कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २३ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना सङ्क्रमण भेटिएको बताउनुभयो । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितहरू २२, ३० र ४० वर्षीय पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका उहाँले जानकारी दिनुभयो ।

प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । हाल उपचारमा रहेका बिरामीको सङ्ख्या ६६ छ । जसमा रुपन्देहीमा एक, बाँकेमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना रहेका छन् । सबैको अवस्था सामान्य रहेको छ । डाक्टर देवकोटाका अनुसार १३ हजार ८ सय ५० जनामा पीसीआर विधिबाट परीक्षण भएको छ भने आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनामा रहेका छन् । जसमा प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदुरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको नमुना स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो ।

प्रदेश १

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ जना डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा वैशाख २३ गते आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनालाई वैशाख २४ गते बिहान ८ बजे डिस्चार्ज गरिने बताउनु भयो । वैशाख ५ र ६ गते उदयपुरबाट ल्याइएका १३ जना कोरोना सङ्क्रमित मध्ये ६ जनामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताउनु भयो । तीन पटकसम्म उनीहरूको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टी गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको हो । वैशाख २४ गते डिस्चार्ज गरिने सबै भारतीय नागरिकहरू रहेका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताउनु भयो । क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको उहाँले बताउनु भयो । दश ओटा वेड रूम र दश ओटा शौचालय भएको मस्जिदमा राखिने तयारी सामाजिक विकास मन्त्रालयले गरेको छ । कोभिड अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सङ्गीता मिश्राले बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित अधिकारकर्मीहरूले प्रदेश १ का नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न माग गर्दै कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई वैशाख २३ गते ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा रहेको नोवेल मेडिकल कजेलले लकडाउनको अवधिमा प्रसूति गराउन आएकी उदयपुर त्रियुगा नगरपालिका-११ की एक जना गर्भवती महिला र भाँचिएको हातको शल्यक्रिया गराउन अस्पताल भर्ना भएका एक जना युवालाई उदयपुरवासी भन्दै उपचार नगरी अस्पतालबाट फिर्ता पठाएको विषयमा अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै कानुन मन्त्री हिक्मतकुमार कार्कीले कोरोना जोखिमका समयमा निजी अस्पतालले उपचारबाट वञ्चित गराएको विषयमा नागरिक समाजबाट खबरदारी गरी राज्यलाई सहयोग पुर्‍याएको बताउनु भयो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा वैशाख २३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ६ सय १० जनाको स्वाब सङ्कलन गरिएकोमा २ हजार २ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । ३ सय ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख २३ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ३ सय १६ जनाको गरिएकोमा ५ हजार ३ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा वैशाख २३ गतेसम्म १ हजार २ सय ७४ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ३ सय ६४ जना होमक्वारेन्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका ३१ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामको हाता भित्र रहेको नरसिङ्ग क्याम्पसमा निर्माण गरिएको कोभिड अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) को पोजेटिभ बिरामीलाई उपचार गर्नको लागि तयारी अवस्थामा राखिएको जनाइएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नागेन्द्रप्रसाद यादवले प्रादेशिक अस्पतालमा नै भएका भेण्टिलेटर, मोनिटर, अक्सिजन सहितको उपकरणहरू जडान गरेर ४३ बेड क्षमताको कोभिड-२ लेभलको अस्पताल निर्माण गर्ने काम सम्पन्न भएको र पोजेटिभ बिरामीको उपचार गर्नका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिनु भयो ।

पर्साको बीरगञ्जको नारायणी अस्पतालमा वैशाख २३ गतेदेखि पीसीआर मेशिन सञ्चालनमा आएको छ । अस्पतालमा जडान भएको पीसीआर ल्याबबाट आज पहिले चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भयो ।

रौतहटको बौधिमाई नगरपालिका-६ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष हृदयनारायण यादवले राहत वितरणमा भेदभाव गरेको भन्दै स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानीय बीच झडप भएको छ । प्रहरीले लाठीचार्ज गरेपछि स्थानयीले ढुङ्गामुडा प्रहार गरेका थिए । स्थानीयले प्रहार गरेको ढुङ्गा लागेर एक प्रहरी जवान घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोपवाका प्रमुख परमानन्द यादवका अनुसार सर्वदलीय निर्णय अनुसार राहत वितरण भइरहँदा असन्तुष्ट पक्षले अवरोध गरेपछि लाठीचार्जको अवस्था आएको थियो । राहत वितरण कार्य तत्कालका लागि स्थगित भएको छ ।

यसैगरी लकडाउनका कारण रोजगारी गुमेको र खाद्यान्न सकिएपछि खान समस्या हुँदा समेत गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले वैशाख २२ गते महोत्तरीको सम्सी गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बारामा लकडाउनबाट प्रभावित गरगहना बनाउने १ सय जना कालीगढहरूलाई नेपाल सुन चाँदी राहत वितरण गरेको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेशमा ९ सय ४३ शैयाको आइसोलेशनमध्ये हाल मकवानपुरमा तीन, ललितपुरमा तीन र धादिङमा दुई गरी आठ जना आइसोलेशनमा रहेका छन् । प्रदेशमा ८ हजार ८ सय ५३ जनामा आरडीटी परीक्षण गरिएकोमा १८ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । यस्तै हालसम्म पीसीआरको लागि २ हजार २ सय २४ ओटा नमूना सङ्कलन भएकोमा सात ओटामात्रै पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

बारीमा लगाएको तरकारी समयमै विक्री नहुँदा धादिङको धुनिवेशी नगरपालिकाका किसानले ३ करोड रुपियाँ बराबरको नोक्सानी व्यहोरेका छन् । लकडाउनले गर्दा तरकारी बिक्री नभएपछि करिब ३ करोड बराबरको तरकारी बारीमै कुहिएर खेर गएको धुनिबेशी नगरपालिकाले जनाएको छ ।

काठमाडौं उपत्यकाका नगरपालिकाका मेयरहरूले काठमाडौँ आउने जानेलाई पूर्णरूपमा रोक्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी आग्रह गरेका छन् । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना सङ्क्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेशलाई पूर्णरूपमा रोक्नुपर्ने माग राखेका हुन् ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख २३ गतेसम्म कुल ६ सय ६० जनाको स्वाब परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा वैशाख २३ गते १ सय १५ जनाको र हाल सम्म कुल ६ हजार १ सय ८९ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

पोखरा महानगरपालिकाले वडा नं १८ का काजलारी समुदायलाई दैनिक ज्यालादारी रूपमा रोजगारी उपलब्ध गराएको छ । महानगरपालिकाले फेवाताल किनारमा रहेका जलारी समुदायको घरको एक जनाका दरले र अवस्था दयनीय भएको परिवारका तीन जनासम्मलाई फेवातालमा जलकुम्भी निकाल्ने काम दिइएको छ । तालबाट जलकुम्भी झिके बापत एक जनाले दैनिक ३ सय ५० रुपियाँ ज्याला पाउँछन् ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

प्रदेश ५ मा वैशाख २३ गतेसम्म ८ हजार १ सय २७ जना व्यक्ति क्वारेण्टाइनमा रहेका छन् । भने ४० जना आइशोलेसनमा रहेका छन् । हालसम्म १ हजार ३ सय ६६ जनाको थ्रोट स्वाब परीक्षण गरिएकोमा १ हजार २ सय ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ४ जनाको रिपोर्ट आउन  बाँकी रहेको छ । वैशाख २३ गतेसम्म ५ हजार ३ सय ३० जनाको आरडीटी परीक्षण गरिएको छ ।

बाँकेमा वैशाख २३ गते सात जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा नौ वर्षदेखि  देखि ५५ वर्ष उमेर सम्मका चार जना महिला र तीन जना  पुरूषमा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ । रुपन्देहीमा एक जना गरी प्रदेश ५ मा २४ जना सङ्क्रमितको आइसोलेशनमा उपचार भइरहेको छ । जसमध्ये १२ जना महिला र १२ जना पुरुष रहेका छन् । नेपालगञ्ज उपमनपामा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते तीन दिनका लागि निषेधज्ञा जारी गरेको छ । वैशाख २३ गते बिहान ११ बजेदेखि वैशाख २५ गते मध्यरातसम्म निषेधज्ञा जारी गरेको हो ।

वैशाख २२ गते राति सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले भारतदेखि कपिलवस्तु आएका ९९ जना नेपालीहरूलाई नियन्त्रणमा लिई दशगजामा राखिएको छ । भारतले क्वारेण्टाइनमा नराख्ने भएपछि समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ हुबहु लागु गरी क्वारेन्टाइनमा राख्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख २२ गते मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित जुम्लाको एक नगरपालिका, सात गाउँपालिका सहायक प्रमुख जिल्ला अधिकारी, संयोजक, क्वारेण्टाइन सञ्चालन तथा व्यवस्थापन समिति जुम्लालाई अदालतले आदेश गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारत र नेपालमा लकडाउन लम्बिँदै गएको कारण मजदुरी गुमेको भन्दै भारतका विभिन्न शहरमा अलपत्र परेका दैलेखका नागरिकले उद्दारको पहल गरिदिन आग्रह गरेका छन् । करिब ४० हजार दैलेखका युवा भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका र त्यहाँ समस्यामा परेको जानकारी आएको तर लकडाउन कडा पारिँदै गएको कारण अहिलेलाई ल्याउन नसकिने जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले टिप्पणी गर्नु भयो ।

लकडाउनकै अवधिमा करिब १२ हजारभन्दा बढी मानिस जाजरकोटमा भित्रिएकोमा ५ सय जनाको मात्र र्‍यापीड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत चेक जाँच गरिएको छ । किट अभावमा अन्यको परीक्षण हुन सकेको छैन ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

लकडाउनका कारण खाद्यान्न लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि सवारी साधन चलाउन पास लिएका सवारी साधनको दुरुपयोग हुन थालेपछि वैशाख २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विभिन्न मितिमा जारी गरेका सबै पास रद्द गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नूर खतिवडाले अवधि नतोकिएका सवारीसाधनको दुरुपयोग भएकाले अर्को व्यवस्था नहुञ्जेलसम्म पास रद्द गरिएको जानकारी दिनु भयो ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पनि अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन जारी भएका सबै पास रद्द गरिएको छ । मालिकार्जुन गाउँपालिकाले वैशाख २३ गते आठ ओटै वडाका स्वास्थ्य चौकीमार्फत दिर्घरोगीलाई निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

भारतको विभिन्न क्षेत्रबाट घर आउनका लागि हिँडेका बझाङ जिल्लाको थलारा गाउँपालिका घर भएका ९३ जना लकडाउनका कारण आवतजावत बन्द गरेपछि भारतको रामपुरको एक सार्वजनिक घरमा बनाएको क्वारेन्टाइनमा प्रहरीले राखेको ३९ दिन भएको छ । क्वारेण्टाइन बसेकाहरूले पत्रकार तथा मानव अधिकारकर्मीहरूलाई नेपाल आउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । त्यसैगरी, भारतको बैंग्लोरबाट घर फर्किन लागेका बैतडीका ५० जना दिल्लीमा ४० दिनदेखि अलपत्र परेका बैतडीको दोगडाकेदार-८ कालागाउँका डम्बर बिष्टले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क