कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १२ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट असार १२ गते ५ सय ९३ जना सङ्क्रमित थपिएका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । तिमध्ये २७ जनाको मृत्यु भएको, २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएका र ९ हजार ३० जनाको उपचार भइरहेको पनि डाक्टर गौतमले जानकारी दिनु भयो ।

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनजाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले असार ११ गते राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनलाई अस्पताल पु¥याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । उनको मृत्यु असार ११ गते भएको भएपनि त्यसपछि सङ्कलन गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण नेपालमा २७ जनाको मृत्यु भएको छ ।

प्रदेश १

प्रदेश १ मा असार १२ गते थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १९ पुगेको छ । प्रदेश १ मा असार १२ गते २१ जना डिस्चार्ज भएका छन् । कूल डिस्चार्ज हुनेको सङ्ख्या ३ सय ७६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि रामधन राईका अनुसार खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित क्वारेण्टाइनमा बसेकाहरूलाई पशु सरह व्यवहार भएको भन्दै नेपाली कांग्रेस गाउँ कार्य समितिले असार ११ गते गाउँपालिकाका अध्यक्ष प्रदीप राइलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानाकर्षणपत्रमा वडाध्यक्ष गोपिकृष्ण राईको निर्देशनमा विगत नौ दिनदेखि जीर्ण भौतिक व्यवस्थापनमा खाद्यान्न तथा लत्ताकपडा समेत उपलब्ध नगराइको उल्लेख छ । क्वारेण्टाइन गाउँभन्दा टाढा रहेको खेतमा खुल्ला आकाश देखिने, खरले छाएको तथा भत्किएर जीर्ण भएको कटेरोमा निर्मित भएको भन्दै सुधारका लागि ध्यानाकर्षणपत्र बुझाएको नेपाली कांग्रेस गाउँपालिका सचिव लोकराज ढकालले बताउनुभयो ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार असार ३ गते ओमानबाट इलाम आइपुग्नु भएका इलाम जमुनाका मनिकुमार राईले आफू बसिरहेको क्वारेण्टाइनमा धारा, शौचालय, साबुन सबैले एउटै प्रयोग गर्नु परिरहेको बताउनु भयो । सूर्योदय नगरपालिकास्थित श्रीकृष्णाश्रम माविको क्वारेण्टाइनमा रहनु भएका राईले आफू ओमानबाट आउँदा पीसीआर गरेर रिपोर्ट नेगेटिभ देखिएपछिमात्र नेपाल आएको बताउनु भयो । इलाम नगरपालिकामा रहेको जिल्ला समन्वय समितिको भवनमा रहेको क्वारेण्टाइनमा तीन–चार जना एउटै कोठामा बस्नु पर्ने, फरक शौचालय नभएको अवस्था छ ।

बागमती प्रदेश

यस प्रदेशमा असार ११ गते थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ३७ जना पुगेको छ । जसमध्ये १ सय २ जना उपचारपछि घर फर्किएका र पाँच जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईँले बताउनु भयो ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार रत्ननगर नगरपालिका–१२ घर भई ललितपुरको पाटन अस्पतालमा उपचाररत एक पुरुषको असार ११ गते उपचारको क्रममा मृत्यु भएको छ । विगत पाँच महिना अघिदेखि काठमाडौँमा बसेर मिर्गौला रोगको उपचार गराइरहेका ५० वर्षीय पुरुषलाई असार ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख दीपक तिवारीले बताउनुभयो ।

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार राष्ट्रिय मानव अधिकार आयोगले असार १२ गते विज्ञप्ति प्रकाशन गरी कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा अवरोध नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा सम्मानजक रूपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूबीच भएको झडपको घटनाप्रति  आयोगले ध्यानाकर्षण गरेको हो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार १२ गते थप १८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ८ सय ६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भिमसेन थापा गाउँपालिकामा असार १२ गते पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि उक्त गाउँपालिकाका तीन टोल सिल गरेर गाउँपालिकाभर उच्च सतर्कता अपनाइएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताउनुभयो । गाउँपालिकामा एक साताका लागि स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सरकारी कार्यालयबाट हुने सेवा पनि बन्द गरिएको छ । हालसम्म सो गाउँपालिकामा २६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश ५

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार बेवारिसे अवस्थामा भेटेर उपचारको क्रममा मृत्यु भएकी ३० वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ । घोराही उपमनपा–१५ को ट्राफिक चोकमा  असार १० गते बिरामी अवस्थामा  भेटिएकी महिलाको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र मृत्युपछि स्वाब परीक्षण गर्दा असार १२ गते कोरोना पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभयो । महिलाको पहिचानको प्रयास  र  शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

कर्णाली प्रदेश

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार असार १२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालमा सुत्केरी हुन आएकी सिंजा गाउँपालिका–५ की महिलामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा समस्या आएकाले बच्चाको कोरोना परीक्षण गर्न बाँकी रहेको अस्पतालका निर्देशक डाक्टर मङ्गल रावलले बताउनु भयो । समुदायकै मानिसमा कोरोना देखिएकाले अब समुदाय सचेत हुनुपर्ने र हरेक मानिसले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने रावलको भनाइ छ ।

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश अस्पतालमा कार्यरत थप चार जना स्वास्थ्यकर्मीहरूमा असार ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असार ४ गतेदेखि सिल गरिएको अस्पताल यथावत राखिएको प्रदेश अस्पतालले जनाएको छ ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोरोना सङ्क्रमितहरूको उपचार, रेखदेख र व्यवस्थापन सहयोगमा जुटेका ३३ जना सुरक्षाकर्मी, १० जना कर्मचारी र एक जना जनप्रतिनिधि गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीको भनाइ छ । जसमा भारतबाट फर्किएका नागरिकहरू राखिएका क्वारेण्टाइन र आइसुलेशनमा खटेका सशस्त्र प्रहरी २० जना, जनपथ प्रहरी नौ जना, नेपाली सेना चार जना, औषधि उपचारमा खटेका पाँच जना स्वास्थ्यकर्मी, तीन जना खाना पकाउने भान्छेहरू, खाद्यान्न तथा व्यवस्थापनमा जुटेका तीन जना जनप्रतिनिधि र दुई जना स्थानीय तहका कर्मचारीहरू रहेका छन् । सङ्ख्याका हिसाबले देशकै दोस्रो स्थान लिएको दैलेख जिल्लामा अहिलेसम्म ७ सय ६५ जना सङ्क्रमितमध्ये भारतबाट आएका ७ सय १० जना, सुरक्षाकर्मीलगायतका व्यवस्थापनमा खटेका ४६ जना र भारतबाट आएकाहरूको सम्पर्कमा पुगेका नौ जना छन् ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार दिपायल सिलगढी नगरपालिकालाई असार ११ गतेदेखि एक हप्ताको लागि सिल गरिएको नगरपालिकाका प्रमुख मञ्जु मलासीका स्वकीय सचिव रविन्द्र जोशीले बताउनु भयो । लकडाउन खुकुलो भएको अवस्थामा नगर क्षेत्रमा रहेको पिपल्ला  बजार,  दिपायल बजार, राजपुर सिलगढी र शान्तिनगरलगायतका  क्षेत्रमा  भीडभाड बढेर सङ्क्रमणको जोखिम बढ्दै गएकाले असार १८ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको जोशीको  भनाइ छ । दिपायल सिलगढी नगरपालिकामा मात्रै ३३ जना र जिल्लामा असार ११ गतेसम्म १ सय ८९ जना कोरोना सङ्क्रमित बिरामीहरू रहेको जिल्ला स्वास्थ्य कार्यालय, डोटीले जनाएको छ ।


अनलाइन डेस्क