कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख १९ गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएको र यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको जानकारी दिनु भयो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा बाँके जिल्लाका ६० वर्षीय पुरुष र रूपन्देही जिल्लाका २५ वर्षीय पुरुष गरी थप दुई जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टी भएको हो । कोरोना सङ्क्रमण पुष्टी भएका रुपन्देहीका युवा १४ दिनअघि भारतको नयाँदिल्लीबाट आएको खुलेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा सङ्क्रमितको उपचार सुरू गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालगञ्जका सङ्क्रमितको उपचार भने बाँकेको खजुरास्थित कोरोना अस्पतालमा भइरहेको छ । दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार सङ्क्रमितको सङ्ख्या ५९ रहेकामा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । १६ जना डिस्चार्ज भएका छन् भने ४३ जना उपचाररत छन् ।
उदयपुरकी एक गर्भवती महिलालाई विराटनगरस्थित नोबेल अस्पताललले उपचार नगरी अन्यत्र रिफर गरेको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको र घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीउपर कारबाही प्रक्रिया थाल्ने डाक्टर देवकोटाले बताउनु भयो ।

प्रदेश १
प्रदेश १ मा वैशाख १९ गतेसम्म कोरोना शङ्कास्पद १ हजार ३ सय ४२ जनाको स्वाब सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएकामध्ये दुई जना महिला र २९ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३ सय १५ जना महिला र ९ सय ८४ जना पुरुष गरी १ हजार २ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । शङ्कास्पद व्यक्तिको नमुना सङ्कलन गरिएकामध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आरडीटी विधिबाट वैशाख १९ गतेसम्म ५ हजार २ सय ८२ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परीक्षण गरिएकामध्ये ८ सय ७८ जना महिला र ४ हजार ३ सय ८९ जना पुरुष गरी ५ हजार २ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेशमा वैशाख १९ गतेसम्म ५ हजार ७ सय ३ जना क्षमताको क्वारेण्टाइन निर्माण गरिएको छ । वैशाख १९ गते मात्रै ४० बेड थपिएको छ । क्वारेण्टाइनमा ४ सय ९० जना महिला र १ हजार ८ सय ३१ जना पुरुष गरी २ हजार ३ सय २१ जना छन् । वैशाख १९ गते ४३ जना डिस्चार्ज भएका छन् । होम क्वारेण्टाइनमा बस्नेको सङ्ख्या ६ हजार ६ सय १३ जना पुगेको छ । होम क्वारेण्टाइनमा १ हजार २ सय ३० जना महिला र ५ हजार ३ सय ८३ जना पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा वैशाख १९ गतेसम्म आइसोलेशनमा बस्नेको सङ्ख्या ३४ जना रहेको छ ।
प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भएको छ । प्रदेश सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरेको छ । धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जनासम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताउनु भयो ।
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी सङ्घले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वैशाख १९ गते हस्तान्तरण गरेको हो ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा वैशाख १९ गते नयाँ पीसीआर मेशिन जडान गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा सञ्चालनमा रहेको पीसीआर मेशिन प्राविधिक समस्या आएका कारण कोभिड- १९ सम्बन्धी स्वाब परीक्षणमा समस्या उत्पन्न भएको थियो । उक्त समस्यालाई मध्यनजर गर्दै अर्को पीसीआर मेशिन ल्याइएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । आजैदेखि स्वाब परीक्षणको कार्य सुचारु हुने वैशाख १९ गतेको मिडिया ब्रिफिङ्मा उहाँले जानकारी दिनु भयो ।
प्रदेशमा वैशाख १९ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ३ सय ८५ जनाको स्वाब सङ्कलन गरिएकोमा १ हजार ९ सय १० जनाको रिपोर्ट आएको छ । जसमा १ हजार ८ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । ४ सय ७५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी, वैशाख १९ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार १ सय ६१ जनाको गरिएकोमा ५ हजार १ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा क्वारेण्टाइन सङ्ख्या १ सय ७४ रहेकोमा ३ हजार ९ सय ६७ क्वारेण्टाइन बेड रहेको छ । वैशाख १९ गतेसम्म १ हजार ४ सय ५९ जना क्वारेण्टाइनमा रहेका छन् भने ४ हजार ६ सय १४ जना होमक्वारेण्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका २४ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् । प्रदेशमा आइसोलेशन बेड सङ्ख्या २ सय ६७ रहेको छ । वैशाख १९ गते प्रदेशमा ७५ जनाको स्वाब सङ्कलन गरिएको छ भने ७० जनाको आरडीटी परीक्षण गरिएको छ ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश
ललितपुरमा वैशाख १९ गते १ सय ५७ जनालाई महानगरीय प्रहरी परिसरले कारवाही स्वरूप कोभिड-१९ को बारेमा २ घण्टे कक्षामा राखेर फर्काएको छ । लकडाउनको समयमा सवारी चलाएको भन्दै प्रहरीले चितवनमा ५२ ओटा दुइ पाङ्ग्रे सवारी नियन्त्रणमा लिएको छ ।
नुवाकोट, काठमाडौँ, चितवनमा राहत वितरणका कार्यलाई जारी राखिएको छ । काभ्रेको पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगर्न आग्रह गरेको छ । लकडाउनका कारण भक्तपुरका ६२ ओटा इँटा भट्टामा काम गर्ने भारतीय मजदुर इँटा भट्टामा नै अडकिएका छन् । लकडाउन र सीमा बन्दका कारण भारत घर भएका जान नपाएर यतै रोकिएका ३ हजार भारतीय मजदुरलाई भारत फर्कने व्यवस्था नभएसम्म खानका लागि हप्तामा प्रतिव्यक्ति ६०० का दरले राहत भत्ता रकम दिने गरिएको छ ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख १९ गते कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको छैन । हालसम्म प्रदेशमा ६ सय २७ जनाको स्वाब परीक्षण गरिएको छ भने ६ सय २५ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ र पोजिटिभ रिपोर्ट आएका दुई जना उपचार पछि घर फर्किसकेका छन् । प्रदेशमा वैशाख १९ गते ६४ जना र हालसम्म कुल ५ हजार ४ सय ७७ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
तनहुँमा राहत वितरणको कार्यलाई निरन्तरता दिइएको छ भने म्याग्दीमा खाद्य सङ्कलनको काम भइरहेको छ । गोरखामा लकडाउन उल्लङ्घन गरेको आरोपमा ३३ जना कारबाहीमा परेका छन् । उनीहरूलाई सङ्क्रमण रोग ऐन, २०२० अनुसार १ सय रुपियाँ जरिबाना र सचेतना कक्षापछि छाडिएको छ ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५
प्रदेश ५ को रूपन्देही र बाँकेमा एक एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा बाँके जिल्लाका ६० वर्षीय पुरुष र रूपन्देही जिल्लाका २५ वर्षीय पुरुष गरी थप दुई जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हो । प्रदेश ५ मा ३ हजार ७ सय ९९ जनाको आरडीटी विधिबाट परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, बाँकेमा राहत वितरणका कार्य जारी गरिएको छ । लकडाउनका कारण पढाइ प्रभावित भएका विद्यार्थीहरूका लागि पाल्पाका रेडियोबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराले दूरशिक्षा पाठशाला सञ्चालन गर्दै आएको छ ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानका दश ओटै स्थानीय तहलाई थर्मल गन हस्तान्तरण गर्नुको साथै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कोरोना भाइरस रोकथाम नियन्त्रण, उद्दार तथा राहतका लागि सबै तहको सहकार्य जरुरी रहेको बताउनु भयो ।
रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकामा निर्माण भएको कोरोना विशेष अस्पताल आइसोलेशन कक्षको ०७७ वैशाख १८ गते जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का प्रमुख राजकुमार शर्माले उद्घाटन गर्नु भयो । उद्घाटन भएसँगै कोरोना विशेष अस्पताल आइसोलेशन कक्षबाट सेवा सुचारु भएको छ ।
कालीकोट जिल्ला सदरमुकाम खाँडाचक्रलगायतका स्थानीय तहहरूमा प्रशासनले लकडाउनलाई खुकुलो पारेपछि स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थाहरूले लकडाउन उल्लङ्घन गरिरहेको स्थानीय गाउँलेहरूको गुनासो रहेको छ । लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताउनु भयो ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश
धनगढीको सेती प्रादेशिक अस्पतालमा २८ दिनदेखि उपचाररत् धनगढी उपमहानगरपालिका-५ की कोरोना सङ्क्रमित ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट लगातार पोजेटिभ आएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरूको सल्लाहमा उनको थ्रोट स्वाब फेरि सङ्कलन गरी परीक्षण गरिने बताउनु भयो ।
भारत पिथौरागढका विभिन्न क्वारेण्टाइन र होम क्वारेण्टाइनमा बसेका नेपालीको उद्दारपछि सबैलाई सम्बन्धित जिल्ला र स्थानीय तहको जिम्मा लगाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनु भयो । वैशाख १८ र १९ गते ११ ओटा बसमार्फत उद्दार गरिएका सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मेवारीमा पठाइएको महाकाली नगरपालिका विपद् शाखा प्रमुख भवन जोशीले बताउनु भयो । काठमाडौँबाट उद्दार गरी गोकुलेश्वर क्वारेण्टाइनमा राखिएका विद्यार्थीहरूले मापदण्डअनुसार व्यवस्थापन नभएको भन्दै शैल्यशिखर नगरपालिका नगर प्रमुख अमरसिंह धामीसामु गुनासो गरेका छन् ।
लकडाउन सुरू भएपछि वैशाख १९ गतेसम्म कञ्चनपुरमा २२ हजार ५ सय ६९ परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ । खाद्यान्नको अभाव झेल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका ८ र ९ वडाका २८ मुक्त हलिया परिवारलाई अमरगढी नगरपालिकाकाको समन्वयमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र राष्ट्रिय हलिया समाज महासङ्घ डडेल्धुराले राहत सामग्री वितरण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क