कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २ गते)
भदौ २ गते एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ६१ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । एकै दिनमा सङ्क्रमितको सङ्ख्या चार अङ्कमा देखिएको पनि पहिलो हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ । जसमध्ये १ सय १४ जनाको मृत्यु भएको छ । भदौ २ गते मात्रै सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ २ गते जारी गरेको स्थिति प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १७ हजार ५ सय ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २ गते ८५ जना डिस्चार्ज भएका छन् भने निको दर ६२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १० हजार ५ सय ६३ जनाको उपचार भइरहेको छ । भदौ १ गतेसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
झापा प्रतिनिधि नरेश खातीका अनुसार समुदायमा कोरोना भााइरसको सङ्क्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि शिवसताक्षी नगरपालिकाले भदौ २ गतेदेखि भदौ ८ गतेसम्म आंशिक रूपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म आंशिक रूपमा बजार खुला गरे पनि यातायात सञ्चानलनमा पूर्ण रूपमा रोक लगाउने गरी आंशिक लकडाउनको घोषणा गरिएको नगरपालिकाका प्रवक्ता नविन इजमले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा पहिलो पटक भदौ २ गतेदेखि कोरोना भाइरसका सङ्क्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट सुरूआत भएको छ । काठमाडौँपछि पहिलो पटक वीपीमा यो पद्दतिबाट सङ्क्रमितको उपचार थालिएको हो । भदौ २ गते धरान उपमहानगरपालिकाका ६८ वर्षीय कोरोना भाइरस सङ्क्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । प्लाज्मा थेरापी पद्दतिबाट उपचार गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भई निको भएका व्यक्तिको प्लाज्मा लिएर उपचार गरिने प्रतिष्ठानका डाक्टर निदेश सापकोटाले बताउनु भयो । निको भइसकेका सङ्क्रमितको रगत लिएर सेल र कोषिका छुट्याएर अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा हो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार भदौ २ गते एक प्रहरीसहित तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई राख्ने आइसोलेशन नहुँदा सङ्क्रमितहरू अलपत्र परेका छन् । विद्यालय, क्याम्पस र सामुदायिक भवनबाट सरकारको निर्देशनमा यसअघि बनाइएका आइसोलेशन सेन्टर हटाएपछि कोरोना सङ्क्रमितहरू अलपत्र भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाहृकोटीले बताउनु भयो । जिल्लामा भदौ ३ गतेदेखि १० दिनका लागि लकडाउन हुने भएको छ । भदौ २ गतेको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले १० दिन लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनु भयो । अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने प्रजिअ आचार्यले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको भदौ २ गते राजनीतिक दल र नागरिक समाजसहित बसेको वैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अबधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । २ सय भन्दा बढी कोरोना सङ्क्रमित पुगेको र जिल्लाको विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढिरहेकोले निषेधाज्ञालाई निरन्तरता दिनु परेको प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बताउनु भयो । सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रमा साउन २० गतेदेखि नै जारी निषेधाज्ञा भदौ २ गते मध्यराति सकिनु अगावै बसेको बैठकले पुनः निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।
यसैबिच प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सप्तरी जिल्ला भरी अनावश्यक आवतजावत नगर्न, नगराउन, अत्यावश्यक कामहरूसमेत तोकिए बमोजिमको स्वास्थ्य सुरक्षा शतर्कताको मापदण्डहरूको पूर्ण पालना गरी गर्न, गराउन र सबै धर्मका चाडपर्वहरू घरभित्रै परिवारका सदस्यहरू बिच मनाउन आग्रह गरिएको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नगरपालिकाले भदौ २ गतेदेखि लागु हुने गरी नगर क्षेत्रभित्र भदौ १५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । लकडाउन अवधिभर घरबाहिर, पसल, हाट बजार सबै बन्द राख्न आग्रह गरेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीसहित सात जनामा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी जवान दुई जना, हवल्दार एक जना र एक जना थुनुवा रहेका छन् ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको भदौ २ गते सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकले कोरोना महामारी नियन्त्रणमा नीजि स्वास्थ्य संस्थाहरूलाई साथ र सहयोग गर्न आग्रह गरेको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरू समेत रहने गरि समन्वय समिति गठन गरिएको छ । समितिले मेडिकल कलेज सहितका निजी स्वास्थ्य संस्थाहरूसँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा नीजि अस्पतालहरूलाई सङ्घीय सरकाले तोकेको दररेट उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।
मेडिकल कलेज तथा नीजि अस्पतालहरूले कोभिड उपचारमा सहयोग नगरेको खण्डमा कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा लेखी पठाउने तथा कानून बमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवम् सरकारले गर्नु पर्ने कार्यहरू बारे जिल्ला स्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई÷दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई करार सेवामार्फत परिपूर्ति गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णय गरिएको मुख्यमन्त्रिका स्वकीय सचिव दिपक यादवले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढ्दै गएको र हालैमात्र माधवनारायण नगरपालिका–१ दिपहीमा कन्ट्रयाक ट्रेसिङबाट ६३ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँ पठाइएकोमा ती मध्ये हालसम्म पाँच जनाको रिर्पोट पोजेटिभ आएको हुनाले सो नगरपालिका भित्र सम्भावित जोखिमलाई न्युनिकरण गर्न भदौ २ गते राति १२ बजेदेखि लागु हुने गरी ०७७ भदौ १७ गते राति १२ बजेसम्मको लागि सो नगरपालिकामा क्षेत्र भित्रका कार्यालयबाट प्रदान गरीदै आएको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुका साथै व्यापार व्यवसाय गर्न, अत्यावश्यक काम बाहेक हिडडुल तथा आवत जावत गर्न प्रतिबन्ध लगाउने गरी सील गरीएको नगर प्रमुख वीरेन्द्रप्रसाद यादवले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ २ गते काठमाडौँमा १ सय ३८, ललितपुरमा ५०, चितवनमा ४७, मकवानपुरमा २५, काभ्रेमा २१, भक्तपुरमा १७, सिन्धुपाल्चोकमा तीन, दोलखामा दुई र धादिङमा एक जना गरी ३ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ६५ जना पुगेको छ । जसमध्ये ७ सय १८ जना उपचारपछि घर फर्किएका छन् भने २ हजार ६ सय २८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार भदौ २ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले धादिङमा लगाइएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थपिएको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड-१९ को महामारी समुदाय स्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । धादिङमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १ सय ६५ जना पुगेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । निषेधाज्ञा कालुपाण्डे मार्गको मलेखु धादिङबेसी खण्ड, निलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । यसैगरी, त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रका सबै बैङ्क, वित्तीय संस्था, होटल, शैक्षिक सस्था, बन्द गराउने गरी निषेधाज्ञा जारी गरेको हो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ जना प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरूमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड-१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, जिल्लामा सरकारी प्रयोगशालामा मात्र कोरोना भाइरसको पीसीआर परीक्षण हुँदै आएकोमा भदौ २ गतेदेखि व्यक्तिगत खर्चमा पनि कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाइने भएको छ । चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा व्यक्तिगत खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न सुरु गरेको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीका साथै सर्वसाधारणको नमूना जाँच सुरु गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-५ किसान टोलमा रहेको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका चार जना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मध्ये दुई जनालाई राख्न आइसोलेशन नहुँदा सो टोललाई सील गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो । कोरोना सङ्क्रमित दुई जना कर्मचारीलाई आइसोलेशन तथा सोही कार्यालयका ६ जना कर्मचारी, जनतापत्र साप्ताहिकका तीन कर्मचारी र सोही घरमा डेरा बस्ने दुई जना सहित १३ जनालाई सोही घरमा क्वारेण्टाइनमा बस्ने गरी सिल गरिएको हो । उनीहरूको खानपिनका लागि आवश्यक खाद्यान्न सुरक्षार्थ बसेका प्रहरीले ल्याइदिने गरेको क्वारेण्टाइनमा रहेकाले इन्सेक प्रतिनिधिलाई बताए ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भदौ २ गते साँझ बसेको संयुक्त बैठकले कोरोना भाइरसको सङ्क्रमणको जोखिम उपत्यकामा बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । यस अघि आयोजित नियमित प्रेस ब्रिफिङमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने 'जिल्ला कोरोना सङ्कट समिति'लाई जोखिम विश्लेषण गरी सङ्क्रामक रोग ऐन २०२० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निपेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय भएको जानकारी दिनु भयो । सरकारले निषेधाज्ञा जारी भएका स्थानमा रहेका सरकारी कार्यालयमा न्यूनतम कर्मचारी र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न निर्देशन सरकारले दिएको समेत उहाँले बताउनु भयो । साथै सुरक्षा मापदण्ड पालना नगरेमा र स्वास्थ्य सतर्कता नअपनाएको खण्डमा प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिनु भयो । सरकारले यातायात, सिमानामा आवतजावत, गोष्ठी, सेमिनार, जात्रा, पर्व जस्ता गतिविधि नगर्न यसअघिका निर्देशनलाई पालना गर्न गराउन पनि अनुरोध गरेको छ ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार एक साता अघि सरुवा भएका सशस्त्र प्रहरीका डिएसपीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका सरकारी अधिकारीहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएको छ । सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी साउन २७ गते चितवन सरुवा भएपछि गरिएको कोरोना परीक्षणको क्रममा भदौ २ गते उहाँमा सङ्क्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरीको कन्ट्याक ट्रसिङ गर्दा जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृतहरू र सरकारी कार्यालयका अन्य कर्मचारीहरू रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार भदौ २ गते मात्र ५३ जनाको स्वाव सङ्कलन गरिएको छ । उनीहरू अधिकांश सरकारी कार्यालयका कर्मचारीहरू रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा गरिएको छ । भदौ २ गते बसेको जिल्ला कमाण्ड पोष्ट र सरोकारवाला बीचको बैठकले भदौ २ गते राति १२ बजेदेखि भदौ ९ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बागलुङ नगरपालिकामा आगामी भदौं ९ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो ।
म्याग्दी प्रतिनिधि अमृत बास्कुनेका अनुसार कोरोना भाइरस नियन्त्रणका लागि म्याग्दी जिल्ला भित्र मनाइने चाडपर्व, मेलालाई व्यवस्थित गर्ने जिल्ला कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरले निर्णय गरेको छ । सिसिएमसीको बैठकले चाडपर्व मनाउँदा एउटै घरमा बसेका परिवारका सदस्य बाहेक अन्य व्यक्तिसँग भेटघाट नगर्नुका साथै परिवारका सदस्य मात्र भएर आफ्नै घर भित्र मात्रै चाडपर्व मनाउने र अनावश्यक भेटघाट तथा हिँड्डुललाई नियन्त्रण गर्ने निर्णय गरेको छ । बाहिर क्षेत्रमा निस्कदासाथ अनिवार्य मास्कको प्रयोग, सावुन पानीले हात धुने, सेनेटाइजरको प्रयोग गर्नुका साथै जनस्वास्थ्य मापदण्ड २०७७ को पूर्ण पालना गर्नुपर्ने उल्लेख छ । अटेर गर्ने नागरिकलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनु भयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले भदौ २ गते गरेको संयुक्त बजार अनुगमनको क्रममा निषेधाज्ञा उल्लङ्घन गर्ने १५ जनालाई कारबाही गरिएको सहायक प्रजिअ चित्राङ्गत बरालले बताउनु भयो । सहायक प्रजिअ बरालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सिना सहितको टोलीले निषेधाज्ञाको पालना भए नभएको, स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको बारेमा अनुगमन गरेको बरालले बताउनु भयो । दमौली बजारदेखि छाब्दी, कलेस्ती बजार, सिसाघाट सम्मको अनुगमन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड विपरीत माक्स सेनेटाइजर प्रयोग नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने र हिँड्डुल गर्ने १५ जना व्यक्तिहरूलाई कारबाही तथा जरिवाना गरिएको थियो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिकाले निषेधाज्ञाका लागि गरेको प्रस्तावलाई जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमोदन गरेको छ । भदौ २ गते बिहान बसेको बैठकले कास्की जिल्लामा पाँच दिनका लागि भदौ २ गतेदेखि भदौं ७ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अत्यावश्यक बाहेकका सबै सवारी साधन र पसलहरू बन्द हुनेछ । अत्यावश्यक सवारी साधनलाई पास आवश्यक नपर्ने र अन्यलाई पासको व्यवस्था नहुने ढकालले बताउनु भयो ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट नेपालगञ्ज उपमनपा-५ बस्ने ६२ वर्षीय पुरुषको भदौ १ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतक लामो समयदेखि निमोनियाका बिरामी थिए । साउन ३० गतेबाट कोरोना रोगको लक्षण देखा परेकोले साउन ३२ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भई पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला स्तरीय कोराना सङ्कट व्यवस्थापन केन्द्रको आयोजनामा भदौ २ गते बसेको सर्वपक्षीय बैठकले भदौ ३ गते बिहान ६ बजेदेखि भदौ १० गतेसम्म लकडाउ गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो । लक डाउनको समयमा एम्बुलेन्स, दमकल, शववाहन, इन्धन, ग्यास, खाद्य सामग्री र स्वास्थ्यकर्मी रहेको सवारी साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालन गर्न पाउने भएको छ । बैठकले अत्यावश्यक कामबाहेक घर बाहिरसमेत निस्कन नपाइने र आवत जावतमा समेत कडाइ गर्ने निर्णय गरेको छ ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायणप्रसाद पराजुलीका अनुसार कोरोना सङ्क्रमण समुदाय स्तरमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले साउन ३२ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधज्ञा जारी गरेको छ । सर्वपक्षीय बैठकले निषेधज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्न र बन्दको पूर्ण पालन गर्न आग्रह गरिएको छ ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार चाडपर्वमा हुन सक्ने भिड नियन्त्रण गरी कोरोना सङ्क्रमणको जोखिम कम गर्न भदौ १ गतेदेखि भदौ ८ गतेसम्म जिल्लामा निषेधज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द, सार्वजनिक तथा निजी सवारीमा रोक र होटल रेष्टुरेण्ट तथा सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश
इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार जिल्लामा कोराना भाइरसको सङ्क्रमण बढेसँगै सुदूरपश्चिम सरकारले डोटी, कैलाली र बैतडी जिल्लामा पीसीआर मेसिन राख्ने निर्णय २०७६ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । ६ महिनापछि जिल्ला अस्पताल, डोटीमा जडान गरिएको पीसीआर मेशिनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भदौ २ गते एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भयो । मुख्यमन्त्री भट्टले गएको चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार डोटीमा पनि पीसीआर मेशिन सहितको प्रयोगशाला बनाउने निर्णय गरेको भएपनि प्रक्रियागत काम गर्दै जाँदा केही समय ढीलो भएको बताउँदै प्रयोगशाला स्थापनाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सजिलो भएको बताउनु भयो । प्रदेश सरकार कोरोना भाइरसको रोकथाम, परीक्षण र उपचारका लागि गम्भीर रहेको भन्दै डोटी जिल्ला अस्पतालमा १० शैयाको कोरोना अस्पताल र दुई ओटा बेडको भ्यान्टीलेटर समेत छिट्टै स्थापना गरिने मुख्या मन्त्री भट्टले बताउनु भयो । जिल्ला अस्पताल, डोटीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला तयारी र मेसिन खरिदका लागि झण्डै डेढ करोड बजेट खर्च भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर, डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनु भयो । जिल्ला अस्पताल, डोटीका व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले पीसीआर प्रयोगशाला स्थापनाले जिल्लाबासीहरूलाई कोरोना परीक्षणमा सहयोग पुग्ने बताउँदै अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था र भौतिक संरचना निर्माणमा प्रदेश र संघीय सरकारलाई सहयोग गर्न अनुरोध गर्नु भयो । जिल्ला अस्पताल, डोटीका डाक्टर प्रमोद भट्टले केही महिना अगाडि मात्र यस्तो मेशिनमा जाँच गर्न नमूना सङ्कलन गरी विदेश पठाउनु पर्ने अवस्था रहेकामा जिल्लामा नै प्रयोगशाला स्थापना हुनुले एक पटकमा ९६ ओटा नमूना स्वाब परीक्षण गर्न सकिने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…