कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ९ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ९ सय ४७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ३ सय ८३ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ९ गतेसम्म कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयले २४ घण्टामा १ सय ७ जना निको भएका र १ सय ३३ जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको स्वाब परीक्षण गरिएको थियो । साउन ९ गतेसम्म ३ लाख ३५ हजार ८२ जनाको स्वाब परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार उपचार अभावका विराटनगरमा एक जना बिरामीको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर जिल्लाको कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको मृत्यु साउन ९ गते भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि परिवारले पदमबहादुरलाई साउन ९ गते विराटनगर ल्याएको थियो । सुरूमा बिरामीलाई नोबेल अस्पताल विराटनगर लगिएको थियो । नोबेल अस्पतालले कोरोना रिपोर्ट नभएको भनेपछि बिरामीलाई भर्ना नगरेर कोशी अञ्चल अस्पताल पठाएको थियो । बिरामीलाई कोशी अस्पताल पु¥याएपछि अस्पतालले गेटमा रोकेर बिरामीको स्वाब सङ्कलन गरेको थियो । बिरामीको स्वाब सङ्कलन गरी भर्ना गर्ने तयारी गरिरहेको बेला बिरामीको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँले भन्नुभयो–‘बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराए लगत्तै आइसोलेशनमा स्वाब सङ्कलन गरे लगत्तै बिरामीको मृत्यु भयो ।’

प्रदेश २

प्रदेश २ मा साउन ९ गते सम्ममा जम्मा ४ हजार ७ सय ९० जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ८ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय १ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ९ गते सम्ममा ९ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार आइसोलेशन केन्द्रमा बसेका व्यक्ति, उनका परिवार र साथीहरूले आइसोलेशन केन्द्रमा सुधार आएको बताएका छन् । सङ्क्रमित व्यक्ति, उनका परिवार र साथीहरूले साउन ८ गते खाना, पानीको असुविधा भएको, शौचालय फोहोर रहेको र नुहाउने व्यवस्था समेत नभएको भन्दै इन्सेक प्रतिनिधिलाई भिडिओ र तस्बिरहरूसमेत पठाउँदै आवश्यक पहलका लागि अनुरोध गरेका थिए । त्यसपछि इन्सेक प्रतिनिधिले कोभिड व्यवस्थापक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झासमक्ष तत्काल समस्या समाधान गर्न आग्रह गर्नु भएको थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत विष सेवनका बिरामी तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरूषमा साउन ९ गते कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झाले बताउनु भयो । अस्पतालमा कार्यरत ३२ वर्षीया नर्स र ३६ वर्षीया सरसफाई कर्मचारीमा साउन ७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नयाँ बिरामी भर्ना लिन छाडेको अस्पतालमा उपचाररत बिरामीमासमेत साउन ९ गते साँझ कोरोना देखिएपछि राति ७ देखि ११ बजेसम्मका लागि आकस्मिक कक्ष सिल गरिएको डा. झाले बताउनु भयो ।

नर्स र सरसफाई कर्मचारीमा सङ्क्रमण देखिएपछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी, चिकित्सक तथा ४६ जना बिरामीको स्वाब पीसीआर परीक्षण गरिएकोमा विष सेवन गरी भर्ना भएका पुरूषमा कोरोना सङ्क्रमण देखिएको तर अन्य कर्मचारी, चिकित्सक र बिरामीहरूको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा रहेका बिरामीहरूलाई अन्य वार्डमा स्थानन्तरण गरिएको छ । आकस्मिक कक्षलाई निसङ्क्रमण गर्न लागिएको छ । बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नियमित परीक्षण र रेखदेखमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सकसहितको टोली क्वारेण्टाइन बस्नु पर्ने अवस्था आएकोले अस्पतालको सेवा प्रभावित हुने भएको छ ।

कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिए पछि राजविराज नगरपालिकामा लकडाउन र निषेधाज्ञा जारी भएसँगै साउन ९ गते राजविराज नपा–६ स्थित सिरहा रोडको क्षेत्रलाई आवतजावत गर्न नपाउने गरी सिल गरिएको छ । कोरोना सङ्क्रमित ७३ वर्षीय व्यापारीबाट समुदायमा कोरोना फैलिए पछि उहाँको घर रहेको राजविराज नपा–६ स्थित राम मन्दिरदेखि सिरहा रोडको सखडा जाने मोडसम्मको क्षेत्रलाई सिल गरिएको हो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा भिटिएम किट अभाव हुँदा क्वारेण्टाइनमा बसेकाहरूको कोरोना परीक्षण बन्द भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । क्वारेण्टाइनमा बसेकाहरूको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नु पर्ने भए पनि पर्याप्त मात्रामा जिल्लामा भिटिएम नहुँदा परीक्षण गर्न नसकिएको साउन ९ गते भेटघाटको क्रममा इन्सेक प्रतिनिधिलाइ उहाँले बताउनु भएको हो । क्वारेण्टाइनमा लगभग ७ सय जना रहेका छन् । भटिएम २ सय मात्र पठाएकोले कसको गर्ने ? कसको नगर्ने ? समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा स्थानीय प्रशासनले साउन १० गते बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम  वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । परिस्थिति नियन्त्रणमा लिन सेना समेत परिचालन गर्न सक्ने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने आदेश गरिएको छ ।

बागमती प्रदेश

काठमाडौँमा १० जना र चितवनमा दुई जना गरी १२ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै यस प्रदेशमा साउन ९ गते  कोरोना सङ्क्रमतिहरूको सङ्ख्या ९ सय ८ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो । सङ्क्रमितमध्ये ४ सय ५८ जना उपचारपछि घर फर्किसकेका छन् । ४ सय ४० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ भने १० जनाको मृत्यु भएको डा. सेढाईँले जानकारी दिनु भयो ।


अनलाइन डेस्क