कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वैशाख २४ गते पर्सामा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
वैशाख २४ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकामा दुई महिनाका शिशु समेत छन् । वैशाख २४ गते पुष्टी भएका सङ्क्रमितमध्ये १० पुरूष र सात जना महिला छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । निको भएर घर फर्किएकाको सङ्ख्या २२ छ । तर, तिमध्ये तीन जनामा पुनः सङ्क्रमण देखिएको छ । वैशाख ११ गते डिस्चार्ज हुनुभएका ५८ वर्षीय काठमाडौँका पुरुषलाई फलोअप नमुना परीक्षण गर्दा पुनः कोरना पोजेटिभ देखिएकोले पाटन अस्पताल भर्ना गरिएको छ । त्यसैगरी वैशाख १४ गते डिस्चार्ज हुनुभएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषलाई पनि पुनः कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार १४ हजार ९६ पीसीआर विधिबाट परीक्षण भएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० रहेको छ । जसमा प्रदेश १ मा ६ हजार ३ सय २८, प्रदेश २ मा ५ हजार ७ सय ९७, बागमती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार १ सय ९७, प्रदेश ५ मा ५ हजार ३ सय ३०, कर्णाली प्रदेशमा ५ हजार ९ सय ७७ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ४ सय १ ओटाको नमुना स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।
प्रदेश १
प्रदेश १ मा कोरोनाको उपचारपछि ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराएका ६ जना भारतीय नागरिक वैशाख २४ गते डिस्चार्ज भएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका-३ मा रहेको नुरी मस्जिदमा बसेको अवस्थामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टी भएका उनीहरू विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थिए । डिस्चार्ज भएकाहरू विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन बस्नुपर्ने छ । त्यसका लागि १० शैयाको शौचालय सहितको क्वारेण्टाइन तयार गरिएको छ ।
प्रदेश १ मा वैशाख २४ गतेसम्म कोरोना भाइरस शङ्कास्पद १ हजार ७ सय ३२ जनाको स्वाब सङ्कलन गरिएको छ । प्रदेश १ मा आरडीटी विधिबाट ६ हजार ५ सय ५९ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका १ हजार ६ सय ६४ जना महिला र ५ हजार ३ सय ७८ जना पुरुष गरी ६ हजार ५ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले वैशाख २४ गतेसम्म ५ हजार ९ सय ९८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । वैशाख २४ गते मात्र ८५ वेड थप गरिएको छ । आइसोलेशनमा बस्नेको सङ्ख्या ४४ जना पुगेको छ । आइसोलेशनमा रहेका ६ जना पुरुष वैशाख २४ गते डिस्चार्ज भएका छन् । प्रदेश १ मा होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ७ हजार ५ सय ४५ जना पुगेको छ । होमक्वारेन्टाइनमा १ हजार ४ सय ८७ जना महिला र ६ हजार ५८ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भोजपुरको षडानन्द नगरपालिकाको गान्धि हस्पिटलमा निर्माण गरिएको क्वारेन्टाइन मापदण्ड अनुसार नै सामाजिक दूरी रहेको भए पनि पानीको अभाव रहेकोले पानीको व्यवस्थापनको लागि सरोकारवालाहरूलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनु भयो । क्वारेन्टाइनमा सात जना महिला र १८ जना पुरुष रहेका छन । ६ वर्षीया र १२ वर्षीया बालिका क्वारेन्टाइनमा छन् ।
सुनसरीका किँरात राई समुदायले हरेक वर्ष मनाउँदै आएको साकेला उभौली-२०७७ वैशाख पूर्णिमा (यलम्बर संवत् ५०८०) यसपटक घरघरमै मनाउनका लागि किरात राई यायोक्खा सुनसरीले आग्रह गरेको छ ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश २
प्रदेश २ अन्तर्गत पर्सा जिल्लामा सात महिला र १० पुरुष गरी १७ जनामा वैशाख २४ गते कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई महिनादेखि ६६ वर्ष उमेर समूहका १७ जनामा कोरोना पुष्टी भएको छ । योसँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
प्रदेशमा वैशाख २४ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ६ सय ६१ जनाको स्वाब सङ्कलन गरिएकोमा २ हजार ३ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । ३ सय २ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख २४ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ३ सय ४८ जनाको गरिएकोमा ५ हजार ३ सय ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा वैशाख २४ गतेसम्म १ हजार ३ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ३ सय ३२ जना होमक्वारेन्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका ३० जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् ।
लकडाउनका कारण नेपाल-भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरू रोकिएपछि घर फर्किन जनप्रतिनिधिदेखि अभियानकर्मीलाई सहयोग माग गरिरहेका छन् । भारत उत्तर प्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरू १५ दिन पैदल हिँडेर जयनगरसम्म वैशाख २३ गते आइपुगेका थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले केन्द्रकै निर्देशन अनुसार भारतमा रहेका नेपालीहरूलाई भारतमै व्यवस्थापन गर्ने र नेपालमा रहेका भारतीयहरूलाई नेपालमै व्यवस्थापन गर्ने निर्देशन भएको हुँदा उनीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइएको बताउनु भयो ।
लकडाउनका कारण प्रभावित गरिब, विपन्न श्रमिक वर्ग असहायहरूलाई सङ्घीय सरकार तथा प्रदेश सरकारको मापदण्ड अनुसारको राहत वितरण नभएको भन्दै मानव अधिकारकर्मी विनोद महरा र अधिवक्ता भोगेन्द्र यादवले वैशाख २४ गते उच्च अदालत जनकपुरमा रिट दायर गरेका छन् । रिट दायर भएपछि वैशाख २४ गते नै उच्च अदालत जनकपुरले सो सम्बन्धमा परमादेश प्रतिषेध जारी गरेको छ । रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुर, जनकपुरधाम उपमहानगरपालिका, धनुषाका सबैला नगरपालिका, कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका, नगराईन नगरपालिकालाई विपक्षी बनाइ मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा न्यायाधिश राजेश्वर तिवारीको एकल इजलाशले कोरोना नियन्त्रण, राहत वितरण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति, निर्देशन र मापदण्ड बमोजिमको कार्य गर्नु गराउनु भनी विपक्षीहरूको नाममा वैशाख २४ गते परमादेश प्रतिषेध जारी गरेको छ । रिटमाथि निवेदकको तर्फबाट अधिवक्ताद्वय विपिन कुमार झा र राजकुमार महासेठले बहस गर्नुभएको थियो ।
कोभिड १९ को सन्दर्भमा सिरहा जिल्लामा गठित मानव अधिकार अवस्था अनुगमन समितिमा इन्सेक प्रतिनिधि दुर्गा परियार र ओरेककी देवकुमारी महरालाई वैशाख २४ गते सदस्यमा मनोनित गरेको समितिका संयोजक दिनेश्वरप्रसाद गुप्ताले बताउनु भएको छ ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
बागमती प्रदेश
यस प्रदेशमा सात जनालाई कोरोना सङ्क्रमण पोजेटिभ भएकोमा दुई जना पाटन अस्पताल, तीन जना टेकु अस्पताल र एक जना भरतपुर अस्पतालमा गरी ६ जना उपचारपछि घर फर्किसकेका छन् । हाल एक जनाको भरतपुर अस्पतालमा उपचाररत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पाटन अस्पतालबाट डिस्चार्ज भएका एक जनामा कोरोना सङ्क्रमण पुनः देखिएको छ । हालसम्म यस प्रदेशमा ९ सय ४७ शैयाको आइसोलेशन रहेकोमा १० जनालाई आइसोलेशनमा राखिएको छ ।
प्रदेशमा ८ हजार ९ सय ४० जनामा आरडीटी परीक्षण गरिएकोमा १९ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । वैशाख २३ गते आरडीटी पोजेटिभ देखिएका एक पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यस्तै हालसम्म पीसीआरको लागि २ हजार २ सय ५६ ओटा नमूना सङ्कलन भएकोमा सात ओटामात्रै पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहले निर्माण गरिएका ५ सय २७ बेडका क्वारेण्टाइन केन्द्रहरू मध्ये मापदण्ड नपुगेको भन्दै तीन स्थानमा रहेका २१ बेडको क्वारेण्टाइन केन्द्र बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समिति समेत रहेको जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गरी सुनकोशी गाउँपालिका-४ मा रहेको चार बेड, सोही गाउँपालिका-७ मा रहेको सात बेड र भोटेकोशी गाउँपालिकामा रहेको १० बेडको क्वारेण्टाइन बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइले बताउनु भयो ।
चितवनको रत्ननगरमा जग्गा व्यवसायीले प्लटिङ गरेर बाँझो रहेका जग्गामा खेती गर्ने कामलाई तीव्रता दिइएको छ । वडा नं १४ पछि रत्ननगर नगरपालिका-४ मा बाँझो जमीन जोतेर सामूहिक खेती गर्न सुरु गरिएको हो । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई उत्पादनशील क्षेत्रमा लगाउन रत्ननगर नगरपालिकाले सामूहिक खेती सुरु गरेको हो । रौतहटको इटा भट्टाबाट फर्केका मजुदरहरूलाई सिन्धुलीको क्वारेण्टाइनमा राखिएको छ । मरिण गाउँपालिका-७ का थामी समुदायका १८ जनालाई मरिण गाउँपालिकाको कपिलाकोटको मरिण बहुमूखी क्याम्पसको क्वारेण्टाइनमा राखिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख २४ गते थप २५ जनाको स्वाब परीक्षणको लागि नमूना सङकलन गरिएको छ । प्रदेशमा हालसम्म कुल ६ सय ८५ जनाको स्वाब परीक्षण गरिएको छ भने ६ सय ५८ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २५ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा वैशाख २४ गते सम्म कुल ६ हजार ३ सय ४७ जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
पर्वतका स्वास्थ्य संस्थाहरुमा ज्वरोनाप्ने यन्त्र थर्मलगनको समस्या भएपछि स्वास्थ्य संस्थाहरुले सहज रुपमा विरामीहरूलाई सेवा दिन सकेका छैनन् । पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीहरूको गुनासो धेरै आएपछि लकडाउनको ४३ औँ दिन वैशाख २४ मात्रै पर्वतका विभिन्न १३ वटा स्वास्थ्य संस्थामा थर्मलगन वितरण गरेको छ ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश ५
विश्वमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गठित प्रदेश ५ को क्राइसिस म्यानेजमेण्ट समितिको बैठकले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ । त्यसै गरी प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणको प्रभाव नेपालगञ्जमा बढी देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने, कोरोना भाइरसका शङ्कास्पद बिरामीहरूको पीसीआर परीक्षणलाई जोड दिने निर्णय भएको समितिले जनाएको छ ।
बाँकेमा २३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएपछि विश्व स्वास्थ्य सङ्गठनको टोली वैशाख २३ गते नेपालगञ्ज पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले २३ जना कोरोना सङ्क्रमितको सम्पर्क भएका व्यक्तिहरूको थ्रोट स्वाब सङ्कलन गरिएको बताउनुभयो । रोजगारीको सिलसिलामा भारत गएका नेपाली लुकिछिपी नेपाल प्रवेश गर्नेहरूले यतिबेला कपिलवस्तुमा त्रास फैलाएको छ । भारतले लकडाउनलाई खुकुलो बनाएसँगै नेपाली मजदुर फर्कनेको सङ्ख्या बढेको छ । दाङमा लकडाउनको अवज्ञा गरेको भन्दै प्रहरीले २ सय जनालाई सडकमै दुई घण्टा उभ्याएको छ । त्यसैगरी ८४ ओटा गाडीलाई सडकमै 'होल्ड' गरी पुनः गल्ती नदोहोर्याउने शर्तमा छोडिएको हो ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
कर्णाली प्रदेश
जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएपछि नगरपालिकाले आफ्नै खर्चमा करारमा एमडी गरेका डाक्टर आरके मण्डललाई नियुक्त गरिएको छ । कोभिड-१९ को महामारी फैलिरहेको अवस्थामा नगरपालिकाभित्र एक जना पनि चिकित्सक नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भइरहेको थियो ।
हुम्ला जिल्लाका सात ओटा स्थानीय तहमध्ये अदानचुली गाउँपालिकामा २१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ भने अन्य ६ ओटा स्थानीय तहमा ठूलो सङ्ख्यामा पैदल तथा हवाइमार्गबाट जिल्ला भित्रिएका नागरिकको कोरोना भाइरस परीक्षण किटको अभाव हुँदा रोकिएको छ । जुम्ला जिल्लाको तिला गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाले लकडाउनको कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घरघरमा गई वितरण गर्न थालिएको छ ।
सल्यान जिल्लाको त्रिवेणी गाउँपालिकामा पहिलो चरणमा २ सय ५७ घरपरिवारलाई राहत वितरण गरेकोमा दोस्रो चरणमा ६ सय घरपरिवारलाई राहत वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनु भयो । पहिलो चरणमा राहत पाएकालाई नदोहोरिने गरी बाँकी विपन्न परिवारलाई राहत वितरण गरिरहेको उहाँले बताउनु भयो ।
लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिकाले १४ वडाका ७ सय २१ विपन्न परिवारलाई १५ लाख बराबरको राहत वितरण गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिनु भयो ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार अनुगमन समितिको वैशाख २३ गते भिडियो बैठकमा कैलालीको, पलिया र कञ्चनपुरको बनवासा, टनकपुरस्थित क्वारेण्टाइनमा रहेका नेपाली नागरिकहरूको मानव अधिकार संरक्षण गर्न पुनः आग्रह गरिएको छ । सर्वोच्च अदालतको आदेश र राष्ट्रिय मानव अधिकार आयोगबाट भएको यसअघिको ध्यानाकर्षण समेतलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षण गरी सुरक्षितरूपमा स्वदेशकै क्वारेण्टाइनमा राख्नुपर्ने विषयमा नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउने बैठकले निश्कर्षनिकालेको हो ।
बाजुरा जिल्लाको बुढीगङ्गा-९ त्रिशक्ति क्वारेन्टाइनमा बसेकालाई वैशाख १८ गते कुहिएको चामल खानु परेको गुनासोपछि ल्याब परीक्षण गरिने भएको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताउनु भयो । बझाङ जिल्लामा बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना क्वारेण्टाइनमा रहेकाहरूको र्यापीड टेष्ट गर्नका लागि किटको अभाव भएको छ ।
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले ६ सातादेखि लकडाउनका कारण आर्थिक समस्या झेल्दै आएका धनगढी, महेन्द्रनगर र काठमाडौँमा रहेका विद्यार्थीको लागि प्रति विद्यार्थी १ हजार ५ सय रुपियाँका दरले ५ सय विद्यार्थीका लागि राहत रकम पठाइएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनु भयो । त्यसैगरी, चार महिनाअघि मजदुरी गर्न गएका नेपाली लकडाउनका कारण भारतमै रोकिएकाले वैशाख २४ गते दार्चुला जिल्ला नौगाड गाउँपालिका-३ का पाँच जना महाकाली नदी ट्युब तरेर र महाकाली नगरपालिका-५ का एक जना पौडी खेलेर नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताउनु भयो ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका बैतडी जिल्लाका नेपालीहरूले भारतमा लगातार कोरोना भाइरस सङ्क्रमितको सङख्या बढ्दै गएको र लकडाउनका कारण रोजीरोटीमा असर परेकाले छाक टार्नै मुस्किल भएकोले स्वदेश फर्काउने पहल गरिदिन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…