कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २७ गते)
पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार असार २७ गतेसम्म पीसीआर परीक्षणको सङ्ख्या २ लाख ७९ हजार ५ सय ९९ रहेको छ । जसमा १६ हजार ७ सय १९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयले असार २६ गते जारी गरेको स्थिति प्रतिवेदन अनुसार निको भइ घर पर्किनेको सङ्ख्या उपचाररतको भन्दा बढी रहेको छ । मन्त्रालयका अनुसार ८ हजार ४ सय ४२ जना निको भइ घर फर्किएका छन् भने ८ हजार २ सय ३९ जना उपचाररत छन् । कोरोनाकै कारण ३८ जनाको मृत्यु भएको छ ।
प्रदेश २
धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरधाममा हुँदै आएको कोरोना भाइरसको पीसीआर परीक्षण असार २३ गतेदेखि बन्द भएपछि धनुषाको विभिन्न क्वारेण्टाइनमा रहेका ३ सय ५७ जनाको परीक्षण कार्य प्रभावित भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भए भयो । लामो समयदेखि क्वारेण्टाइनमा बस्दै आएका ३ सय ५७ जनाको स्वाब सङ्कलन भएर पनि परीक्षणको रिपोर्ट नआएपछि क्वारेण्टाइनमा बस्नेहरू दोधारमा परेको उहाँले बताउनु भयो । प्रादेशिक प्रयोगशाला जनकपुरबाट नै नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजलाई स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै आएको हुँदा सो ठाउँमा कोरोना परीक्षण कार्य प्रभावित हुने प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले बताउनु भयो । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रयोगशालामा निमित्त निर्देशक, लेखापाल र अन्य कर्मचारीहरू बीचको विवादको समाधानका लागि प्रयासरत रहेको बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार असार २७ गतेसम्म जिल्लाका विभिन्न क्वारेन्टाइन तथा आइसोलेशनमा उपचाररत १ हजार १ सय ७७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भएको छ । कोरोना भाइरसको त्राससँगै तराइमा लगातारको वर्षाले अर्को सङ्कट थपिएको र बाढीले कोरोना सङ्क्रमण झन फैलिन सक्ने भन्दै विपत् व्यवस्थापनको तयारी भइरहेको तिवारीले बताउनु भयो । त्यसैगरी जिल्ला सुरक्षा समितिको असार २६ गते बसेको बैठकले विभिन्न शर्तहरूमा जिल्ला भित्र सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न÷गराउन सूचना प्रकाशन गरेको छ । सार्वजनिक यात्रुवाहक सवारी साधन जिल्लाभरी सञ्चालन गर्ने, यातायातमा चालक सहित कुल सिट क्षमताको ५० प्रतिशतसम्म यात्रु रहने गरी सञ्चालन गर्ने, सिटको एक पङ्क्तिमा एक जना मात्र राख्न पाइने, अनिवार्य सबैले मास्क प्रयोग गर्ने, सवारी साधनको ढोका तथा भित्र अनिवार्य सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले तोकेको मापदण्ड भन्दा ५० प्रतिशत भन्दा थप भाडा लिन नपाइने लगायतका ‘र्तहरूमा रही सवारी साधन सञ्चालन गर्न पाइने निर्णय भएको र सोही अनुसार कार्यान्वयनको लागि पनि अनुगमन गरिने प्रशासकीय तिवारीले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २७ गते थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७६ पुगेको छ भने सङ्क्रमणबाट निको हुनेको सङख्या ६ सय ९७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भानु नपा–२ स्थित शारदा कलेजको क्वारेण्टाइनमा रहेका एक व्यक्तिको असार २७ गते बिहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आएका सोही नगरपालिकाका ६६ वर्षीय पुरुषको पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणको पुष्टि गर्न स्वाब परीक्षणको तयारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो । बिहान एक्कासी बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमानै मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो । मृतकको शव पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिने सीडीओ अधिकारीले बताउनुभयो ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कोरोना सङ्क्रमण रोकथामका लागि असार २७ गते नारायण नगरपालिकामा कोरोना परीक्षण प्रयोगशालाका लागि रसायन तथा सामग्री र डुङ्गेश्वर गाउँपालिकामा सेनिटाइजर, मास्क तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने फेसकभर, ग्लोब्स, गाउन, बुटलगायतका सामग्री उपलब्ध गराइएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो । सामग्री बुझ्दै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले विपद्को समयमा पाएको सहयोग र इन्सेकको मानव अधिकार प्रवद्र्धन अभियान प्रशंसनीय रहेको बताउनु भयो । त्यसैगरी, डुङ्गेश्वर गाउँपालिका–६ का वडा सदस्य तुलसीप्रसाद आचार्य र स्वास्थ्य शाखाका उपसंयोजक दिपेन्द्र शाहीले गाउँपालिकाको आवश्यकताअनुसारको स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकोमा इन्सेकलाई धन्यवाद दिनु भयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटकाअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुर्नवास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमण न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले असार २६ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले नगरपालिकाको कार्यालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । वितरित स्वास्थ्य सामग्रीमा साबुन १ सय ५० थान, मास्क १ हजार ६ सय थान, डिस्पोजल ग्लोब्स १ सय थान र ५ सय मिलिलिटरका नौ बोतल सेनिटाइजर छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…