कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २९ गते)
साउन २९ गते ५ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७ जना पुगेको छ । जसमध्ये ९८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २९ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १६ हजार ८ सय ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २९ गते १ सय ९ जना डिस्चार्ज भएका छन् भने निको दर ६७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ८ हजार २५ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले भदौ ५ गतेसम्मका लागि लकडाउन थप गरेको छ । महानगरपालिकास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको साउन २९ गतेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरू साउन ३० गतेदेखि भदौ ५ गते मध्यरातसम्मका लागि बन्द गर्ने निर्ण्रागरेको छ । यसअघि पहिलो पटक साउन १६ गते राति १२ बजेदेखि साउन ३० गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो । विराटनगरमा कोरोना भाइरसको सङ्क्रमण बढेको कारण लकडाउन थप गरिएको महानगर प्रमुख भीम पराजुलीले बताउनु भयो । विराटनगरमा साउन २९ गतेसम्म ४ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार मेचीनगर नगरपालिका-१० मा रहेको आम्दा मेची अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साउन २९ गते अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएपछि अस्पताल शिल गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले बताउनु भयो । कोरोना भाइरसको जोखिम बढेपछि बुद्धशान्ति गाउँपालिकाले साउन २९ गतेदेखि भदौ ४ गतेसम्मका लागि लकडाउन गर्ने निर्ण्रागरेको छ । कोरोना भाइरसको जोखिम समुदायस्तरमा पुगेपछि लकडाउन गर्ने निर्ण्राभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले साउन २९ गते एक विज्ञप्ति जारी गर्दै उपचारको दायरा बढाएर कोभिड-१९ अस्पतालमा समेत कोरोना सङ्क्रमित बिरामी राखी उपचार थालिएको जानकारी गराएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएकाहरूलाई कोभिड-१९ अस्पतालमा राखी उपचार थालिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनु भयो । प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै १२ ओटा भेन्टिलेटर, २० ओटा एचडीयु युनिटसहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा साउन २९ गते सम्ममा ६ हजार ९ सय १३ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ४ सय १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ४ सय ५७ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २९ गते सम्ममा ३९ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरी जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अदालतबाट प्रवाह हुँदै आएको सम्पूर्ण सेवाहरू तीन दिनका लागि बन्द गरिएको छ । आदालतमा साउन २९ गते बसेको बैठकले साउन २६ गतेदेखि निरन्तर सुनवाइ हुँदै आएको मुद्दाको थुनछेकको कार्य बाहेक अदालतबाट प्रवाह हुँदै आएको सम्पूर्ण सेवाहरू साउन ३२ गतेसम्मका लागि स्थगित गरिएको निमित्त स्रेस्तेदार नवराज खड्काले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट जनकपुरधामका पुर्व मेयर ७२ वर्षीय पुरूषको साउन २८ गते उपचारको क्रममा मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणले बिरामी भएका उनको २० दिनदेखि ललितपुरको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मृतकका छोराले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार बौधिमाई नगरपालिकामा प्रदेश २ सरकारले २ महिना अघि उपलब्ध गराएको राहत अझै वितरण हुन नसकेको स्थानीय छोटेलाल बैंठाले आरोप लगाउनु भएको छ । सो सम्बन्धमा नगर प्रमुख राजिव रञ्जन यादवले सबै अधिकार वडा अध्यक्षलाई दिइएकाले त्यसको जबाफ आफूले दिन नसक्ने बताउनु भयो । वडा अध्यक्ष गुदर राय यादवले सो राहत वितरणमा ढिला भएको स्वीकार्दै अब तुरून्तै विरतण गर्ने जानकारी दिनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार साउन २९ गते सार्वजनिक पीसीआर रिपोर्टमा ६ महिला र दुई पुरुष स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना पुष्टि भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीले सेवा दिँदै आएका सबै स्वास्थ्य चौकी, शहरी स्वास्थ्यचौकी तथा शाखा सील गरिएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा साउन २९ गते काठमाडौँमा १ सय ११, मकवानपुरमा ४३, ललितपुरमा ११, चितवनमा ११, काभ्रेमा आठ, भक्तपुरमा पाँच, रामेछापमा तीन, सिन्धुलीमा दुई, नुवाकोट र दोलखामा एक/एक जना गरी १ सय ९६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या २ हजार ३ सय ६३ जना पुगेको छ । जसमध्ये ६ सय २७ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार ७ सय १९ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईँले बताउनु भयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पतालले आकस्मिक, डाइलासिस र सुत्केरी बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । साउन २८ गते गरिएको परीक्षणका क्रममा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेका अनुसार फ्रन्टलाइनमा रहेर काम गर्ने ५० जना स्वास्थ्यकर्मीहरूको बिहीबार २९ गते स्वाब सङ्कलन गरिएको छ ।
प्रभु बैङ्क सौराहा शाखाका एक कर्मचारीमा २८ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि सौराहामा रहेका बैङ्क तथा वित्तीय संस्था २९ गते बन्द गरिएको छ । यसैबीच, माडी नगरपालिकाले साउन ३१ गतेदेखि एक हप्ताका लागि नगरपालिका क्षेत्र शिल गर्ने निर्ण्रागरेको छ । हरितालिका तीजको अवसरमा हुने भीडभाडबाट कोरोना सङ्क्रमणको जोखिम उच्च रहने भन्दै नियन्त्रणका लागि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडीबाट बाहिर जान तथा माडी प्रवेश गर्नमा रोक लगाउने निर्ण्रागरिएको मेयर ठाकुरप्रसाद ढकालले बताउनु भयो । माडीमा अहिलेसम्म ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू सबै उपचारपछि घर फर्कीएका छन् । यता पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि इच्छाकामना गाउँपालिका साउन २९ गतेबाट शिल गरिएको छ । इच्छाकामना गाउँपालिका-५ घर भई भरतपुरस्थित मौलाकालिका अस्पतालमा उपचाररत एक वृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आकस्मिक बाहेकका सेवा र गाउँपालिकाले दिने सेवामा कटौती गरिएको कार्यकारी अधिकृत सुकदेव लम्सालले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौँ महानगरपालिका-१४ मा स्थित कलङ्की क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको भन्दै पसलहरू शिल गरिएका छन् । स्थानीय सरकार र प्रहरीको संयुक्त टोलीले कोरोनाको जोखिमबाट बच्न कलङ्की क्षेत्र शिल गरिएको हो । साउन २९ गतेदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगम कुँवरले बताउनु भयो । उहाँले कलङ्की चोकमा तरकारी, फलफुललगायतको व्यापार र सटरहरूमा भीड बढेपछि शिल गरिएको बताउनु भयो । डिएसपी कुँवरले काठमाडौँ महानगरपालिका-१४ मा २५ जनाभन्दा बढी कोरोना सङ्क्रमितहरू भेटिएको जानकारी दिनु भयो । वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाका अनुसार कलङ्की क्षेत्रमा बढ्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्याले भोलिका दिनमा अझ भयावह अवस्था आउन सक्ने भएकाले पनि शिल गर्नु परेको बताउनु भयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण फैलने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको क्षेत्र पनि बढाएको छ । साउन २८ गते राति १२ बजेबाट लागु हुने गरी प्रशासनले बेलकोटगढी नपाको वडा नं. १, २, ३, ४, ६ र ९ का सम्पूर्ण क्षेत्रहरूमा ६ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । बेलकोगढी नगरपालिकामा पनि समुदायस्तरमा एक जनामा सङ्क्रमण पुष्टि भएपछि निषेधाज्ञ जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । यसअघि जिल्लाका सदरमुकाम सहित विभिन्न पालिकामा लगाइएको १० दिने निषेधाज्ञा जारी नै रहेको छ । जिल्लामा बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न, धार्मिक, सांस्कृतिक कार्यहरू, सामाजिक कार्यहरू विवाह ब्रतबन्ध गर्न समेत रोक लगाइएको छ । साउन २९ गतेसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ पुगेको छ ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा नगरपालिका-९ लक्ष्मीबजारको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गरिएको कन्ट्रयाक्ट ट्रेसिङपछि गरिएको परीक्षणमा थप पाँच जनामा सङ्क्रमण देखिएपछि त्रास बढेको छ । समुदाय स्तरकै व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाका सरकारी कार्यालयहरू र सार्वजनिक स्थलमा उच्च सतर्कता अपनाइएको छ । साउन २९ गते बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जिल्ला प्रशासन, मालपोत जस्ता सेवाग्राहीको भीडभाड हुने कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक सेवाहरू बन्द गर्ने निर्ण्रागरेको छ । सभावित जोखिम न्यूनिकरण रोकथाम र व्यवस्थापनको लागि सरकारी कार्यालयबाट सार्वजनिक सेवा प्रवाह गर्दा अनावश्यक भीडभाड रोक्न, सामाजिक दूरी कायम गराउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गराउन नसकेको गुनासो बढेसँगै सचेतना अपनाइएको प्रशासनका अधिकृत हर्क रोकाले बताउनु भयो ।
नवलपरासी पूर्व प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा अत्यावश्यक बाहेकको सेवालाई २०७७ भदौ ६ गतेसम्म कडाइ गरिएको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका काममा कडाइ गरेको हो । बैङ्क तथा वित्तीय संस्था र सहकारीबाट सेवाग्राहीको उपस्थितिमा हुने सेवालाई भदौ ६ गतेसम्म पूर्ण स्थगन गर्दै विद्युतीय प्रणालीमा सञ्चालन गर्ने, बढी भिडभाड हुने सरकारी कार्यालयहरूमा न्यून कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी मात्रै कार्यालय सञ्चालनको व्यवस्थापन गर्ने, बिरामी र अत्यावश्यक काममा बाहेक घर बाहिर नहिँड्ने तथा माक्सको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न भन्दै भदौ २९ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो । त्यसैगरी, राति ९ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्र हिँडडुल गर्न समेत रोक लगाइएको प्रशासकीय अधिकृत आनन्द भुसालले बताउनु भयो । कावासोति नगरपालिकामा एक जना पत्रकार र एक जना बैङ्क कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सरकारी तथा गैरसरकारी संघसंस्था, बैङ्क तथा वित्तीय संस्था सहित सम्पूर्ण होटल तथा रेष्टुरेन्ट र पर्यटन व्यवसाय भदौ ६ गतेसम्म बन्द गर्ने निर्ण्रागरेको नगरपालिकाका प्रवक्ता खेमप्रसाद काफ्ले बताउनु भयो । मालपोत कार्यालय कावासोतिमा भदौ २८ गते सेवा लिन गएका एक जना सेवाग्राहीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयले भदौ ६ गतेसम्म कार्यालयबाट हुने सेवा बन्द गरेको छ । जिल्लाको बिनयीत्रिवेणी गाउँपालिकाले गाउँपालिकाको १ र २ नम्बर वडालाई अनिश्चित कालको लागि शिल गरेको छ । सो क्षेत्रमा एक जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि शिल गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले बताउनु भयो ।
प्रदेश ५
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिदै गएपछि बुटवल उपमनपाले बुटवलमा लकडाउन गर्ने निर्ण्रागरेको छ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको उपस्थितिमा साउन २८ गते उपमनपाको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले साउन २९ गते रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्ण्रयगरेको हो । उपमनपाका मेयर शिवराज सुवेदीको अध्यक्षता तथा विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनिधिहरूको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्ण्रयगरेको मेयर सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । लकडाउन अवधिमा अत्यावश्यकीय सेवा बाहेकका सबै सेवाहरू बन्द गरिएका छन् । यसैगरी तिलोत्तमा नगरपालिकाले पनि अत्यावश्यक सेवा बाहेका अन्य सेवा सञ्चालन नर्गन विज्ञप्ति मार्फत जनाएको छ ।
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार जिल्लामा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदाय स्तरमा देखिएको छ । कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्जबाट सरुवा भएर रोल्पा पुगेका ग्लोवल आइर्एमई बैङ्कका कर्मचारीहरू कार्यालयमा हाजिर भएर काम गर्न थालेपछि सङ्क्रमणको जोखिम कम गर्न उक्त बैङ्क र मालपोत कार्यालय साउन २८ गतेदेखि शिल गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताउनु भयो । उहाँका अनुसार नेपालञ्जस्थित ग्लोबल बैङ्कमा धेरैजना कर्मचारीहरू कारोना सङ्क्रमण पुष्टि भएको कारण उनीहरू पनि सङ्कास्पद भएको भन्दै उक्त स्थानलाई शिल गर्नु परेको बताउनु भयो । उनीहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि पाठाइएको छ भने अन्य सबै कर्मचारीहरू होम क्वारेन्टाइनमा रहेका छन् ।
कर्णाली प्रदेश
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार मुसीकोट नगरपालिकाको खलङ्गा बजारमा कोराना भाइरसको सङ्क्रमण देखिएपछि ०७७ साउन २८ गते बिहान ४ बजेदेखि भदौ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । खलङ्गा बजारका ३४ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सील गर्ने निर्णय गरेको हो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार पछिल्लो दिनमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै आएपछि वीरेन्द्रनगर नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । वीरेन्द्रनगर नपाले साउन २८ गते एक सूचना जारी गरी सेवा बन्द गर्ने जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार जिल्लामा कोरोना सङ्क्रमण बृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले साउन २९ गतेदेखि सवारी पास वितरण बन्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…