कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १५ गते १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ जना पुगेको छ । जसमा पुरुष ९ सय ४० जना र महिला १ सय २ जना रहेका छन् । कोरोना सङ्क्रमण ५१ जिल्लामा फैलिएको छ । सङ्क्रमित मध्ये निको भएर १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका १ सय ४४ जना पुरुष र ४३ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको छ । त्यसैगरी भारतबाट घर फर्कदै गर्दा जेठ १० गते कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–९ का पुरुषको कोरोना परीक्षण गर्दा जेठ १५ गते पोजेटिभ रिपोर्ट आएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ का आठ, प्रदेश २ का सबै (आठ), बागमती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश ५ का नौ, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका सात गरी ५१ जिल्लामा कोरोना सङ्क्रमित पहिचान भएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय २९, प्रदेश २ मा ४ सय १५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३ सय ६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना सङ्क्रमित पहिचान भएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको समयावधि लम्ब्याइएको भए पनि संक्रमणको दर बढिरेहको छ । कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाको संख्या ५१ जिल्ला पुगेको छ । सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ । यसैगरी,चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालमा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षाका उपकरण सहित प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ भने कोरोनालगायत अन्य संक्रामक रोग विरुद्ध कार्य गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा जेठ १५ गतेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भई आइसोलेशनमा रहेका ३१ जना, डिस्चार्ज भएका ११ जना, मृत्यु भएका दुई जना गरी जम्मा सङ्क्रमित ४४ जना रहेका छन् । प्रदेशमा क्वारेन्टाइनमा १ हजार ६ सय ३१ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १५ गते हेटौंडाको कोरोना प्रयोगशालामा १ हजार ४ सय ८५ जनाको स्वाबको नमुना प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कूल २ हजार ५ सय ६९ जनाको जेठ १५ गतेसम्म स्वाब परीक्षण गरिएको छ भने २ हजार ४ सय ७४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ७९ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । जेठ १५ गते प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कूल १६ जना सङ्क्रमित भएको छ । जसमध्ये पाँच जनाको जिल्ला अस्पताल स्याङ्जामा, ६ जनाको धौलागिरी अस्पताल बाग्लुङमा र नवलपुरका तीन जना भरतपुरको कोरोना अस्पतालमा उपचाररत् छन् । जेठ १५ गतेसम्म कूल ८ हजार ३ सय ५६ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ । स्याङ्जाकी सङ्क्रमित ३९ वर्षीया महिलालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेशन कक्ष नभएकाले जेठ १५ गते बिहान ल्याइएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला देवचुली नगरपालिका–१ का १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका २६ जनाको स्वाब सङ्कलन गरिएको छ ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा जेठ १५ गतेसम्म आरडिटी विधिबाट १८ हजार ७ सय ९४ जनाको परीक्षण गरिएको छ भने २९ हजार १ सय ५८ जना क्वारेण्टाइनमा रहेका छन् । जेठ १५ गतेसम्म ३ सय २९ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यसैगरी, ३८ जना निको भई घर फर्केका छन् । प्रदेश ५ मा जेठ १५ गते चार जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका २८ वर्षीय पुरुष र बर्दियाका २९ देखि ३४ वर्षसम्मका तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म प्रदेश ५ का नौ जिल्लाका ३ सय ६९ जना सङ्क्रमित भएका छन् । भारतबाट धमाधम मानिसहरू आउन थालेपछि पाल्पा जिल्लाका कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले किट अभावमा नियमित स्वाब सङ्कलन र आरडीटी परीक्षण रोकिएको जनाएको छ । रुकुम पूर्व जिल्ला पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ र १४ मा जेठ १४ गते तीन जनामा कोरोना पुष्टि भएपछि १५ गते दुई वडासँगै छिमेकी वडा १०, ११ र १२ लाई पूर्णरूपमा सिल गरिएको छ ।
कर्णाली प्रदेश
दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ भूर्तीका चार जना पुरुष, वडा नम्बर ४ सोतका २० वर्षीया एक जना महिलासँगै एक वर्षीय बालक र वडा नम्बर ५ छातिकोटका एक जना पुरुष गरी आठ जनामा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका आठै जनालाई जेठ १५ गते सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेशन वार्डमा राखिएको छ । योसँगै दैलेख जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १६ पुगेको छ भने प्रदेशको हिसाबले सुर्खेत जिल्लाको ३० जनासमेत गरी कर्णाली प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ४६ पुगेको छ । सल्यान जिल्लाको दार्मा गाउँपालिका कोरोना विमा गराउने पहिलो स्थानीय तह बनेको छ । जाजरकोट जिल्लाको सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टाइनमा भारतबाट आएका २ सय ६७ जनाको भिटिएम अभावले पीसीआर परीक्षण हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश
जेठ ८ गते नेपाल भारत जोड्ने दार्चुला धार्चुला नाका भएर भित्रिएका दार्चुला जिल्ला महाकाली नगरपालिकाका २१ वर्षीय युवाको धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा राखिएको छ भने दार्चुलामा कोराना सङ्क्रमण पुष्टि भएपछि अपिहिमाल गाउँपालिकाका कोराना नियन्त्रण तथा व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय गरेको छ । सेती अस्पतालको आइसोलेशनमा मृत्यु भएका कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय वीरबहादुर बन्तोला र कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष कल्लु रानाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । डडेल्धुरा जिल्लामा किट अभावका कारण क्वारेन्टाइनमा रहेका करिब २ हजार ५ सय ९६ जनाको स्वाब सङ्कलन कार्य रोकिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…