन आग्रह गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिनु भयो । त्यसैगरी, खत्याड गाँउपालिकामा कोरोना पोजेटिभ देखिएका तीन जनामध्ये दुई जना निको भएर घर फर्किसकेका छन् भने एक जना महिला आइसोलेशनमा बसेकी छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…