कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट असार ३ गते मात्रै ५ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमणका कारण बाँकेमा एक जना महिलाको मृत्यु भएको बताउँदै उहाँले नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको जानकारी दिनु भयो ।

प्रदेश १

प्रदेश १ मा असार ३ गते थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कूल सङ्क्रमितको सङ्ख्या ४ सय १६ पुगेको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्की अनुसार असार १ गतेदेखि सेवा बन्द गरेको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले असार ३ गतेदेखि सेवा सुचारु गरेको छ । स्वास्थ्य केन्द्रमा उपचाररत झापाका ३५ वर्षीय यामबहादुर कार्कीको असार १ गते मृत्यु भएपछि स्वास्थ्य केन्द्रले सोही दिनदेखि सबैखाले सेवा बन्द गरेको थियो । मृत्तकको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण भई असार ३ गते रिपोर्ट नेगेटिभ आएपछि सेवा सुचारु गरेको स्वास्थ्य केन्द्रका अध्यक्ष नेत्रबहादुर डाँगीले बताउनु भयो ।

बागमती प्रदेश

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार नीलकण्ठ नगरपालिकामा रहेको क्वारेण्टाइनमा बस्ने ठाउँ अभाव भएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएका व्यक्तिलाई घर पठाइएको छ । यसअघि क्वारेण्टाइन बनाइएको नीलकण्ठ माविमा सङ्क्रमितको सङ्ख्या बढेपछि आइसोलेशनमा रुपान्तरण गरिएको थियो । आरडीटी नेगेटिभ आएपछि घर गएकाहरूमा समेत कोरोना भाइरसको सङ्क्रमण भेटिएको अवस्थमा नगरपालिकाले कन्ट्याक ट्रेसिङ गरेपछि ५१ जनाको स्वाब सङ्कलन गरेको थियो । जसमध्ये २४ जनालाई मात्र क्वारेनटाइनमा राखिएको छ भने २७ जनालाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु रिजालले बताउनुभयो । नीलकण्ठ नगरपालिकामा यसअघि ३४ जना भारतबाट आएका व्यक्तिहरूमा आरडीटी परीक्षण नेगेटिभ आएर घर गएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ३ गते थप २१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ सय ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार समुदायको बीचमा रहेका क्वारेण्टाइनहरुबाट सङ्क्रमण फैलिन सक्ने खतरा बढेको भन्दै कुश्मा नगरपालिका–६ का स्थानीय बासिन्दाले क्वारेण्टाइनस्थल सुरक्षित बनाउन माग गरेका छन् । क्वारेण्टाइनमा बसेका नागरिकहरुको सम्पर्क समुदायसँग हुन लागेको भन्दै स्थानीयवासी सो माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेका हुन् । कुश्माको शिवालय माध्यमिक विद्यालय क्वारेण्टाइनमा रहेका नागरिकहरू खाद्यलगायतका विभिन्न सामग्री किन्न स्थानीय र आफन्तकै सहयोग लिन थालेको स्थानीय यज्ञ अधिकारीले बताउनुभयो । यसरी नगद तथा विभिन्न सामग्री आदानप्रदान गर्दा समुदायमा सङ्क्रमण फैलिने सम्भावना भएका कारण क्वारेण्टाइन थप सुरक्षित बनाउन माग गर्दै प्रशासन कार्यालयमा पुगेको अधिकारीले बताउनुभयो । समुदायबाट देखिएको सक्रियता र सुझाव सकारात्मक रहेको भन्दै थप सुरक्षाकर्मी परिचालन गरी नियमित गस्तीको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । क्वारेण्टाइन व्यवस्थित र सुरक्षित बनाउँदा मात्रै समुदायलाई सङ्क्रमणबाट बचाउन सकिने भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको रेग्मीको भनाइ छ ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा असार १ गते मृत्यु भएकी बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि शव व्यवस्थापन स्थलसम्म लैजान कसैले गाडी दिन नमानेपछि गाउँपालिकाकै गाडीमा शव व्यवस्थापन स्थलसम्म लगिएको इन्सेक जिल्ला प्रतिनिधिसँगको प्रत्यक्ष सम्पर्कमा गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउनु भयो । गाउँपालिका अध्यक्ष मानबहादुर रुचालको अगुवाइमा शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको थियो । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले मृत्यु भएकी सङ्क्रमित महिला लामो समयदेखि निमोनिया, मिर्गौलाको रोगबाट ग्रसित रहेको र पीसीआर परीक्षणमा पोजेटिभ आएको बताउनु भयो ।

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार सितगङ्गा नपा–५ का ४५ वर्षीय पुरूषले सोही ठाउँको हरी माविको क्वारेण्टाइन नजिकै रहेको रूखमा झुण्डिएर असार २ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी जेठ १० गते भारतको पञ्जाबबाट आएर उक्त क्वारेण्टाइनमा बसेका थिए । जेठ २४ गते आरडीटी परीक्षण पोजेटिभ आएपछि सोही दिन स्वाब सङ्कलन गरी भैरहवा पठाइएको थियो । इलाका प्रहरी कार्यालय ठाडाका इन्स्पेक्टर बावुराम बस्नेतले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बिहान  करिब ४ बजे झुण्डिएको अवस्थामा शव फेला परेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

१४ दिनसम्म महाकाली अस्पतालको आइसोलेशनमा राखिएका १३ जना कोरोना सङ्क्रमितलाई परीक्षणबिना नै असार ३ गते घर पठाइएको छ । कञ्चनपुरका ६ जना र कैलालीका सात जनालाई क्रमशः जेठ २० र जेठ २१ गते अस्पतालमा भर्ना गरिएकोमा १४ दिनसम्म पनि स्वास्थ्यमा कुनै समस्या नआएपछि एक हप्ता होम क्वारेण्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न डाक्टर सरोज आचार्यले बताउनु भयो । कोरोना परीक्षणबिना अस्पतालबाट डिस्चार्ज गर्दा अझ बढी जोखिम हुन सक्ने डर रहेको डिस्चार्ज भएका सङ्क्रमितहरूले गुनासो गरेका छन् । महाकाली अस्पतालबाट कोरोना परीक्षण नगरी डिस्चार्ज हुनेको सङ्ख्या हालसम्म १८ पुगेको छ ।


अनलाइन डेस्क