कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)

साउन २१ गते ३ सय ८१ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ३ सय ९० जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २१ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १५ हजार १ सय ५६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २१ गते १ सय ३० जना डिस्चार्ज भएका छन् भने निको दर ७०.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तर, साँझसम्ममा थप तीन जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । योसँगै मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ । साउन २१ गते कोरोना सङ्क्रमित पर्साका एक जना पुरुष र एकजना महिला, मोरङका दुई जना पुरुष र काठमाडौँकी एक जना महलिाको मृत्यु भएको हो । ६ हजार १ सय ७४ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

Chart_20200805

प्रदेश १ 

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना सङ्क्रमित दुई जनाको साउन २१ गते उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरूष र रङ्गेली नगरपालिका–८ का ४५ वर्षीय पुरूषको मृत्यु उपचारकै क्रममा भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । मृत्युपछि दुवै जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डाक्टर दासले बताउनुभयो । मोरङमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकाका एक–एक जना पुरूषको मृत्यु भएको थियो ।

प्रदेश २ 

प्रदेश २ मा साउन २१ गते सम्ममा जम्मा ५ हजार ८ सय ५६ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार २ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ६ सय २२ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २१ गते सम्ममा २२ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना भाइरसको महामारी समयमा विदेशबाट आएका र कोरोनाको लक्षण देखिएका सप्तरीको डाक्नेश्वरी नगरपालिका, रुपनी र राजगढ गाउँपालिकाका तीन जनाको साउन २० गते राति मृत्यु भएको छ । मृत्युको कारण पहिचान गर्न स्वास्थ्य कार्यालय, सप्तरीले साउन २१ गते राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएका डाक्नेश्वरी नपा–९ पत्थरगाढाका ७१ वर्षीय पुरूष, राजगढ गाउँपालिका–६ कुरनवा टोलका ८५ वर्षीय पुरूष तथा उपचारका लागि धरान लैजादै गर्दा मृत्यु भएका रुपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरूषको मृत्यु पछि स्वाब सङ्कलन गरिएको छ । तत्काल दाह संस्कारमा रोक लगाउँदै छिन्नमस्ता अस्पतालमा मृतकको घरमै पुगेर स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । स्वाब सङ्कलन पश्चात स्थानीय प्रहरी र जनप्रतिनिधिको निगरानीमा सतर्कताका साथ शव व्यवस्थापनको जिम्मा लगाइए पनि दाहसंस्कार गर्न २०÷२५ जना मलामी गएको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साहले बताउनु भयो । सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै लक्षण देखिएका सङ्क्रमितहरू भेटिन थालेको भन्दै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजितकुमार झाले सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार समुदाय एवम् सर्वसाधारणमा कोभिड १९ को सङ्क्रमणको जोखिम कम गर्न साउन २४ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी रौतहट जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा सङ्क्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । उक्त आदेशमा अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यदि कोही कसैले उक्त नियम वितरीत कार्य गरेमा कडा कारवाही गरिने अधिकारीले बताउनु भयो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा जारी गरेर निगरानी गरेपनि जिल्लामा साउन २१ गते मात्र २९ जनामा कोभिड–१९ रोग पुष्टि भएकाले जिल्लाका सबै नागरिक सचेत भएर रोगबाट बच्न आग्रह गर्दै नागरिकको जीवन रक्षाका लागि प्रशासनले कडाइ गर्ने बताउनु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखा र उपमहानगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारीमा साउन २० गते कोभिड–१९ सङ्क्रमण भएकाले साउन २० गतेदेखि अर्को सूचना जारी नगरेसम्मका लागि अति आवश्यक सोवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरीले बताउनु भएको हो । पचरौता नगरपालिकाको विपद् व्यवस्थापन समिति र नगर कार्यपालिकाको बोर्ड बैठकको साउन २० गतेको निर्णय अनुसार साउन २१ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको नगर प्रमुख रमेशकुमार यादवले बताउनु भएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा पालना गर्न अनुरोध गरिएको नगर प्रमुख यादवले बताउनुभएको छ ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण बीरगंज महानगरपालिका–१५ का ४६ वर्षीय पुरुषको साउन २१ गते बिहान मृत्यु भएको छ ।  बीरगंजको गण्डक बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उहाँको २१ गते  बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गङ्गा पन्तले जानकारी दिनु भयो  । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ सङ्क्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उहाँमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि २० गते राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । त्यस्तै साउन १९ गते उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएकी पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्युपछि गरिएको परिक्षणमा साउन २० गते कोरोना भाइरसका सङ्क्रमण पुष्टी भएको हो । झाडा पखलाले सताएपछि उहाँलाई साउन १९ गते उपचारकोलागि बीरगंजको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

बागमती प्रदेश

यस प्रदेशमा साउन २१ गते काठमाडौँमा ५७, ललितपुरमा पाँच, मकवानपुरमा तीन, धादिङमा दुई र सिन्धुपाल्चोकमा एक जना गरी ६८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३ सय ३७ जना पुगेको छ । जसमध्ये ५ सय ४३ जना उपचारपछि घर फर्किएका छन् भने ७ सय ८४ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ जनाको मृत्यु भएको छ ।

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयले साउन २० गते राति सूचना प्रकाशन गरी विद्यालयहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लामा केही संस्थागत तथा सामुदायिक विद्यालयहरू सञ्चालन गरी बालबालिकाहरूलाई पठनपाठन गरेको भन्ने जानकारी प्राप्त भएकोले सरकारको निर्णयानुसार विद्यार्थीको पठनपाठनको मिति सुनिश्चित नहुँदै कुनै पनि विद्यालय, कोचिङ सेन्टर, ट्यूसन सेन्टर सञ्चालन नगराउन भनिएको छ । कोही कसैले अटेर गरी सञ्चालन गरेमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्न प्रहरीले निर्देशन समेत दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले साउन २१ गते विदुर नगरपालिका–ंं९ मा एक महिला र ककनी गाउँपालिका–५ का एक पुरुषमा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि सो क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । साथै, साँझ ६ बजेबाट लागु हुने गरी विदुर नगरपालिका क्षेत्रका सार्वजनिक यातायत र होटेल, रेष्टुरेन्ट र लजहरू सञ्चालन गर्न रोक लगाएको छ ।

गण्डकी प्रदेश

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अस्पताल बागलुङमा कार्यरत एक नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको बहिरंग सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । अस्पतालले साउन २१ गते साँझ विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि थप स्वास्थ्यकर्मी र सर्वसाधारणमा कोरोना फैलिन नदिन र कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा बन्द गरेको जानकारी गराएको छ । अस्पतालले धौलागिरी बहुमूखी क्याम्पसमा निर्माण गरेको प्रि–आइसोलेशनमा खटिएकी नर्समा कोरोना देखिएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । प्रि–आइसोलेशनमा दुई जना नर्स खटिएकोमा एक जनालाई ज्वरो आउने र रुघा खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरेर परीक्षणको लागि पठाइएको थियो ।

प्रदेश ५

बाँके कारागारमा १३ जना कैदी र प्रहरीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जका अनुसार कारागारका ७ जना कैदी र ६ जना प्रहरीसहित १३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । कारागारमा केही दिनअघि पनि एकजना कैदी र प्रहरीलाई कोरोना देखिएको थियो । उनीहरू १४ दिन आइसोलेशन सेन्टरमा बसेर फिर्ता भइसकेका छन् ।

यसैगरी वडा प्रहरी कार्यालय, नेपालगञ्जका ६ जना प्रहरीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २० गतेदेखि सील गरिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हरी बस्नेतले बताउनु भयो । जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि यातायात, आन्तरिक राजश्व, जिल्ला अदालत, नेपालगञ्ज उमनपाको कार्यालय, इलाका प्रहरी कार्यालय, कोहलपुर यस अघिनै सील गरिएका छन् ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार बढ्दो कोरोना सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला विपद् व्यवस्थापन केन्द्र सुर्खेतले जिल्लामा सभा, जुलुस, गोष्ठी, सम्मेलन, सेमिनार, तालिम, जात्रा, महोत्सव तथा धार्मिक कार्यक्रम गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा साउन २० गते बसेको बैठकले अर्को सूचना जारी नहुँदासम्मका लागि यस्तो रोक लगाएको हो । नजिकिँदै आएको कृष्ण जन्माष्टमी र तीजजस्ता चाडपर्वहरूमा मानिसको भीड लाग्ने हुँदा यसबाट कोरोना सङ्क्रमण बढ्ने भएकोले यस्तो निर्णय गरिएको प्रजिअ रेग्मीले इन्सेकलाई बताउनु भयो । कोरोना सङ्क्रमणको दर कम नभएको कारण जोखिम रहिरहेकाले भारतलगायत विदेशबाट आउने नागरिकहरूलाई अनिवार्यरूपमा क्वारेण्टाइनमा राख्नका लागि जिल्लाका सबै स्थानीय तहहरूमा क्वारेण्टाइनको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिनु भयो । यसैगरी, वीरेन्द्रनगर बजारस्थित शुभलक्ष्मी होटेलमा साउन १५ गतेदेखि बस्दै आएका तीन जना मजदुरहरूको साउन १९ गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनीहरू बस्दै आएको होटेललाई सील गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताउनु भयो ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्लामा तीन जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । पहिले सङ्क्रमित भएका व्यक्तिहरू निको भएर आइसोलेशनबाट घर गएका व्यक्तिलाई पुनः परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेशनमा रहेका ६९ जना निको भएर फिर्ता गएका थिए । तर, कोरोना सङ्क्रमण निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा कोरोना भाइरस देखिएको छ । बाहिरबाट जुम्लामा भित्रिएकामध्ये ४ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण गरिएको थियो । यसमा ६९ जनाको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको थियो ।


अनलाइन डेस्क